स्किनर रसाईली
नेपालमा सुनचाँदी उद्योग केवल गहनाको कारोबार मात्र होइन, यो हाम्रो संस्कृति, इतिहास र सामाजिक पहिचानसँग जोडिएको गहिरो धरोहर हो । विवाह समारोहदेखि धार्मिक संस्कारसम्म, चाडपर्वदेखि जन्मोत्सवसम्म सुनचाँदीले नेपाली समाजमा भावनात्मक र सामाजिक मूल्य बोकेको छ । तर, यो चम्किलो बाहिरी रूपभित्र यथार्थ फरक छ ।
चम्किला गहनाभन्दा पछाडी पसिना, श्रम र असुरक्षित भविष्य लुकिएको छ । काठमाडौँको असनमा बसेका कालिगढ रमेशले बीस वर्षदेखि सुनचाँदी गहना बनाइरहेका छन् । उनको हातमा जलेका दाग र छालामा देखिने घाउले उनी दिनरात पसिना बगाउने प्रमाण बोकेको छ । तर दिनरात काम गर्दा पनि आम्दानीको हिसाब गर्दा परिवार पाल्न उनलाई धौ–धौ छ । रमेशजस्ता हजारौं कालिगढहरूको कथा उस्तै छ । उनीहरूले आफ्नो जीवन सीपमा लगानी गरेका छन्, तर भविष्य सुरक्षित छैन ।
अर्कोतर्फ, नयाँ पुस्ताले यसै क्षेत्रमा नयाँ दृष्टि बोकेको छ । २५ वर्षीया अनु काठमाडौँमा कम्प्युटर एडेड डिजाइन (CAD) सिकेर 3D प्रिन्टिङमा नयाँ किसिमका गहना डिजाइन गर्छिन् । उनले आफ्नो डिजाईनलाई इन्स्टाग्राम र अन्य डिजिटल प्लेटफर्ममा देखाउँछिन्, र युवा पुस्ता तथा अन्तर्राष्ट्रिय ग्राहकलाई आकर्षित गर्ने प्रयास गर्छिन् । तर उनको समस्या फरक छ । उनीसँग कल्पना र प्रविधि नयाँ छ, तर बजारमा स्थान बनाउन नीति र समर्थन छैन । सरकार र वित्तीय संस्था यदि अनु जस्ता नविन प्रविधि र कल्पनासीलता भएका व्यक्तिहरुका लागि सहज हुन्थ्यो भने उनीहरुले नेपालमै ब्रान्ड बनाउन सक्थे ।
सुनचाँदी व्यवसायमा जोडिएका यी दुइ व्यक्तिको उदाहरणले दुई पुस्ताको यथार्थलाई स्पष्ट पार्छ । पुरानो पुस्ता सीपमा भर परेको छ भने नयाँ पुस्ताले प्रविधिमा भर पारेको छ । तर दुबै एउटै समस्यामा फसेका छन्—अनौपचारिकता, असुरक्षा र अवसरको कमी ।
नेपालमा सुन र चाँदी दुवैको बजार विशाल छ । भन्सार विभागको तथ्याङ्का अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालमा १ हजार ३९० किलो सुन आयात भएको छ । जसको ठूलो हिस्सा गहनामा प्रयोग हुन्छ । तर पछिल्ला वर्षहरूमा आयातमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय मूल्यवृद्धि, विनिमय दरको दबाब र सरकारले सुनलाई विलासिता कर अन्तर्गत राखेर कर बढाएका कारण सुनको आयातमा गिरावट आएको छ । यसले बजारमा मिश्रित असर पारेको छ । धनी उपभोक्ता अझै पनि गहना किन्छन्, तर मध्यम वर्गीय ग्राहकहरू भने चाँदी, मोइसानाइट वा कृत्रिम पत्थरतर्फ आकर्षित भएका छन् । यसले उद्योगमा दुई प्रश्न खडा गर्छ—के करले वास्तवमै राजस्व बढाउँछ ? वा यसले ग्राहकलाई वैकल्पिक बजारमा धकेल्छ ? र के नेपालमा उत्पादन पक्षमा यति लचिलोपन छ कि यस्तो झट्का सामना गर्न सकियोस् ?
नेपालमा सुनचाँदी उद्योगले हजारौं मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ । तर यहाँको समस्या अनौपचारिकता हो । धेरै कालिगढहरूले औपचारिक करोबार बिना नै काम गर्छन् । उनीहरूको ज्याला पनि अनुभव र सीपअनुसार असमान हुन्छ । कुनै प्रशिक्षार्थीले मासिक १५ देखि २५ हजार मात्र पाउँछ भने कुशल कालिगढले ५० देखि ६५ हजारसम्म पाउन सक्छ ।
तर नियमित तलब, बीमा, सामाजिक सुरक्षा र भविष्यको ग्यारेन्टी भने प्राय: छैन । यस्तो असुरक्षाले गर्दा सीप सिकेका युवा अन्तत: विदेशतर्फ जान्छन् । कतार, दुबई, भारत र साउदीमा नेपाली कालिगढहरूको ठूलो माग छ । नेपालमै दुईदेखि तीन वर्ष काम गरेर अनुभव लिएका युवाले विदेशमा गएर एक लाखभन्दा बढी मासिक आम्दानी गर्न सक्छन् । यसले प्रश्न उब्जाउँछ—किन नेपालमै उनीहरूलाई त्यस्तो अवसर दिइँदैन ? किन हामी सीपलाई उत्पादन र रोजगारी सिर्जनाको आधार बनाउन सक्दैनौँ ?
सुनचाँदी उद्योगलाई अझ बलियो बनाउन नयाँ पुस्ताले डिजिटलाइजेसनमा ध्यान दिइरहेका छन् । CAD, 3D प्रिन्टिङ, र अनलाइन मार्केटिङले नयाँ बजार खोल्छ । तर यो केवल प्रविधि मात्रको प्रश्न होइन । यदि बजारमा उपभोक्ताको विश्वास नै छैन भने प्रविधि पर्याप्त हुँदैन । नेपालमा अझै पनि आधिकारिक hallmarking र शुद्धताको परीक्षण प्रणाली कमजोर छ । गहनामा QR ट्रेसबिलिटी वा अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेशन छैन । यसले गर्दा ग्राहकले धोका पाएको अनुभव गर्छन् र निर्यात गर्न खोज्दा अन्तर्राष्ट्रिय बजारले विश्वास गर्दैन । यसरी प्रविधि सिकेर पनि अवसर गुमिरहेको छ ।
सरकारले समय–समयमा सुनचाँदी उद्योगलाई बजेट र नीतिमा समेट्छ । तर ती प्राय: घोषणामा मात्र सीमित हुन्छन् । प्रशिक्षण केन्द्र स्थापना गर्ने कुरा उठ्छ, तर निरन्तरता र निगरानी हुँदैन । कर प्रणाली फेरिन्छ, तर व्यवसायीलाई राहत दिने संरचना तयार हुँदैन । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ—सरकारले नीतिहरू किन केवल घोषणामा सीमित राख्छ ? जब युवाहरू विदेश पलायन भइरहेका छन्, जब कालिगढले असुरक्षित जीवन बिताइरहेका छन्, तब किन यो उद्योगलाई औपचारिक रोजगारी क्षेत्रको रूपमा स्थापित गरिँदैन ?

समाधान भने सम्भव छ । पहिलो, कामदारलाई औपचारिक बनाउनुपर्छ । “Goldsmith Welfare Code” जस्तै एउटा न्यूनतम ज्याला, स्तरवद्ध सीप प्रमाणपत्र र बीमा प्रणाली लागू गर्न सकिन्छ । यसले प्रशिक्षार्थीदेखि कुशल कालिगढसम्मलाई करारमा ल्याउँछ । दोस्रो, गहनामा hallmark र QR ट्रेसबिलिटी प्रणाली चरणबद्ध अनिवार्य गर्नुपर्छ । यसले उपभोक्ताको विश्वास बढाउँछ र अन्तर्राष्ट्रिय बजारमा प्रवेश सजिलो बनाउँछ । तेस्रो, क्लस्टर मोडल अपनाउन सकिन्छ, जसमा साना व्यवसायहरूले साझा मेसिन, फोटो स्टुडियो र प्लाटिङ सेवा प्रयोग गर्न सक्छन् । यसले लागत घटाउँछ र उत्पादकत्व बढाउँछ । चौथो कुरा, वित्तीय संस्थाले inventory र invoice finance प्रणाली ल्याउनुपर्छ । आज अधिकांश ज्वेलरी पसल र साना व्यवसाय नगद अभावका कारण थिलथिलो भएका छन् । यदि धातु पूलिङ वा इनभ्वाइस डिस्काउन्टिङ सुविधा मिल्यो भने उनीहरूले बजार विस्तार गर्न सक्छन् ।
पाँचौँ, सीपलाई औपचारिक स्तरमा मान्यता दिनुपर्छ । अनुभव भएका कालिगढलाई Recognition या Prior Learning (RPL) मार्फत प्रमाणित गर्न सकिन्छ, जसले उनीहरूको पारिश्रमिक र सम्मान बढाउँछ । नयाँ पुस्ताका लागि टेक ट्र्याक र आर्ट ट्र्याक दुवै खोल्न सकिन्छ । यसले युवा आकर्षण बढाउँछ र विदेश पलायन रोक्छ । छैठौँ भनेको, बजारमा उत्पादनमा विविधता आवश्यक छ । केवल सुनमा निर्भर हुनु खतरनाक हुन्छ । चाँदी, मोइसानाइट र लैब–ग्रोन हिउँजस्ता विकल्पलाई प्रोत्साहन गरेर ग्राहकलाई त्यसतर्फ पनि आकर्षित गर्न सकिन्छ । सातौँ, ब्रान्डिङमा जोड दिनुपर्छ । नेपालको परम्परागत डिजाइन—नेवारी, मधेशी वा पहाडी शैलीलाई आधुनिक रूप दिन सकिन्छ र ‘Made in Nepal Jewellery’ ब्रान्डलाई अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गर्न सकिन्छ ।
यी सबै समाधान केवल विचार मात्र होइन, कार्यान्वयनयोग्य खाका हुन् । छोटो अवधिमा पाइलट परियोजना सुरु गरेर, क्लस्टर बनाइराखेर र QR प्रणाली लागू गरेर उद्योगलाई पारदर्शितामा ल्याउन सकिन्छ । मध्यम अवधिमा बीमा, प्रशिक्षण र निर्यात प्रमोशन विस्तार गर्न सकिन्छ । दीर्घकालीन रूपमा, नेपालले आफ्नो सुनचाँदी उद्योगलाई केवल गहना उत्पादन होइन, रोजगारी, निर्यात र सांस्कृतिक पहिचानको आधार बनाउन सक्छ ।
रमेशजस्ता कालिगढहरूको पसिना र अनुजस्ता युवाको सपना एकै ठाउँमा जोडियो भने, सुनचाँदी उद्योग केवल चम्किलो गहना मात्रै होइन, नेपाली युवाको भविष्य बन्न सक्छ । तर यसको लागि सरकार, व्यवसायी, वित्तीय संस्था र समाज सबैले बदलिनुपर्छ । सरकारमा केवल कर उठाउने भन्दा पनि यस खालका व्यवसायप्रति बढी जिम्मेवारीबोध हुनुपर्छ । व्यवसायीले केवल छोटो नाफा भन्दा दीर्घकालीन ब्रान्ड निर्माणतर्फ सोच्नुपर्छ । वित्तीय संस्थाले जोखिमको कारण देखाएर टाढा भाग्ने होइन, उत्पादन र सीपलाई लगानीयोग्य क्षेत्रका रूपमा हेर्नुपर्छ । समाजले सुनचाँदीलाई केवल विलासिता होइन, रोजगारी र पहिचानका रूपमा स्वीकार गर्नुपर्छ ।
अन्तत: प्रश्न यही हो, के हामी अझै पनि सुनचाँदीलाई केवल विवाहका गहनासम्म सीमित राख्छौँ ? वा यसलाई राष्ट्रको अर्थतन्त्र, रोजगारी र युवाको भविष्य बनाउन सक्छौँ ?
(यो सामाग्री बिजनेशपाना म्यागेजिनको पछिल्लो अङ्कमा प्रकाशित छ)













