भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार असमको डिब्रुगढ जिल्लास्थित मोरान बाइपासमा उत्तरपूर्वी भारतको पहिलो आपतकालीन अवतरण सुविधा (Emergency Landing Facility – ELF) को उद्घाटन गरेका छन्। मोदी सवार रहेको भारतीय वायुसेनाको C-130J सुपर हर्कुलस विमानलाई सडक मै ल्याण्ड गराएर सो सुविधाको उद्घाटन गरिएको हो।
यो ४.२ किलोमिटर लामो सडक खण्ड राष्ट्रिय राजमार्ग १२७ ( साविकको एनच ३७) को हिस्सा हो। चार लेनको राजमार्गको रहेको यस सडकमा अब सामान्य अवस्थामा सवारी साधन गुड्छन्, तर आपतकालमा यो पूर्ण रूपमा विमान ल्याण्ड गर्नलाई प्रयोग गर्न सकिने छ। भारतीय वायुसेना (IAF) सँगको समन्वयमा निर्माण गरिएको यो सुविधा सैन्य तथा नागरिक विमान दुवैका लागि तयार पारिएको हो ।
यस सुविधाका मुख्य विशेषताहरू
लम्बाइ र क्षमता: ४.२ किमी लामो, ४० टनसम्मका लडाकु विमान (जस्तै राफेल, सु-३०) र ७४ टनसम्मका भारी ढुवानी विमान (जस्तै C-130J) अवतरण र उडान गर्न सक्छ।
निर्माण: विशेष पेभमेन्ट क्वालिटी कंक्रिट (PQC) ले मजबुत बनाइएको, जसले विमानको ताप र भार सहन सक्छ। बीचमा कुनै डिभाइडर छैन, जसले विमानलाई सहज रूपमा गुड्न दिन्छ।
उद्देश्य: युद्ध, प्राकृतिक विपद् (जस्तै बाढी) वा नियमित विमानस्थल बन्द हुँदा वैकल्पिक विकल्प। चीन सीमा (LAC) बाट ३०० किमी भित्र रहेको यो सुविधा रक्षा तयारी र द्रुत प्रतिक्रियाका लागि महत्वपूर्ण छ।
लागत र समय: २०२१ मा अवधारणा, २०२५ मा सम्पन्न, करिब १०० करोड भारतीय रुपैयाँ खर्च।
उद्घाटनका बेला राफेल र सु-३० एमकेआइ लडाकु विमानको हवाई प्रदर्शन गरिएको थियो।
भारतमा यस्ता कति सुविधा छन्?
भारतीय वायुसेनाले देशभर ११ राज्य/केन्द्रशासित प्रदेशमा २८ वटा यस्ता आपतकालीन अवतरण स्थल पहिचान गरेको छ। जसमध्ये करिब १५ वटा सञ्चालनमा छन्। असममा सबैभन्दा बढी (५ वटा) छन्। यो मोरानको सुविधा उत्तरपूर्वी भारतमा पहिलो हो। यसअघि राजस्थान, उत्तर प्रदेश, गुजरात लगायत पश्चिमी र मध्य क्षेत्रमा यस्ता सुविधा छन्।
सडकमा विमान अवतरणको इतिहास
भारतमा सडकलाई विमानस्थल बनाउने अवधारणा पुरानो हो, तर हालैका वर्षमा तीव्रता आएको छ। यसअघि राजस्थानको बाड़मेर (NH-925) मा C-130J ले परीक्षण अवतरण गरेको थियो। उत्तर प्रदेशको यमुना एक्सप्रेसवेमा मिराज २००० ले परीक्षण गरेको थियो। मोरानमा पनि उद्घाटनअघि लडाकु र ढुवानी विमानको सफल परीक्षण भएको थियो।
परीक्षण र उद्घाटन बाहेक वास्तविक आपतकालीन अवस्थामा (जस्तै युद्ध वा विपद्) यस्ता सुविधामा कुनै विमान अवतरण गरेको भने छैन। सबै घटना परीक्षण वा औपचारिक कार्यक्रमसँग सम्बन्धित छन्। तर, यी सुविधाले विपद् व्यवस्थापन र रक्षा रणनीतिमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यो परियोजना चीनसँगको सीमा क्षेत्रमा भारतको रक्षा क्षमता मजबुत बनाउने रणनीतिक कदम हो। प्रधानमन्त्री मोदीले यसलाई ‘उत्तरपूर्वको विकास र सुरक्षा’ को प्रतीक भनेर उल्लेख गरेका छन्।












