घानाको राष्ट्रिय फुटबल टिम ‘ब्ल्याक स्टार्स’ ले क्वालिफायरको अन्तिम खेलमा कोमोरोसलाई १–० ले पराजित गर्दै फिफा वर्ल्ड कप २०२६ मा आफ्नो स्थान पक्का गरेको छ। यो जितसँगै घानाले आफ्नो पाँचौं पटक वर्ल्ड कप खेल्ने अवसर प्राप्त गरेको छ।
सान्टोस एन्ड्रोमेदा स्टेडियममा आइतबार भएको समूह ‘आई’ को अन्तिम खेलमा मोहम्मद कुडुसको एकमात्र गोलले घानालाई विजयी बनायो। यसअघि सन् २०२२ को कतार विश्वकपमा सहभागी भएको घानाले यो पटक कडा संघर्षपछि स्थान सुनिश्चित गरेको हो। समूह चरणमा १० खेलबाट २५ अंक जोडेको घानाले म्याडागास्कार (१९ अंक), माली (१८ अंक), कोमोरोस (१२ अंक), सेन्ट्रल अफ्रिकन रिपब्लिक (११ अंक) र चाड (५ अंक) लाई पछि पार्यो।
प्रशिक्षक ओटो एडोको नेतृत्वमा टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। एडो यो दोस्रो पटक घानालाई विश्वकपमा पुर्याउने पहिलो प्रशिक्षक बनेका छन्। कुडुसले खेलपछि भने, “यो हाम्रो राष्ट्रिय गौरवको क्षण हो। हामी अब क्यानाडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि तयारी गर्नेछौं।”
अफ्रिकाबाट नौ टिमले सन् २०२६ को विश्वकप खेल्नेछन्। घानासँगै मोरक्को, ट्युनिसिया लगायतका टिमले पहिले नै स्थान पक्का गरेका छन्।
विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ। यो ४८ टिम सहभागी हुने विस्तारित संस्करण हुनेछ। विश्वकपको लागि हालसम्म २१ देश छनौट भएका छन् ।
हालसम्म छनौट भएका देशहरु :
- क्यानडा
- मेक्सिको
- संयुक्त राज्य अमेरिका
- जापान
- न्युजिल्यान्ड
- इरान
- अर्जेन्टिना
- उज्बेकिस्तान
- दक्षिण कोरिया
- जर्डन
- अष्ट्रेलिया
- ब्राजिल
- इक्वाडोर
- उरुग्वे
- कोलम्बिया
- प्याराग्वे
- मोरक्को
- ट्युनिसिया
- इजिप्ट
- अल्जेरिया
- घाना












