प्रतिनिधिसभाको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले अवैध पैसालाई वैध बनाउनुपर्ने बताएका छन् । उनले नेपालीहरूले राखेको पैसा जसरी कमाएको भएपनि त्यसलाई बजारमा निकाल्न वैध बनाउन प्रस्ताव गरेका हुन् ।
“नेपालीसँग भएको पैसा बाहिर निकाल्ने व्यवस्था गरौँ, १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जे सुकै गरेर ल्याएको होस्, निकाल्न दिनुपर्यो । बरू त्योभन्दा कम कर लगाएर भए पनि निकाल्ने काम गरौँ,” कान्छारामले भने, “दुई नम्बरी गरेर ल्याएको होस् अथवा ६ नम्बरी गरेको होस् । यो काम एकपटक गरौँ ।”
उनको कुरा सुनेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्ता गम्भीर विषयलाई हल्का रुपमा प्रस्तुत गर्न नहुने बताए । नेपाल अहिले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिष्ट’मा परेको स्मरण गराउँदै अर्थमन्त्री पौडेलले अहिले देशलाई ग्रे लिस्टबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । तर, अवैध आर्जनलाई वैध बनाउनुपर्छ भन्ने विषयमा अभिव्यक्ति दिँदा झन समस्या पर्ने उनको भनाइ छ ।
“देश ग्रे लिस्टमा परेको छ, हामी कसरी बाहिर निकाल्ने भनेर गृहकार्य गरिरहेका छौँ । सदनमा यस्ता कुरामा छलफल भयो भन्ने सूचना बाहिर गयो भने हामी झन् समस्यामा पर्छौं,” अर्थमन्त्री पौडेलले भने, “यो समिति मिनि पार्ल्यामेन्ट हो । यस्ता कुरा गर्दै नगरौँ, कालो सूचीमा परिन्छ ।”