व्यवसायिक सफलताको सोपान चढिरहेका व्यक्तिहरुलाई सफलताको सुत्र के रहेछ भनेर सोध्दा धेरैले दिने जवाफ एउटै हो, ‘निरन्तरता, लगनशीलता र सकारात्मक सोच’ । त्यसभन्दा अर्को उनीहरुले दिने महत्वपूर्ण जवाफ हो, ‘हिम्मत, आँट र साहस’ ।
यस्तै, हिम्मत र हिम्मतबाट सुरु गरेको कर्मलाई निरन्तरता दिएर नेपालको आतिथ्य तथा क्यासिनो सञ्चालनका क्षेत्रमा जमेका पात्र हुन् रवि शर्मा धिताल । तीन दशक अगाडी हिम्मत गरेर यस क्षेत्रमा प्रवेश गरेका धिताल आज क्यासिनो सञ्चालकको रुपमा मात्रै नभई मुलुकको पर्यटन उद्योगको चिरपरिचित ‘सुपर स्टार’ वा ‘महारथी’ बनेका छन् ।
पाँचतारे ‘होटल द किंग्सबरी’ खरिद
काभ्रेपलाञ्चोकको एउटा मध्यम परिवारमा जन्मिएका धिताल आज नेपालको आतिथ्य तथा क्यासिनो उद्योगका पर्याय बनेका छन् । नेपाललाई स्तरीय आतिथ्य तथा गेमिङ गन्तव्यका रूपमा स्थापित गर्न विगत ३ दशकदेखि अहोरात्र खटिरहेका र महत्वपूर्ण भूमीका निर्वाह गरिरहेका उनले अहिले लगानी विस्तार पनि गरिरहेका छन् ।
यसै शिलशिलामा हालै मात्रै धितालले झापाको बिर्तामोडस्थित पाँचतारे होटल द किंग्सबरी खरिद गरे । यो होटल उनले १ अर्ब ९५ करोडमा खरिद गरेका हुन् । ८२ लक्जरी कोठाहरू (६ सुइट्स, ५ एक्जिक्युटिभ रूम्स, र ७१ डिलक्स रूम्स) भएको यस होटलमा सर्वकालिक डाइनिङ रेस्टुरेन्ट, अलग भान्छा सहितको विशेष शाकाहारी रेस्टुरेन्ट पनि छ ।
रूफटप बार र पूलसाइड बार, स्वीमिङ पूल र स्पा तथा अत्याधुनिक फिटनेस सेन्टर समेत भएको होटल द किंग्सबरी उच्चस्तरीय सेवा र आधुनिक सुविधा प्रदान गर्ने पूर्वी नेपालकै लक्जरी होटल हो । यस होटलमा ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उनले सोही होटलमा क्यासिनो ‘सेभेन हर्स’ सञ्चालन गर्दै आएका छन् । होटल र क्यासिनो गरि यहाँ करिब १ हजार जनाले रोजगारी पाएका छन् ।
अविरल यात्रा र सफलता
माथि उल्लेख गरिए जस्तै, कर्ममा विनयशीलता र लगनशीलताले मान्छेलाई सफलताको स्वाद प्रदान गर्दछ भन्ने भनाइका उदाहरण हुन् धिताल । ३ दशक लामो व्यवसायिक यात्राका क्रममा कयौँ हण्डर र ठक्कर खाएर खारिँदै आएका उनले केवल आफू मात्रै सफलताको सिँढी चढिरहेका छैनन्, क्यासिनो सञ्चालन र आतिथ्य व्यवस्थापनमा हासिल गरेको आफ्नो विज्ञताले सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउन सफल भएका छन् ।
एभरेस्ट होटलबाट सुरु भएको उनको यात्रा भारतको गोवा तथा अन्तर्राष्ट्रिय गेमिङ उद्योगसम्म फैलिएको छ । धितालको यहीँ अनुभवले नेपालमा रोजगारी, लगानी र पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको छ ।
हाल उनले होटलसहित ३ वटा क्यासिनो चलाउँदै आएका छन् । झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा उनको ‘क्यासिनो भेगास’ सञ्चालनमा छ । यो क्यासिनो धितालद्वारा सञ्चालित बहुचर्चित ‘बिग ड्याडी क्यासिनो’ले व्यवस्थापन हेर्दै आएको छ ।
नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको गेमिङ नियम अनुसारका क्यासिनो सञ्चालनमा छन् भन्ने उदाहरण प्रस्तुत गर्नुपर्यो भने झापाको मेचीनगर–८ स्थित क्यासिनो भेगासलाई लिने गरिन्छ । छिमेकी मुलुकहरूबाट क्यासिनो खेलाडीहरुलाई आकर्षित गर्दै हाल यस क्यासिनो नेपालको प्रमुख गेमिङ गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । जहाँ, करिब ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
बुटवल, तिलोत्तमा–१५ स्थित टाइगर प्यालेस रिसोर्टमा पनि धितालकै क्यासिनो छ । उच्चस्तरीय खेलाडीहरूका लागि विशेष भीआईपी गेमिङ क्षेत्र बन्दै गएको ‘क्यासिनो टाइगर प्यालेस’ रोयल टाइगर रिक्रियशन प्रा.लि. अन्तर्गत सञ्चालित छ ।
जहाँ गेमिङ क्षेत्र, प्रिमियम स्टेज/बार लगायत छन् । अन्तर्राष्ट्रिय सुरक्षात्मक र सञ्चालन मापदण्डअनुसार चलिरहेको यस क्यासिनोमा मात्रै १४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेपालको आतिथ्य तथा क्यासिनो उद्योगमा क्रान्ति
रवि शर्मा धितालको नेतृत्वमा नेपालले आतिथ्य तथा गेमिङ क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको छ भन्दा अत्युक्ति हुँदैन । उनले गरेको लगानीले विशेषगरी भारत तथा दक्षिण एसियाली मुलुकहरूबाट उच्चस्तरीय पर्यटकहरू आकर्षित गरिरहेका छन् ।
नेपालको आतिथ्य उद्योगमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, सेवा, र मापदण्ड लागू गरेर नेपाललाई दक्षिण एसियाली क्यासिनो तथा लक्जरी पर्यटनको प्रतिस्पर्धात्मक गन्तव्य बनाउन अग्रसर भएर निरन्तर योगदान दिइरहेका धितालको लगानी भएका होटल, पर्यटन तथा क्यासिनोले मात्रै करिब २ हजार जनालाई रोजगारी दिएका छन् । यो आफैँमा गर्विलो अंक हो ।
उनले भारतको गोवामा सञ्चालनमा गर्दै आएको क्यासिनो ‘विग ड्याडी’ एक चर्चित क्यासिनो हो । अर्थात्, उनले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालीहरुले गेमिङ क्षेत्रमा स्तरीय व्यवस्थापन सम्हाल्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेर मुलुककै शिर उँचो बनाएका छन् ।
‘विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमध्येको एक महत्वपूर्ण स्रोत पर्यटन हो, यसकारण हामी गुणस्तरीय पर्यटकलाई नेपाल भित्र्याएर उनीहरुलाई स्तरीय सेवा प्रदान गर्दै मुलुकमा विदेशी मुद्रा भित्र्याउने अभियानमा छौँ’ धिताल भन्छन्, ‘पर्यटकको संख्या मात्रै गनेर हुँदैन, सरकारले खर्चालु र स्तरीय पर्यटक भित्र्याउनतर्फ ध्यान दिनु आवश्यक छ ।’













