नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ‘एनवाईईएफ काठमाडौँ समिट’ आयोजना गरेको छ । मञ्चको काठमाडौँ च्याप्टरले कतारी राजपरिवारकी सदस्य शेख आश्मा अल थानीलाई काठमाडौँ ल्याएर ‘एनवाईईएफ काठमाडौँ समिट आयोजना गरेको हो ।
मञ्चको काठमाडौँ च्याप्टरका अध्यक्ष आप्पा शेर्पाले युवा उद्यमशीलता, नेपालको पर्यटन प्रवद्र्धन र नेपाली युवाहरुलाई उद्यम र व्यवसाय केन्द्रित ‘मोटिभेशन’का लागि सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँ च्याप्टरले कतारी राजपरिवारकी सदस्य थानीलाई नेपाल ल्याएर नेपालको पर्यटन प्रवद्र्धनसँगै नेपालका विभिन्न सम्भावनाहरु देखाउने र नेपाली युवाहरुको उद्यमशीलता प्रतिको सोचलाई विश्व मञ्चमा पुर्याउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएकी थानीले युवाहरुका विभिन्न प्रश्नहरु लिँदै तिनको जवाफ दिएकी थिइन् । उनले नेपाल संसारकै सुन्दर देशमध्ये एक रहेको, माउन्ट एभरेष्ट जस्ता संसारकै अग्ला हिमालहरु नेपालमा रहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनमा कतारले सधैँ सहयोग गर्दै आएको र भविष्यमा समेत नेपाली युवाहरुको उद्यमशीलता विकास र पर्यटन प्रवद्र्धनमा सहयोग जारी राख्ने प्रतिवद्धता जनाएकी छिन् । उनले युवाहरुमा आफूले देखेको सपना पूरा गर्ने अठोट हुने भन्दै नेपाली युवाहरुको कामप्रतिको लगावलाई कतारले सधैँ सम्मान गर्दै आएको पनि बताएकी छिन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल संसारकै उत्कृष्ट गन्तव्य रहेको बताए । उनले अहिले नेपालमा पर्यटन पूर्वाधार, स्तरीय होटलहरु र नयाँ नयाँ गन्तव्य पहिचान हुँदै गएको भन्दै कतारी राजपरिवारकी सदस्य शेख आश्मा अल थानीमार्फत कतारी र विश्वभरीका मानिसहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागी थानीलाई मञ्चको तर्फबाट नेपाली थाङ्का सहितको उपहारसमेत दिइएको थियो । कार्यक्रममा सयौँ युवा उद्यमीहरुसहित नेपालस्थित कतार र विभिन्न देशका राजदूतहरुको समेत उपस्थिति रहेको थियो ।













