नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले १६ वर्षे यात्रा पूरा गरेको हो ।
‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानीसम्बन्धी सेवा प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने भूमिका निर्वाह गर्दै आएको छ । हाल इसेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्दै आएको यो प्लेटफर्म हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको छ ।
१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन आफूहरू निरन्तर लागिरहने बताए । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारबाट समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिवद्ध रहेको बताए ।
यसै गरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाको १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाएको बताए । “आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ” खड्काले भने, “प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै हामी हरेक दिन नवप्रवर्तनमा लागिरहेका छौँ र आगामी दिनमा अझ जिम्मेवार भएर डिजिटल नेपालको यात्रामा योगदान दिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”
इसेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत वित्तीय समावेशितामार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन, प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इसेवाले गरेको छ ।
थपिए तीन सुविधाहरू
१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवाले आफ्ना सुविधा पनि विस्तार गरेको छ । यस अवसरमा इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ता लक्षित टकब्याक सुविधा, भुक्तानीलाई सहज र छिटो बनाउने इन्टेन्ट बेस्ड पेमेन्ट र इसेवा सर्कल च्याट जस्ता प्रयोगकर्ता केन्द्रित समाधानहरू अघि सारेको छ ।
इसेवा टकब्याकः इसेवाले दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताहरूका लागि टकब्याक सुविधा सुरु गरेको छ । टकब्याक सेवा सुरु गर्ने इसेवा नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी हो । यो सुविधाअन्तर्गत स्क्रिनमा भएका कुरालाई आवाजमा रूपान्तरण गर्ने गरिन्छ । यसबाट प्रयोगकर्ताहरूले बटन, नाम र कामहरू सजिलै बुझ्न र चलाउन सक्छन् । इसेवामा टकब्याक अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहेको छ । यसले दृष्टिविहीनहरूलाई स्वतन्त्र रूपमा इसेवा प्रयोग गर्ने अवसर दिनुका साथै डिजिटल वित्तीय स्वतन्त्रता र समावेशिता बढाउने विश्वास लिइएको छ ।
इन्टेन्ट–बेस्ड पेमेन्टः इसेवाले इन्टेन्ट बेस्ड पेमेन्ट सुविधा ल्याएर भुक्तानी प्रक्रियालाई अझ छिटो र सरल बनाएको छ । इन्टेन्ट बेस्ड पेमेन्ट भनेको प्रयोगकर्ताको भुक्तानी गर्ने इच्छालाई आधार मानेर छिटो, सुरक्षित र अवरोधरहित भुक्तानी सम्पन्न हुने प्रणाली हो ।यस प्रणालीमा प्रयोगकर्ताले जहाँ भुक्तानी गर्नुपर्ने हुन्छ, त्यहीँबाटै भुक्तानी सुरु हुन्छ । मर्चेन्ट एप वा वेबसाइटमा ‘एबथ धष्तज भक्भधब’ मा क्लिक गरेपछि सिधै इसेवा एप खुल्ने वा डिभाइस स्तरको प्रमाणीकरण ९फिङ्गरप्रिन्ट वा फेस आईडी० मार्फत भुक्तानी स्वीकृत हुने भएकाले एमपिन, पासवर्ड वा ओटीपीको झन्झट हट्छ । यसले भुक्तानीका क्रममा बीचमै प्रक्रिया रोकिने समस्या कम गर्नुका साथै प्रयोगकर्तालाई सुरक्षित, सहज र केही सेकेन्डमै लेनदेन सम्पन्न गर्ने अनुभव प्रदान गर्छ ।
इसेवा सर्कल च्याटः इसेवाको फिचर इसेवा सर्कलमा अब च्याट सुविधा थपिएको छ । यसमा प्रयोगकर्ताहरूले साथीहरू थप्ने, समूह बनाउने, बिल बाँडफाँड गर्ने, उपहार पठाउने, कमेन्ट गर्ने, रियाक्ट गर्ने सुविधाहरू पाउँछन् । यसले सामूहिक रूपमा बिल बाँडफाँड गरेपछि आफ्ना साथीभाइसँग अर्को एपमा गई कुराकानी गर्नुपर्ने झन्झट पनि हटाउँछ । ग्रुप च्याटमा गरिएको कुराकानी सधैँ रहने भएकाले यसबाट साथीहरूबिचको संवाद र लेनदेनमा थप सहजता आउने विश्वास गरिएको छ ।












