परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र (MoFA Mitra)” को शुभारम्भ गरिएको छ । परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा एपको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्र मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले “मोफा मित्र” एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरू र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कन्सुलर सेवा सम्बन्धी गुनासा तथा समस्याहरूको प्रभावकारी सम्बोधनमा यस एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग निरन्तर क्रियाशील रहेको जानकारी दिईन्। कार्यक्रममा “मोफा मित्र” एपका विशेषता तथा सञ्चालन प्रक्रियासम्बन्धी संक्षिप्त प्रस्तुतीकरण समेत गरिएको थियो।
“मोफा मित्र (MoFA Mitra)” एपमार्फत विदेशमा समस्या परेका/अलपत्र परेका/हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता, मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायत अन्य गुनासो तथा समस्या दर्ता गर्न सकिने र आफ्नो निवेदन उपर भएको कारवाहीको जानकारी लिन सकिने व्यवस्था गरिएको छ। साथै नेपाली नियोगहरूको सम्पर्क विवरण तथा नियोगले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी तथा सुरक्षा सूचना एवं कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू (FAQs) तथा अन्य उपयोगी जानकारीहरू समेत समावेश गरिएको छ।
Android तथा iOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको यो एप सेवाग्राही तथा सरोकारवालाहरूले Google Play Store तथा Apple App Store मार्फत डाउनलोड गरी उपयोग गर्न सक्नेछन्।












