भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको दुई दिने भ्रमण सम्पन्न गरेका छन् । त्यस क्रममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय वार्ता पनि गरेका छन् ।
दुवै नेताले व्यापार, भन्सार, रुस-युक्रेन युद्ध, एफ-३५ लडाकु विमान खरिद र भारत-चीन सीमा विवाद जस्ता मुख्य विषयहरूमा छलफल गरेका छन्। प्रधानमन्त्री मोदीले भारत र अमेरिकाको साझा प्रतिबद्धता आर्थिक वृद्धिको लागि रहेको कुरा उल्लेख गरे।
मोदीले भने “राष्ट्रपति ट्रम्प प्रायः ‘MAGA-Make America Great Again’ को कुरा गर्नुहुन्छ। भारतमा, हामी ‘विकसित भारत’ को दिशामा काम गरिरहेका छौं, जसलाई अमेरिकी सन्दर्भमा ‘MIGA- Make India Great Again’ भन्न सकिन्छ। र संयुक्त रूपमा, भारत-अमेरिकाले समृद्धिको लागि ‘MEGA’ साझेदारी निर्माण गरेका छौँ!”
सन् २०३० सम्म $५०० अर्बको द्विपक्षीय व्यापार लक्ष्य
भेटको क्रममा भारत र अमेरिकाले सन् २०३० सम्म ५०० अर्ब डलरकोको द्विपक्षीय व्यापार लक्ष्य राखेका छन् । जसबाट संयुक्त विकास, संयुक्त उत्पादन, र प्रविधि स्थानान्तरण सुनिश्चित गर्न सकिन्जे बताईएको छ। सम्झौताको शर्तहरू चाँडै निर्धारण गरिने प्रधानमन्त्री मोदीले बताएका छन्। “अमेरिकी जनता राष्ट्रपति ट्रम्पको ‘MAGA – Make America Great Again’ भन्ने नारासँग परिचित छन्। भारतका जनता पनि आफ्नो सम्पदा र विकासलाई जोड दिँदै ‘विकसित भारत २०४७’ को लक्ष्यमा दृढ संकल्पका साथ अघि बढिरहेका छन्।”
“अमेरिकी भाषामा, यसलाई ‘Make India Great Again – MIGA’ भनिन्छ। जब अमेरिका र भारत सँगै काम गर्छन्, यो MAGA र MIGA मिलेर ‘MEGA’ साझेदारी बन्छ, जसले हाम्रो उद्देश्यलाई नयाँ उचाइ दिन्छ। आज हामीले हाम्रो द्विपक्षीय व्यापारलाई दोब्बर भन्दा बढी, $५०० अर्ब पार गर्ने लक्ष्य राखेका छौँ। हाम्रो टिमहरूले चाँडै नै परस्पर लाभदायक व्यापार सम्झौतामा काम गर्नेछन्,” उनले थपे।
भारतले अमेरिकाबाट एफ-३५ लडाकु विमान किन्ने
रक्षा साझेदारीलाई थप बलियो बनाउँदै, डोनाल्ड ट्रम्पले भारतलाई एफ-३५ स्टेल्थ लडाकु विमान बिक्री गर्ने घोषणा गरेका छन्। यसले भारतलाई उच्च प्रविधि भएका विमानहरू सञ्चालन गर्ने सीमित राष्ट्रहरूमा समावेश गर्ने बताईएको छ। “यस वर्षदेखि, हामी भारतलाई अर्बौँ डलर बराबरको सैन्य सामग्री बिक्री गर्दैछौँ। हामी भारतलाई एफ-३५ स्टेल्थ फाइटर उपलब्ध गराउने बाटो खोल्दैछौँ,” ट्रम्पले भने।
भारतले $२५ अर्ब बराबर अमेरिकी ऊर्जा किन्न सहमत
ऊर्जा क्षेत्रमा ठूलो सम्झौता गर्दै, भारतले निकट भविष्यमा अमेरिकाबाट लगभग २५ अर्ब डलरको बराबरको ऊर्जा किन्नेछ। “गत वर्ष, हामीले करिब १५ अर्ब डलरकोको अमेरिकी ऊर्जा खरिद गरेका थियौँ। निकट भविष्यमा यो संख्या २५ अर्बसम्म पुग्न सक्छ,” भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा भनेको छ।
भारत-चीन सीमा विवादमा अमेरिकी मध्यस्थताको प्रस्ताव
अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-चीन सीमा विवादमा मध्यस्थता गर्न प्रस्ताव गरेका छन् र तनाव कम गर्न आग्रह गरेका छन्। “मैले भारतलाई हेरिरहेको छु, म देख्छु कि सीमामा केही हिंसात्मक झडपहरू भइरहेका छन्। यदि म मद्दत गर्न सक्छु भने म मद्दत गर्न चाहन्छु, किनकि यो रोकिनुपर्छ,” ट्रम्पले भने।
गैरकानुनी आप्रवासी फिर्ता लैजान मोदी तयार
प्रधानमन्त्री मोदीले गैरकानुनी आप्रवासनको विषयमा बोलेका छन् र भारतका नागरिकहरू जो अवैध रूपमा अमेरिका बसिरहेका छन्, उनीहरूलाई फिर्ता लिन भारत तयार रहेको बताएका छन्। तर, उनले यो समस्या केवल निर्वासनको नभई मानव तस्करीको पनि रहेको बताए।
२६/११ का अभियुक्त भारतलाई सुम्पिने
अमेरिकाले २६/११ हमलाका अभियुक्त ताहव्वर रानालाई भारतलाई सुम्पने निर्णय गरेको छ, जुन मोदीको भ्रमणको एउटा प्रमुख उपलब्धि हो। “आज म खुसी छु कि मेरो प्रशासनले मुम्बई आतंकवादी हमलामा संलग्न एक घातक अपराधीलाई भारत फिर्ता पठाउने निर्णय गरेको छ” ट्रम्पले भने।
भन्सार नीतिमा ‘पारस्परिक दृष्टिकोण’
प्रधानमन्त्री मोदीको भ्रमणले अमेरिकी राष्ट्रपति ट्रम्पको भारतबाट ल्याइने स्टिल र एल्युमिनियममा २५% भन्सार लगाउने निर्णयलाई परिवर्तन गर्न सकेन। तर अमेरिकाले “पारस्परिक नीति” अनुसार भन्सार लगाउने ट्रम्पले बताएका छन्।
‘भारत तटस्थ होइन, शान्तिको पक्षमा छ’
प्रधानमन्त्री मोदीले भारतको रूस-युक्रेन युद्धसम्बन्धी धारणा स्पष्ट गर्दै भारत शान्तिको पक्षमा रहेको बताए। “धेरै मानिसहरू सोच्छन् कि भारत तटस्थ छ, तर म स्पष्ट पार्न चाहन्छु कि भारत कुनै पनि पक्षमा छैन; हामी शान्तिको पक्षमा छौँ,” उनले भने।
स्वागत, र उपहार
प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच ह्वाइट हाउसमा गहिरो मित्रवत् क्षण देखिएको थियो। ट्रम्पले मोदीलाई ‘Our Journey Together’ पुस्तक उपहार दिएका थिए, जसमा ‘Howdy Modi’ र ‘Namaste Trump’ जस्ता प्रमुख घटनाहरू समेटिएका थिए। किताबमा ट्रम्पले हस्ताक्षर गर्दै लेखेका थिए, “श्री प्रधानमन्त्री, तपाईं महान् हुनुहुन्छ।”
मोदी आज नै भारत फर्किने छन् ।









