यसवर्ष धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक वर्षमा धानको उत्पादनमा ४.०४ प्रतिशतले वृद्धि भएको हो ।
मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान फलेको छ । प्रतिकिलो ३२ रुपैयाँ औसत मूल्यका आधारमा यो वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको धान फलेको हो ।
धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको र यो हालसम्मकै उच्च भएको कृषि मन्त्रालय स्रोतको दाबी छ । गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
मन्त्रालयले मोटा धानको समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको छ ।
गत असोजको १०, ११ र १२ गतेको भिषण बाढी तथा पहिरोले धानवालीमा ब्यापक क्षति पुर्याएपनि उत्पादनमा उल्लेख्य वृद्धि भएको मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार उक्त बाढी तथा पहिरोले देशभर ५८ हजार ४७६ हेक्टरमा लगाइएको धानवाली नष्ट भएको थियो ।
यसपाली २१ जिल्लाका १३ लाख ७८ हजार ६११ हेक्टरमा रोपाई भएको थियो ।
मधेश प्रदेशमा धानको उत्पादन बढेको छ । गत वर्ष १३ लाख ३७ हजार ६७२ टन उत्पादन भएकोमा यसवर्ष १०.७० प्रतिशत बढेर १४ लाख ८० हजार ८३० टन पुगेको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा पनि गत वर्षको तुलनामा २.१६ प्रतिशतले धानको उत्पादन बढेर १४ लाख ६६ हजार ५१८ टन पुगेको छ । बागमतीमा भने गत असोजको बाढीका कारण धान उत्पादनमा कमी आएको छ । गत वर्ष ५ लाख ४ हजार ३ सय ४४ टन धान उत्पादन भएकोमा यसवर्ष बागमतीमा ४ लाख ९८ हजार ६६२ टन मात्रै धान फलेको छ ।
गण्डकीमा पनि उत्पादन घटेको छ । गत वर्ष ३ लाख ९१ हजार ६२४ टन धान उत्पादन भएकोमा यो वर्ष घटेर ३ लाख ७९ हजार ३२ टन मात्रै धान उत्पादन भएको हो ।
लुम्बिनीमा भने उत्पादन बढेको छ । गत वर्ष १३ लाख १० हजार ८२९ टन धान फलाएको लुम्बिनीले यसवर्ष १३ लाख ६४ हजार ३१ टन धान उत्पादन गर्न सफल भएको हो ।
कर्णालीमा धानको उत्पादन १०.२५ प्रतिशतले घटेर १ लाख ३० हजार १९१ टनमा सिमित भएको छ । सुदूरपश्चिम प्रदेशमा भने धान ६.१९ प्रतिशतले उत्पादन बढेर ६ लाख ३६ हजार २१२ टन पुगेको छ ।
नेपालमा वार्षिक धानको माग ६७ लाख मेट्रिक टन छ । यसवर्ष उत्पादन भएको धानको तथ्यांकअनुसार अझै ७ लाख ४४ हजार ५२४ मेट्रिक टन धान अपुग हुने देखिएको छ ।
१०० किलो धानबाट ६२ किलो चामल निस्किन्छ । यसवर्ष फलेको ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धानबाट ३६ लाख ९२ हजार ३९५ मेट्रिक टन चामल तयार हुन्छ । जबकी, नेपालमा ४० लाख टन चामलको माग छ । यस वर्ष उत्पादन भएको धानको तथ्यांकअनुसार ३ लाख ७ हजार ६०५ मेट्रिक टन चामल अपुग हुने देखिएको छ ।









