लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरु यसैसाता खोलिने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले माघ १८ गते बिहान ८ बजे क्यापिटल कै कमलादी स्थित कार्यालयमा बोलपत्र खोल्ने भएको हो ।
लिबर्टीले माघ २ देखि माघ ९ गतेसम्म हकप्रदमा अवितरित साधारण समुहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो ।
यस लिलामीमा सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
कम्पनीले मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिभित्र रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई प्रचलित कानुन बमोजिम शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाम गरेको हो।












