ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका छन्। मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठ सहितको टोलीले स्थलगत निरीक्षण गरी निर्माण व्यवसायी, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतसँग छलफल गरेको थियो ।
मन्त्री घिसिङले आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। रङ्शालाको गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउँदै उहाँले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुनेसमेत प्रष्ट पारे ।
क्यानका सचिव पारस खड्काले हालको नेपालको संवेदनशील अवस्थामा हुन लागेको एनपिएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले मैदान तयारी अवस्थामा रहेको, फ्लड लाइड जडान र प्यारापिट निर्माण कार्य एनपिएल अगाडि नै निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गरे।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । फ्लडलाईट जडान कार्यको प्रगति ६० प्रतिशत रहको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६वटा मध्ये २ वटा लाईट टावर ठड्याउने कार्य सम्पन्न भईसकेको छ । वाँकीका उपकरणहरुको आपूर्ति समेत भइसकेको छ ।












