काठमाडौँ महोत्सवको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले माघ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं महोत्सव २०८२’को तयारी अन्तिम चरणमा पुगेको हो ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उद्योग वाणिज्य संघ काठमाडौँले काठमाडौँ महानगरपालिका सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । संघका महासचिव दुर्गाराज श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, ब्यापार, स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यका साथ महोसत्व आयोजना गर्न लागिएको हो ।
महोत्सवमा स्वदेशी तथा विदेशी गरी २०० स्टलहरु रहने छन् । महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागीता रहने अपेक्षा गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा आइडिया फर वर्ल्ड, प्रिजेन्ट बाइमा एईसीसी ग्लोबल, पावर्ड बाईमा सवारी नेपाल रहे छन् । यीसहित विभिन्न २० वटा कम्पनी तथा संस्थाहरु प्रायोजक रहेका छन् । साथै, काठमाडौँका विभिन्न नगरपालिकाले पनि सहयोग गरेका छन् ।
महोत्सवको माघ १४ गते बिहान ११ बजे उद्घाटन हुनेछ । त्यसअघि बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचार र्याली हुनेछ ।












