काठमाडौँमा जारी केपी ओली कप फुटबल प्रतियोगिता अवलोकन सहितका कार्यक्रमका लागि विश्वविख्यात गोलकिपर जियानलुजी बफोन नेपाल आएका छन् । इटालीको राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका फिफा विश्वकप विजेता गोलकिपर बफोन नेपाल आएका हुन् ।
केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे लगायतले स्वागत गरेका थिए ।
सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपरको रेकर्ड बनाए उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।
बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका छन् ।












