बीमा क्षेत्रमा एनएफआरएस १७ कार्यान्वयनबारे बुधबार साँझ उच्च स्तरिय छलफल भएको छ। बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल, प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, जीवन बीमक संघका अध्यक्ष प्रविण रमण पराजुली, नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश धिताल, आईक्यान अध्यक्ष आनन्द शर्मा वाग्ले लगायतको उपस्थितिमा बुधबार साँझ उच्चस्तरीय छलफल भएको हो ।
छलफलमा प्राधिकरणका अध्यक्ष पौडेल र कार्यकरी निर्देशक सुशील देव सुवेदीले कम्पनीहरुबाट आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण एनएफआरएस १७ अनुरूप हुनुपर्ने प्रतिवद्दता मागेका थिए। पहिलो वर्ष कार्यान्वयन गर्दा केही कठिनाई देखिनु स्वभाविक हुने, सुरुमा केही चुनौतीपूर्ण लाग्ने, अप्ठेरो महशुस हुने भए पनि समयक्रमसँगै ति समस्या समाधान हुने प्राधिकरणको भनाई थियो। कम्फर्ट जोनबाट बाहिर निस्कन केही गाह्रो हुने भएपनि अन्तराष्ट्रिय मापदण्ड र अभ्यास अनुसार नै नेपालमा पनि एनएफआरएस १७ लागु लागू गर्नु पर्ने प्राधिकरणले बताउँदै आएको छ।
छलफलमा नेपाल लाइफ इन्स्योरेन्सका सीइओ समेत रहेका जीवन बीमक संघका प्रविण रमण पराजुलीले बीमा प्राधिकरणको निर्देशन ढिलो आएकोले आर्थिक वर्ष २०८२/८३ बाट नै एनएफआरएस १७ कार्यान्वयन चुनौतिपूर्ण रहने बताएका थिए। उनले पुरानो व्यवस्था र एनएफआरएस १७ लाई समानान्तर रुपमा लैजान आफुहरु तयार रहेको तर त्यसको लागि आफुहरुलाई कार्भआउटको सुविधा माग गरे। हाल समानान्तर रुपमा वित्तीय विवरण तयार पार्न सकिने र त्यसको अवस्थाको मुल्यांकन गरेर अघि बढ्न सकिने उनको भनाई थियो ।
छलफलमा नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश धितालले एनएफआरएस १७ कार्यान्वयनको विषय हरेक वर्ष पछाडी धकेल्न नसकिने स्पष्ट पारे । मस्यौदा बनाएर बोर्डले छलफल गराएको, प्राप्त सुझावलाई समेत समेटेर एनएफआरएस १७ को व्यवस्था ल्याईएकोले त्यसलाई कार्यान्वयन गर्नु पर्ने उनले बताए । एनएफआरएस १७ कार्यान्वयनको विषय बीमा प्राधिकरण र बीमा कम्पनीको मात्र विषय नभई यो अन्तराष्ट्रिय प्रतिवद्दताको समेत विषय भएकोले यसको कार्यान्वयनबाट पछि हट्न नसकिने उनको भनाई थियो । मस्यौदा प्राप्त भएकै चरणमा प्राधिकरणले आवश्यक छलफल गरी समयमै सुझाव दिनुपर्ने र कार्यान्वयनको चरणमा पुगेपछि कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए।
आईक्यान अध्यक्ष आनन्द शर्मा वाग्लेले पनि कार्यान्वयनको विषयलाई हरेक वर्ष सार्नु गलत भएकोले जडसम्म पुगेर कारण खोजेर त्यसको दिर्घकालिन समाधान गर्नु पर्नेमा जोड दिए । अध्यक्ष वाग्लेले यदी तत्काल एनएफआरएस १७ कार्यान्वयन गर्नको लागि बीमा कम्पनीहरु तयार छैनन् भने नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा त्यसको जानकारी आईक्यानलाई गराउनु पर्ने र त्यसपछि बल्ल आईक्यानले कुन कुन विषयमा कार्भ आउट आवश्यक छ भनेर अध्ययन गरि नेपाल लेखामान बोर्डलाई अनुरोध गर्ने बताउदै आएका छन्।
छलफलपछि विभिन्न ३ वटा सहमति भएका छन्। जस अनुसार आर्थिक वर्ष २०२८२/८३ को लागि एउटा वित्तीय विवरण साविक कै व्यवस्था बमोजिमको तयार पार्ने र अर्को वित्तीय विवरण एनएफआरएस १७ अनुसारको तयार पार्ने सहमति भएको छ। लाभांश साविककै व्यवस्था अनुसार प्रदान गर्ने तर साधारणसभाको अनुमति लिनको लागि बीमा प्राधिकरणमा आइएफआर एस १७ अनुसारको विवरण बुझाउनु पर्ने सहमति भएको छ ।
त्यस्तै बीमा कम्पनीहरुले एनएफआरएस १७ कार्यान्वयन को लागि स्थानीय कन्सल्टेन्टहरुको संलग्नता बढाउने सहमति भएको छ। त्यसको साथसाथै एनएफआरएस १७ कार्यान्वयनको लागि उच्चस्तरीय अनुगमन संयन्त्र बनाउने सहमति पनि भएको छ।
नेपाल बीमा प्राधिकरणले २०८३ असार २९ गते एनएफआरएस १७ कार्यान्वयनको लागि नयाँ निर्देशन जारी गरेको थियो। प्राधिकरणले २०८३ असार २८ गते बीमा कम्पनीहरुको लागि एनएफआरएस १७ पारित गरि असार २९ गते सोहि बमोजिम गर्न गराउन निर्देशन जारी गरेको थियो।
सो व्यवस्था अनुसार अब बीमा कम्पनीहरुले दुईवटा वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ। एउटा वित्तीय विवरण साविक कै व्यवस्था बमोजिमको हुनु पर्नेछ भने अर्को एनएफआरएस १७ अनुसारको हुनु पर्ने छ। आर्थिक वर्ष २०८२/८३ सकिनु भन्दा केही दिन अघि मात्र प्राधिकरणले निर्देशन जारी गर्दै आव २०८२/८३ बाट नै एनएफआरएस १७ लागु गर्न भनेपछि बीमा कम्पनीहरुले कार्यान्वयन गर्न नसकिने बताउँदै आएका थिए।










