नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ । गत साता भएको जेन–जी संघर्षको सन्दर्भमा गोल्यान समूहले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ हो ।
‘अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिवद्धताको आवश्यकता छ’ गोल्यान समूहले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं ।’
गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ, अनि हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डो¥याउँदछ,’ ग्रुपले भनेको छ ।
पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको नियुक्तिलाई गोल्यान समूहले इतिहासको एक नयाँ अध्याय भनेको छ । ‘हाम्रो राष्ट्रको भविष्य अब विगतमा सीमित छैन भन्ने गहन घोषणा पनि हो,’ उसको भनाइ छ । यस क्षणमा पुग्नका लागि राष्ट्रले ठूलो मूल्य चुकाएको र परिवर्तनका लागि सहादत प्राप्न गर्ने सबैको सपनाप्रति दृढ संकल्पित हुनुपर्ने गोल्यान ग्रुपको भनाइ छ ।












