नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडि जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण रकम भुक्तानी गरेको हो।
नेपाल वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात, निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल रु. ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।
साथै, विश्वव्यापी कोभिड – १९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफल समेत भइरहेको निगमले जनाएको छ ।









