कक्षा ८ उत्तीर्ण नगरी अब सार्वजनिक सवारी साधनको चालक अनुपतिपत्र (लाइसेन्स) नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार पारी सुझावका लागि सार्वजनिक गरेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयको, २०८१’को मस्यौदामा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकको दफा १४ मा सवारी साधनको प्रकारका आधारमा लाइसेन्स प्राप्त गर्ने उमेरसमेत तोकिएको छ । जस अनुसार, ठूला सवारी साधनका चालकको उमेर कम्तिमा २३ वर्ष र मझौला तथा सानो (चार पाङ्ग्रे) सवारीका हकमा कम्तीमा २१ वर्ष भएको हुनुपर्नेछ । सानो तीन र दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)को हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ ।
दफा १४ को (घ)मा व्यवसायिक सवारी साधन चलाउने चालकले कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल नेपाली नागरिकता प्राप्त गरेको कुनैपनि व्यक्तिले लाइसेन्स लिन सक्ने प्रावधान छ ।
यस्तै, मोटरसाइकलमा अब चालकसहित पछाडी बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि पनि यो व्यवस्था कार्यान्वयन गर्न खोजिएकोमा निकै आलोचना भएपछि लागू हुन सकेको थिएन । अब भने यातायात मन्त्रालयले नै कानुन बनाएरै मोटरसाइकलको पछाडी बस्ने यात्रुले समेत हेल्मेट लगाउनुपर्ने प्रावधान लागू गर्न खोजेको हो । प्रस्तावित विधेयकको दफा ४२ को उपदफा ३ मा यस्तो प्रस्ताव गरिएको छ ।
यसैगरी, चालक अनुमति पत्रको अवधि पनि १० वर्ष प्रस्ताव गरिएको छ । विधेयकको दफा १६ को उपदफा (१) मा ‘दफा १५ बमोजिम जारी भएको चालक अनुमतिपत्रको अवधि जारी भएको मितिले १० वर्षसम्म हुनेछ’ भनिएको छ । सोही दफाको उपदफा २ मा चालक अनुमतिपत्र प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान राखिएको छ ।
विधेयकको मस्यौदा









