टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो चौथो तथा अन्तिम खेल खेल्दै छ। आज नेपाल र स्कटल्याण्डबीच खेल हुन लागेको हो ।
यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । यस अघि नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने इटालिसग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो। त्यस्तै वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । लगातार ३ खेलमा हारे संगै नेपालको सुपर ८ पुग्ने सम्भावना सकिएकोले आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुने छ।
२० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। यस समुहबाट इंग्ल्यान्ड र वेस्ट इन्डिज अर्को चरणमा पुगिसकेका छन् भने अरु सबै टिम बाहिरिएका छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेलिरहेको हो। यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।












