लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरु खोलिएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज सोमबार बोलपत्र खोलेको हो। लिलामीको शेयरमा कुल १ हजार ७ सय ९९ वटा आवेदन परेका थिए।
एसबिआई मर्चेन्ट बैंकिङका अनुसार यस लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १०२२ रुपैयाँ कायम भएको छ। फाइनल भेरिफिकेसन र चेक क्लियरिंगको काम चलिरहेकोले यो प्रारम्भिक कट अफ मूल्य मात्र रहेको एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ। प्रारम्भिक कटअफ मूल्य भन्दा अन्तिम कटअफ मूल्यमा १/२ रुपैयाँ तलमाथि हुन सक्छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म अवितरित हकप्रद शेयर लिलाम गरेको थियो। कम्पनीले १ः०.८८४५१६८ अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता अवितिरत हकप्रद शेयर लिलाम गरेको हो ।












