अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।
थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहिबार भेटवार्ता भएको थियो ।
सो भेटवार्तामा अर्थमन्त्री डा. वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेका हुन् ।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यवद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । भेटमा एडीबीका अध्यक्ष कान्दाले नेपालसँगको सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।










