नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले उत्साहित बनाएको बताएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरे पश्चात प्रतिक्रिया दिँदै उनले रियलइस्टेट र सेयर बजार क्षेत्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आएको बताएका हुन् ।
‘मौद्रिक नीति आएपछि रियलइस्टेट र सेयर बजार क्षेत्र उत्साहित भएको छ’ उनले भने, ‘सेयर कर्जाको व्यक्तिगत सीमालाई १५ करोडबाट २५ करोड पुर्याइएको छ, घर किन्नेले ३ करोडसम्म लोन लिन पाउने व्यवस्था गरिएको छ । सुरुमा घर किन्दा वा बनाउँदा लिइने ऋणमा कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म कायम हुने भनिएको छ । त्यसपछि पनि ७० प्रतिशतसम्म कर्जा मूल्य अनुपात हुने भनिएको छ । यसले उत्साहित बनाएको छ ।’
मल्होत्राले नेपाल सरकारबाट स्वीकृतिप्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म÷कम्पनीलाई प्रवाहित कर्जाका लागि पुनरसंरचना र पुनरतालिकीकरण गर्नका लागि आवश्यक सहजीकरण गरिने विषयले पनि रियलइस्टेट व्यवसायीलाई निकै राहत प्रदान गरेको बताएका छन् ।
उनले चालु पूँजी कर्जा सम्बन्धि मापदण्ड संशोधन गर्ने, साना र मझौला उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने विषय निकै सकारात्मक रहेको पनि बताएका छन् । वरिष्ठ उपाध्यक्ष मल्होत्राले यसका लागि अर्थमन्त्री विष्णु पौडेल र गभर्नर विश्वनाथ पौडेललाई धन्यवाद पनि दिएका छन् ।













