Sunday, May 3, 2026
spot_img
spot_img

नेपाली युवाको भविष्य बन्न सक्ने गहना उद्योग

spot_img
spot_img

स्किनर रसाईली

नेपालमा सुनचाँदी उद्योग केवल गहनाको कारोबार मात्र होइन, यो हाम्रो संस्कृति, इतिहास र सामाजिक पहिचानसँग जोडिएको गहिरो धरोहर हो । विवाह समारोहदेखि धार्मिक संस्कारसम्म, चाडपर्वदेखि जन्मोत्सवसम्म सुनचाँदीले नेपाली समाजमा भावनात्मक र सामाजिक मूल्य बोकेको छ । तर, यो चम्किलो बाहिरी रूपभित्र यथार्थ फरक छ ।

चम्किला गहनाभन्दा पछाडी पसिना, श्रम र असुरक्षित भविष्य लुकिएको छ । काठमाडौँको असनमा बसेका कालिगढ रमेशले बीस वर्षदेखि सुनचाँदी गहना बनाइरहेका छन् । उनको हातमा जलेका दाग र छालामा देखिने घाउले उनी दिनरात पसिना बगाउने प्रमाण बोकेको छ । तर दिनरात काम गर्दा पनि आम्दानीको हिसाब गर्दा परिवार पाल्न उनलाई धौ–धौ छ । रमेशजस्ता हजारौं कालिगढहरूको कथा उस्तै छ । उनीहरूले आफ्नो जीवन सीपमा लगानी गरेका छन्, तर भविष्य सुरक्षित छैन ।

अर्कोतर्फ, नयाँ पुस्ताले यसै क्षेत्रमा नयाँ दृष्टि बोकेको छ । २५ वर्षीया अनु काठमाडौँमा कम्प्युटर एडेड डिजाइन (CAD) सिकेर 3D प्रिन्टिङमा नयाँ किसिमका गहना डिजाइन गर्छिन् । उनले आफ्नो डिजाईनलाई इन्स्टाग्राम र अन्य डिजिटल प्लेटफर्ममा देखाउँछिन्, र युवा पुस्ता तथा अन्तर्राष्ट्रिय ग्राहकलाई आकर्षित गर्ने प्रयास गर्छिन् । तर उनको समस्या फरक छ । उनीसँग कल्पना र प्रविधि नयाँ छ, तर बजारमा स्थान बनाउन नीति र समर्थन छैन । सरकार र वित्तीय संस्था यदि अनु जस्ता नविन प्रविधि र कल्पनासीलता भएका व्यक्तिहरुका लागि सहज हुन्थ्यो भने उनीहरुले नेपालमै ब्रान्ड बनाउन सक्थे ।

सुनचाँदी व्यवसायमा जोडिएका यी दुइ व्यक्तिको उदाहरणले दुई पुस्ताको यथार्थलाई स्पष्ट पार्छ । पुरानो पुस्ता सीपमा भर परेको छ भने नयाँ पुस्ताले प्रविधिमा भर पारेको छ । तर दुबै एउटै समस्यामा फसेका छन्—अनौपचारिकता, असुरक्षा र अवसरको कमी ।

नेपालमा सुन र चाँदी दुवैको बजार विशाल छ । भन्सार विभागको तथ्याङ्का अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालमा १ हजार ३९० किलो सुन आयात भएको छ । जसको ठूलो हिस्सा गहनामा प्रयोग हुन्छ । तर पछिल्ला वर्षहरूमा आयातमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय मूल्यवृद्धि, विनिमय दरको दबाब र सरकारले सुनलाई विलासिता कर अन्तर्गत राखेर कर बढाएका कारण सुनको आयातमा गिरावट आएको छ । यसले बजारमा मिश्रित असर पारेको छ । धनी उपभोक्ता अझै पनि गहना किन्छन्, तर मध्यम वर्गीय ग्राहकहरू भने चाँदी, मोइसानाइट वा कृत्रिम पत्थरतर्फ आकर्षित भएका छन् । यसले उद्योगमा दुई प्रश्न खडा गर्छ—के करले वास्तवमै राजस्व बढाउँछ ? वा यसले ग्राहकलाई वैकल्पिक बजारमा धकेल्छ ? र के नेपालमा उत्पादन पक्षमा यति लचिलोपन छ कि यस्तो झट्का सामना गर्न सकियोस् ?

नेपालमा सुनचाँदी उद्योगले हजारौं मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ । तर यहाँको समस्या अनौपचारिकता हो । धेरै कालिगढहरूले औपचारिक करोबार बिना नै काम गर्छन् । उनीहरूको ज्याला पनि अनुभव र सीपअनुसार असमान हुन्छ । कुनै प्रशिक्षार्थीले मासिक १५ देखि २५ हजार मात्र पाउँछ भने कुशल कालिगढले ५० देखि ६५ हजारसम्म पाउन सक्छ ।

तर नियमित तलब, बीमा, सामाजिक सुरक्षा र भविष्यको ग्यारेन्टी भने प्राय: छैन । यस्तो असुरक्षाले गर्दा सीप सिकेका युवा अन्तत: विदेशतर्फ जान्छन् । कतार, दुबई, भारत र साउदीमा नेपाली कालिगढहरूको ठूलो माग छ । नेपालमै दुईदेखि तीन वर्ष काम गरेर अनुभव लिएका युवाले विदेशमा गएर एक लाखभन्दा बढी मासिक आम्दानी गर्न सक्छन् । यसले प्रश्न उब्जाउँछ—किन नेपालमै उनीहरूलाई त्यस्तो अवसर दिइँदैन ? किन हामी सीपलाई उत्पादन र रोजगारी सिर्जनाको आधार बनाउन सक्दैनौँ ?

सुनचाँदी उद्योगलाई अझ बलियो बनाउन नयाँ पुस्ताले डिजिटलाइजेसनमा ध्यान दिइरहेका छन् । CAD, 3D प्रिन्टिङ, र अनलाइन मार्केटिङले नयाँ बजार खोल्छ । तर यो केवल प्रविधि मात्रको प्रश्न होइन । यदि बजारमा उपभोक्ताको विश्वास नै छैन भने प्रविधि पर्याप्त हुँदैन । नेपालमा अझै पनि आधिकारिक hallmarking र शुद्धताको परीक्षण प्रणाली कमजोर छ । गहनामा QR ट्रेसबिलिटी वा अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेशन छैन । यसले गर्दा ग्राहकले धोका पाएको अनुभव गर्छन् र निर्यात गर्न खोज्दा अन्तर्राष्ट्रिय बजारले विश्वास गर्दैन । यसरी प्रविधि सिकेर पनि अवसर गुमिरहेको छ ।

सरकारले समय–समयमा सुनचाँदी उद्योगलाई बजेट र नीतिमा समेट्छ । तर ती प्राय: घोषणामा मात्र सीमित हुन्छन् । प्रशिक्षण केन्द्र स्थापना गर्ने कुरा उठ्छ, तर निरन्तरता र निगरानी हुँदैन । कर प्रणाली फेरिन्छ, तर व्यवसायीलाई राहत दिने संरचना तयार हुँदैन । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ—सरकारले नीतिहरू किन केवल घोषणामा सीमित राख्छ ? जब युवाहरू विदेश पलायन भइरहेका छन्, जब कालिगढले असुरक्षित जीवन बिताइरहेका छन्, तब किन यो उद्योगलाई औपचारिक रोजगारी क्षेत्रको रूपमा स्थापित गरिँदैन ?

समाधान भने सम्भव छ । पहिलो, कामदारलाई औपचारिक बनाउनुपर्छ । “Goldsmith Welfare Code” जस्तै एउटा न्यूनतम ज्याला, स्तरवद्ध सीप प्रमाणपत्र र बीमा प्रणाली लागू गर्न सकिन्छ । यसले प्रशिक्षार्थीदेखि कुशल कालिगढसम्मलाई करारमा ल्याउँछ । दोस्रो, गहनामा hallmark र QR ट्रेसबिलिटी प्रणाली चरणबद्ध अनिवार्य गर्नुपर्छ । यसले उपभोक्ताको विश्वास बढाउँछ र अन्तर्राष्ट्रिय बजारमा प्रवेश सजिलो बनाउँछ । तेस्रो, क्लस्टर मोडल अपनाउन सकिन्छ, जसमा साना व्यवसायहरूले साझा मेसिन, फोटो स्टुडियो र प्लाटिङ सेवा प्रयोग गर्न सक्छन् । यसले लागत घटाउँछ र उत्पादकत्व बढाउँछ । चौथो कुरा, वित्तीय संस्थाले inventory र invoice finance प्रणाली ल्याउनुपर्छ । आज अधिकांश ज्वेलरी पसल र साना व्यवसाय नगद अभावका कारण थिलथिलो भएका छन् । यदि धातु पूलिङ वा इनभ्वाइस डिस्काउन्टिङ सुविधा मिल्यो भने उनीहरूले बजार विस्तार गर्न सक्छन् ।

पाँचौँ, सीपलाई औपचारिक स्तरमा मान्यता दिनुपर्छ । अनुभव भएका कालिगढलाई Recognition या Prior Learning (RPL) मार्फत प्रमाणित गर्न सकिन्छ, जसले उनीहरूको पारिश्रमिक र सम्मान बढाउँछ । नयाँ पुस्ताका लागि टेक ट्र्याक र आर्ट ट्र्याक दुवै खोल्न सकिन्छ । यसले युवा आकर्षण बढाउँछ र विदेश पलायन रोक्छ । छैठौँ भनेको, बजारमा उत्पादनमा विविधता आवश्यक छ । केवल सुनमा निर्भर हुनु खतरनाक हुन्छ । चाँदी, मोइसानाइट र लैब–ग्रोन हिउँजस्ता विकल्पलाई प्रोत्साहन गरेर ग्राहकलाई त्यसतर्फ पनि आकर्षित गर्न सकिन्छ । सातौँ, ब्रान्डिङमा जोड दिनुपर्छ । नेपालको परम्परागत डिजाइन—नेवारी, मधेशी वा पहाडी शैलीलाई आधुनिक रूप दिन सकिन्छ र ‘Made in Nepal Jewellery’ ब्रान्डलाई अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गर्न सकिन्छ ।

यी सबै समाधान केवल विचार मात्र होइन, कार्यान्वयनयोग्य खाका हुन् । छोटो अवधिमा पाइलट परियोजना सुरु गरेर, क्लस्टर बनाइराखेर र QR प्रणाली लागू गरेर उद्योगलाई पारदर्शितामा ल्याउन सकिन्छ । मध्यम अवधिमा बीमा, प्रशिक्षण र निर्यात प्रमोशन विस्तार गर्न सकिन्छ । दीर्घकालीन रूपमा, नेपालले आफ्नो सुनचाँदी उद्योगलाई केवल गहना उत्पादन होइन, रोजगारी, निर्यात र सांस्कृतिक पहिचानको आधार बनाउन सक्छ ।

रमेशजस्ता कालिगढहरूको पसिना र अनुजस्ता युवाको सपना एकै ठाउँमा जोडियो भने, सुनचाँदी उद्योग केवल चम्किलो गहना मात्रै होइन, नेपाली युवाको भविष्य बन्न सक्छ । तर यसको लागि सरकार, व्यवसायी, वित्तीय संस्था र समाज सबैले बदलिनुपर्छ । सरकारमा केवल कर उठाउने भन्दा पनि यस खालका व्यवसायप्रति बढी जिम्मेवारीबोध हुनुपर्छ । व्यवसायीले केवल छोटो नाफा भन्दा दीर्घकालीन ब्रान्ड निर्माणतर्फ सोच्नुपर्छ । वित्तीय संस्थाले जोखिमको कारण देखाएर टाढा भाग्ने होइन, उत्पादन र सीपलाई लगानीयोग्य क्षेत्रका रूपमा हेर्नुपर्छ । समाजले सुनचाँदीलाई केवल विलासिता होइन, रोजगारी र पहिचानका रूपमा स्वीकार गर्नुपर्छ ।

अन्तत: प्रश्न यही हो, के हामी अझै पनि सुनचाँदीलाई केवल विवाहका गहनासम्म सीमित राख्छौँ ? वा यसलाई राष्ट्रको अर्थतन्त्र, रोजगारी र युवाको भविष्य बनाउन सक्छौँ ?

(यो सामाग्री बिजनेशपाना म्यागेजिनको पछिल्लो अङ्कमा प्रकाशित छ)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img