अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६८८.९४ प्रतिशतले बढेको छ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३५ करोड ३४ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४८ लाख मात्रै थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १९ करोड ९७ लाख आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.७७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९५ करोड १८ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको ब्याज खर्च ४६ करोड ९३ लाखबाट घटेर ४५ करोड ८८ लाख कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ४४ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.२५ रुपैयाँबाट बढेर ७.७६ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०५.२० रुपैयाँबाट बढेर १०९ रुपैयाँ ८५ पैसा पुगेको छ।
कम्पनीले विभिन्न ६ वटा जलविद्युत र सोलार आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेका आयोजनामा ८.५ मेगावाटको नौगड गाड आयोजना, ८ मेगावाटको अप्पर नौगड गाड आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर् सोलार, १ मेगावाटको ढल्केवर सोलार, १ मेगावाटको सिमरा सोलार र ४० मेगावाटको माथिल्लो चमेलिया हाइड्रोपावर रहेका छन् ।












