सन् २०२६ मा हुने फिफा विश्वकपको लागि न्युजिल्यान्ड पनि छनौट भएको छ। मार्च २४, २०२५ मा भएको ओसियाना क्षेत्रको छनोट फाइनलमा न्युजिल्यान्डले न्यु क्यालेडोनियालाई ३-० को नतिजाले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको दोस्रो हाफमा माइकल बक्सल, कोस्टा बार्बाराउसेस र एलिजाह जस्टले गोल गरेपछि “अल ह्वाइट्स” उपनामले चिनिने न्युजिल्यान्ड टोलीले ऐतिहासिक सफलता हासिल गरेको हो। खेल औकल्यान्डको इडेन पार्कमा भएको थियो। ओसियाना क्षेत्रले पहिलो पटक विश्वकपमा प्रत्यक्ष प्रवेशको कोटा पाएको कारण यो छनोट न्युजिल्यान्डका लागि विशेष महत्त्वको थियो।
यो जितसँगै न्युजिल्यान्डले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउने अवसर प्राप्त गरेको छ। यसअघि न्युजिल्यान्डले सन् १९८२ र २०१० मा विश्वकप खेलेको थियो।
न्यु क्यालेडोनियाले भने अब अन्तरमहादेशीय प्ले-अफमार्फत विश्वकपमा पुग्ने अवसरका लागि संघर्ष गर्नेछ। न्युजिल्यान्डका कप्तान क्रिस वुड पहिलो हाफमा चोटका कारण मैदानबाट बाहिरिए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको प्रशिक्षक ड्यारेन बाजेलेले बताए।
विश्वकप सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ, र न्युजिल्यान्डले यस प्रतियोगितामा आफ्नो प्रभाव छोड्ने आशा राखेको छ।
केहि दिन अघि जापान पनि विश्वकपको लागि छनौट भएको थियो ।