गणेश हिमाल तराई यातायातले दोलखाको चरिकोटबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालनमा ल्याएको छ । गणेश हिमाल तराई यातायात सेवा कम्पनी प्रा.लि.ले सोमबारबाट चरिकोटदेखि हेटौडासम्म बस सेवा सञ्चालनमा ल्याएको हो ।
यसै क्रममा आज कम्पनीले चरिकोट र तामाकोशीमा टिकट काउन्टर समेत उद्घाटन गरेको छ । यससँगै चरिकोट, तामाकोशी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली र मरिण हुँदै बागमती प्रदेशको राजधानी हेटौडासम्म बस सेवा सुरु पनि भएको छ ।
यसअघि यस रुटमा बस सेवा उपलब्ध नहुँदा दोलखा, रामेछाप र सिन्धुलीका उत्तरी र पूर्वी भेगमा बासिन्दाहरुलाई हेटौँडा जान असहज भइरहेको थियो । उनीहरु गाडी रिजर्भ गरेर अथवा काठमाडौँ आएर मात्रै हेटौँडा पुग्नुपर्ने बाध्यता थियो ।
गणेश हिमाल तराई यातायात सेवा कम्पनी मन्थलीका संयोजक सुदिप थापाले अब यात्रुहरुमा यस्तो बाध्यता नरहेको बताउँदै सहज रुपमा दोलखा, रामेछाप र सिन्धुलीका यात्रुहरुले बागमती प्रदेशको राजधानी हेटौँडा सम्मको यात्रा गर्न सक्ने बताए ।













