Friday, July 17, 2026
spot_img

सरकारी कोष र वित्तीय संस्थाको खर्बौ रकम विकासमा लगाउन कानुन बनाउने तयारी

spot_img

राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकारले ‘विकास वित्त ऐन’ ल्याउने तयारी अघि बढाएको छ । ठूला र सरकारी स्रोतले मात्रै नधान्ने परियोजनाहरुमा लागत जुटाउनका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्न ‘विकास वित्त ऐन’ ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसो त, एक कार्यक्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पनि बजेटको अभाव हुँदा ठूला आयोजनाहरुको निर्माणमा देखिएको अवरोध हटाउन विकास वित्त ल्याउन लागिएको बताइसकेका छन् । उनका अनुसार विकास वित्त ऐनको मस्यौदा तयार भइसकेको छ ।

अर्थ मन्त्रालय स्रोतले पनि विकास वित्त ऐनको मस्यौदालाई अन्तिम रुप दिन लागिएको जनाउँदै त्यसका लागि कहाँ कहाँ स्रोत छ भनेर खोज्ने काम भइरहेको जनाएको छ । स्रोतका अनुसार बीमा कम्पनीहरु, बैंकहरु, सरकारी कोषहरु (नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष)मा भएको पैसालाई विकासका काममा उपयोग गर्ने गरि विकास वित्त ऐन ल्याउन लागिएको हो ।

‘बैंकबाट अहिले निजी क्षेत्रले ऋण लिएर परियोजना बनाइरहेको छ, तर बीमा कम्पनीहरुसँग भएको र सरकारी कोषमा रहेको पैसा विकासमा उपयोग हुन सकिरहेको छैन’ स्रोतले भन्यो, ‘एकातिर ठूला आयोजनाहरुको विकासमा बजेट अभाव हुने र अर्कातिर खर्बौ रुपैयाँ थुप्रिएर रहने अवस्था छ । यसकारण त्यो पैसालाई विकासमा लगाउन सकियो भने आयोजनाहरुले बजेट अभाव झेल्नुपर्ने बाध्यता हट्छ । यहीँ भएर मन्त्रालयले यसका लागि आन्तरिक तयारी अघि बढाएको हो ।’

बीमा कम्पनी र सरकारी कोषहरुसँग भएको पैसा जोडेर ठूलो फण्ड बनाउने र त्यो पैसामार्फत विकास निर्माणका काम अघि बढाउन सहज होस् भन्ने हेतुले मन्त्रालयले यसको प्रारुप तयार पार्न लागेको बताइएको छ । यसका लागि लगानी बोर्डको कार्यालयले पनि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको बताइएको छ ।

त्यसो त, लगानी बोर्डको कार्यालयले पनि नेपाल सरकार र नेपालका वित्तीय संस्थाहरुसँग भएको पैसालाई जोडेर ठूलो फण्ड बनाउने र त्यस्तो फण्डबाट ठूला परियोजनामा ऋण र इक्वीटी सबै खालको लगानी गर्न सकिन्छ भन्ने मोडालिटीमा छलफल चलाइरहेको छ । ठूला आयोजनाहरुमा लगानी गर्न सरकार र वित्तीय संस्थासँग भएको पैसा जोडेर फण्ड बनाउने र त्यसको सञ्चालन कार्यविधि बनाउने तयारीमा लगानी बोर्ड लागिरहेको छ । तर, कार्यविधि मात्रै भए हुन्छ कि, ऐन नै चाहिन्छ भन्ने विषयमा अहिले छलफल चलिरहेको बताइएको छ ।

यस्तै, लगानी बोर्डले नै ठूला र निजी क्षेत्र आकर्षित नभएका परियोजनाहरुमा लगानी गर्न ‘भायबलिटी ग्याप फण्डिङ’ (भीजीएफ) कार्यविधि पनि बनाउँदैछ ।

‘उदाहरणका लागि कुनै ठूलो परियोजना चाहिँ छ, तर त्यसमा लगानी गर्न निजी क्षेत्र आकर्षित भएन भने त्यसलाई कसरी बनाउने त ? निजी क्षेत्रले लगानी गर्न नसक्ने खालका परियोजनामा पनि साझेदारीमा लगानी भित्र्याएर त्यस्ता परियोजना बनाउनुपर्ने हुन्छ, अहिले हामीसँग यसको कार्यविधि छैन, बनाउनुपर्छ भनेर आवश्यक गृहकार्य भइरहेको छ’ लगानी बोर्ड स्रोतले भन्यो ।

यता, अर्थ मन्त्रालय स्रोतले भने विकास वित्त ऐनमार्फत सरकारी कोष तथा बैंक र वित्तीय संस्थाहरुसँग भएको पैसालाई फण्डमा राखेर चलाउँदा एक वर्षमा सरकारको विकास बजेट बराबरकै रकम खर्च हुन सक्ने प्रारम्भिक हिसाब निकालेको बताएको छ ।

‘अहिले केही वर्षको तथ्याङ्क हेर्ने हो भने वार्षिक ३ खर्ब हाराहारीको विकास बजेट विनियोजन हुँदै आएको देखिन्छ, अझै एक दशकसम्म सरकारले विकास बजेटको आकार यो भन्दा बढी बनाउन सक्ने देखिँदैन, साथै नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि अन्तर्राष्ट्रिय विकास सहायता पनि आउन रोकिन्छ’, स्रोतले भन्यो, ‘यसकारण आन्तरिक रुपमै विकासका लागि वैकल्पिक उपाय खोज्नैपर्ने भएको छ । अहिले सरकारी कोष, बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा भएको पैसालाई एकै ठाउँमा राखेर फण्ड बनाएर जाँदा वार्षिक ३ देखि साढे ३ खर्ब जति आउने देखिन्छ । यो भनेको तरलताका लागि वित्तीय संस्थामा मौज्दात छोड्दाखेरी आउने पैसा हो ।’

यस आधारमा आफ्नो बजेट ३ खर्ब र सरकारी कोष, बैंकिङ क्षेत्र र बीमा क्षेत्रबाट आउने साढे ३ खर्ब गरि वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी विकास निर्माणमा खर्च गर्न सकिने आँकलन अर्थ मन्त्रालयले गरेको छ । यद्यपी, यो हिसाब नै अन्तिम भने नभएको स्रोतले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img