Sunday, May 3, 2026
spot_img
spot_img

नेपालमा कहिले शुरु होला रोजगारी सृजना गर्ने राजनीति ?

spot_img
spot_img

दिपक ओली

खाडीको उष्ण तातोमा लाखौँ नेपाली युवाको रगत सोस्सिएर, निचोरिएर पसिना झर्छ र त नेपाली बैंकका खाताहरु हरिया डलरले भरिन्छन् l त्यो पैसाले हामी गाडी किन्छौं, पेट्रोल किन्छौं l अनि गाडीमा हुइकिदै भन्छौं, रेमिट्यान्स (विप्रेषण) ले हाम्रो देशको अर्थतन्त्र बचाईदिएको छ l फेरी अर्को पुछ्रे प्रश्न मनमनै उब्जिहाल्छ, अनि यो देशलाई ‘रेमिट्यान्स’ले धान्ने चाहिँ कहिलेसम्म हो ?

हुन त यो प्रश्न नवबुज्रुकहरुको आफ्नै भविष्यको चिन्तालाई लिएर उब्जने प्रश्न हो l यो प्रश्नमा न त ति युवाहरुको शारीरिक पीडा अटाएको हुन्छ, न त परिवार, आफ्नोपन र समाजबाट टाढिनुका भावनात्मक आघात महशुस गरिएको हुन्छ l यदि त्यसो भएको भए पक्कै पनि समाजको प्रतिनिधित्व गरिराखेको राज्यले केही न केही कदमहरु चालिसकेको हुन्थ्यो  उनीहरुलाई आफ्नै मुलुकमा जीवन धान्नको लागि l तैपनि यो प्रश्न आफैमा सही छ किनकी विदेशीलाई पाखुरी बेचेर आय आर्जन गर्ने आर्थिक मोडेलले देश र समाजको दिगो उन्नतिमा योगदान गर्न सक्दैन l

खासमा देशको विकासको कडी के हो ? देशको विकासमा के कुराले सबैभन्दा ठुलो महत्व खेल्छ ? हामी देश विकासलाई कसरी मापन गर्न सक्छौं ? गत साल हाम्रो देश कति धनि भएको थियो वा कति गरिव भएको थियो ? के हामीले लिएका आर्थिक नीति र आर्थिक औजारहरु कति हाम्रो माटो सुहाँउदो छन् र हामीलाई उन्नतितिर डोर्याईरहेका छन् ? के प्रतिव्यक्ति आयमा आएको सुधारले देशविकासलाई दर्साउँछ ? कि निर्यात-आयात दरमा आएको सुधारले ? वा मुद्रास्फीतिमा आएको स्थिरताले ? वा रोजगारीमा आएको बढोत्तरीले ?

पश्चिमा देशहरुले ‘जीडीपी'(GDP), ‘पिसिआइ'(PCI), ‘एचडीआइ(HDI)’ अन्तराष्ट्रिय व्यापारमा आफ्नो अंश जस्ता मापदण्ड बनाएर देशको आर्थिक अवस्थालाइ बुझ्ने तथा बुझाउने गरेको देखिन्छ l तर यी सबैजसो अवधारणाहरु तथ्यांकको निकै जटिल र ‘रिगरस'( झन्झटिलो) संकलन, गणना र विश्लेषणमा आधारित भएकोले र निकै चुस्त अनि पारदर्शी आर्थिक संरचना बनिसकेको अवस्थामा मात्र यसले यकिनन् नतिजा दिनसक्ने हुनाले हाम्रो जस्तो देशमा यी अवधारणा त्यत्ति प्रभावकारी देखिएका छैनन् l

यद्यपी नेपालमा पनि वर्षेनी यस्ता रिपोर्टहरु संयुक्त राष्ट्रसँग विकास परियोजनाको तत्वाधानमा निस्कन्छन् l यी रिपोर्टहरुको प्रमाणीकरण गर्ने वा विश्वसनीयतामा प्रश्न उठाउन सक्ने हाम्रो सरकारको ताकत मात्र हैन चासो नै छैन भन्दा फरक पर्दैन, भलै तथ्यांकहरु रास्ट्रिय योजना आयोगले नै उपलब्ध गराएको किन नहोस् l

खासमा हेर्ने हो भने पश्चिमा देशहरुले आफ्नो देशको प्रगतिलाई मापन गर्नको लागि त्यसवर्षमा शृजना गरेको रोजगारीलाई नै मुख्यरुपमा लिने गर्छन् l चुनावी मैदानमा पनि नेताहरुले मुख्यरुपमा म हरेक वर्ष यति रोजगारी शृजना गर्नेछु भन्ने विषयमा नै आफ्ना व्यवहारिक योजनाहरु सहित गरेका प्रक्षेपण हुन्छन् l अमेरिका, फ्रान्स लगायतका देशहरुमा राष्ट्रपतिहरुको  सफलतालाइ मुख्यरुपमा रोजगारीको बढोत्तरीले नै झल्काउने गर्दछ l अमेरिकामा २०२४ मा बेरोजगारी दर ४.१% थियो l विश्व बैंकले नेपालमा १० देखि ११ प्रतिशतसम्म बेरोजगार रहेको देखाएको छ, जुन कुरा सामान्य नेपालीलाइ पत्याउन गाह्रो छ l केही श्रोतहरुलाई पत्याउने हो भने २०२५ को अन्त्यसम्ममा नेपालमा झन्डै २१% प्रतिशतको बेरोजगारी दर कायम हुने छ जुन निकै भयावह र लगभग भोकमारीको अवस्थाको पूर्वानुमान होl

हाम्रो देशका रोजगारीका आयामहरुलाई केही चर्चा गरौँ l प्रथम त रोजगारीको सृजना हुने भनेको उद्योग र व्यवसायबाट नै हो त्यो पनि मुख्यतया निजीबाट व्यवसायबाट l तर नेपालमा निजी व्यवसायको अवस्था कस्तो छ त ? राज्यले निजी उद्योगीहरुलाई कति सहयोग वा सहजीकरण गर्छ त ? नया दर्ता हुने उद्योग र युवा उद्यमीलाइ आकर्षण गर्ने के कस्ता संरचनाहरु छन् त ?

पहिलो कुरा त राज्यले नया उद्यमीलाइ व्यवसाय गर्न आकर्षित र प्रोत्साहन गर्छ कि गर्दैन भन्ने कुराबाटै सुरु गरौँ l विकसित देशमा उद्यम गर्न चाहनेलाई निकै आकर्षक खालका प्रोत्साहन र सहुलियत प्रदान गरिन्छ l अझ युवा र प्रविधिमा आधारित उद्यमलाइ त लगानीको लागि निशुल्क आर्थिक सहायता, नपुग पैसा निर्ब्याजी ऋणको रुपमा, ‘मेन्टरिंग’, बजारको सुनिश्चितता लगायतका कति हो कति आकर्षणहरु l किनकी उनीहरुलाई थाहा छ, उद्यम बिना रोजगारी र रोजगारी बिना देश विकास सम्भव छैन l अझ युवा उद्यममा नलागेसम्म देशको मुहार बदल्न सकिदैन l

भारतमै पनि अहिले युवालाइ उद्यमतिर आकर्षित गर्न राज्यले धेरै औजारहरू ल्याएको छ l कम्तिमा पनि युवाले निर्ब्याजी ऋण पाउँछ र धेरै जसो राज्यहरुमा घरेलु उद्योगहरु दर्ता गर्न कुनै खालको शुल्क तिर्नु पर्दैन, न त नेपालको कम्पनी  रजिस्ट्रारको कार्यालयमा जस्तो निर्लज्ज घुस अनि महिनौं दुख दिएर निरुत्साहित नै गरिने खेल हुन्छ l

एक रिपोर्टका अनुसार चीनमा वार्षिकरुपमा २० देखि ३० लाख युवाहरुले नया व्यवसाय शुरु गर्छन् l प्रायजशो युवाको व्यवसायले अन्तर्राष्ट्रिय बजारमा सहज प्रवेश पाउँछ, चाहे त्यो सानो लगानीबाटनै शुरु गरिएको किन नहोस् l चीन, युरोप र अमेरिका जस्ता देशहरुमा ‘क्राउड फंड़ीङ्ग’, ‘भेन्चर क्यापिटल’, ‘गभर्मेन्ट ग्रान्ट’ जस्ता धेरै योजनाहरु हुन्छन् युवालाई व्यवसायमा आकर्षित गर्न र निश्चिन्त भएर आफ्नो काममा लाग्न l बैंकहरुले बिना झन्झट एक प्रतिशतभन्दा कम ब्याजदरमा ऋण दिन्छन् l तर नेपालमा ?

नेपालमा के कुरा गर्ने ? रक्षक नै भक्षक जस्तो लाग्छ यहाँ l जुन सरकारी कार्यालयले व्यवसाय खोल्न र उद्यम गर्न जनतालाई प्रोत्साहित गर्नु पर्ने हो त्यही कार्यालयका प्रमुखहरु घुस ख्वाएर त्यो कार्यालयमा सरुवा गरेर जान्छन् घुस खान र जनतालाई दुख दिन पाइन्छ भनेर l केहि गरौँ भनेर लागेका युवाहरुको प्रथम दृष्टि मै तेजोबध गर्न र सातो लिन l धेरै युवाहरु भेटिन्छन् , कम्पनी रजिस्ट्रार कार्यालय र कर कार्यालयका व्यवहारले आजित भएर उद्योग शुरु गरेको केहि समय नहुँदै विदेश पलायनको लागि वैदेशिक रोजगारीमा पठाउने (‘म्यानपावर’) तिर भौतारिएको l

अब बैंक कै कुरा गरौँ l के नेपालका बैंकले युवा वा नया उद्यमीलाइ ऋण दिन्छन् त ? ज्यान गए दिदैनन् l उनीहरुले पहिल्यै धनि भैसकेका व्यापारी, उद्योगी, शहर-बजारमा घर- जग्गा भएकाहरुलाई मात्र ऋण दिने हुन् l व्यवसाय गर्ने ऋण वार्षिक कारोबार र नाफा हेरेर मात्र दिने रे l नयाँ व्यवसाय गर्नु छ, कहाँबाट कारोबार भोल्युम र नाफा देखाउनु ? टिठ लाग्दो कुरा !

नेपालका बैंक कसले खोलेका छन् र तिनले कसलाई ऋण दिन्छन्, ती कुराहरु पहिले नै मिडियामा धेरैपटक आइसकेका छन्, त्यसैले त्यसमा धेरै नजाउँ l तर सरकारीस्तरबाट खोलिएका बैंकले समेत निजी बैंकको सिको गर्दै सक्नेलाई मात्र ऋण दिएपछि युवा र आर्थिक अवस्था कमजोर भएकाले नेपालमा व्यवसाय गर्ने भनेको सपना नै भएको छ हाललाई l त्यसैले त नेपालमा अभिवावकले पनि विदेश जानलाइ आफ्नो ज्यानै धरौटी राखेर पनि पैसा जुटाई दिन्छन् भने नेपालमै केहि गर्छु भन्ने छोरा-छोरीलाई पैसा जुटाई दिने त कुरै छोडौं अब बिग्रेर जाने भयो भनेर देखि नसहने अवस्था बन्दै छ l

अब जनताले नेताको भाषणमा भएको अन्तर्य बुझ्न सक्नु पर्यो l नेपाललाई सिंगापुर बनाइदिन्छु, पानीजहाज ल्याइदिन्छु, तुइन काटिदिन्छु जस्ता नेताका गोलमटोल भाषण भन्दा पनि कति रोजगारी शृजना गर्छौ ? कति अरबमा बाफिएका युवालाई देशमा ल्याएर रोजगारी दिन्छौ र कति नयाँ नयाँ उद्योगमा लगानी गर्छौ भनेर सोध्ने बेला आएको छ ? विदेशबाट यति ऋण र अनुदान ल्याएँ भन्ने भन्दा पनि यति वैदेशिक लगानी ल्याएँ भन्ने खालका तथ्यांक सार्वजनिक गर्न भन्नु पर्यो किनकी वैदेशिक सहयोग र अनुदानको धेरै अंश नेताको सेवा, सुविधा, उपचार र भ्रष्ट्राचारमा खर्च हुन्छ भन्ने नेपाली जनतालाइ लाग्न लागेको छ l बरु बैदेशिक लगानी सिधै उद्योग र जनताको रोजगारीमा प्रयोग हुन्छ जस्तो देखिन्छ l यद्यपी यो कुरामा पनि नेपालमा भएका अनुभव मिठा छैनन् l सायद राज्य र कानुन बलियो नभएर वा सायद हाकिम र नेताले यसमा पनि व्यक्तिगत फाइदा खोजेर l तर ली क्यान यु (सिंगापुरलाइ परिवर्तन गर्ने नेता) ले आफ्नो ‘तेश्रो विश्वबाट पहिलो विश्वसम्म’ भन्ने किताबमा स्पष्ट लेखेका छन् ‘सिंगापुरलाई बदल्ने कडी नै वैदेशिक लगानी हो l’

नेपालका धेरै जसो पहाडी जग्गा-जमिन बाँझो हुने अवस्था बनिरहँदा जग्गा एकीकरण गरेर उन्नतखालको प्रविधि प्रयोग गरि नगदे बाली लगाउने खालको कृषि क्रान्ति शुरु गर्न सकिन्छ l यसो गरेमा लाखौं नेपालीलाइ रोजगारी दिन सकिन्छ l मलेसियामा देशैभरि जंगलमा नरिवल रोपिएको छ l एउटा नरिवलको खेतीले मात्रै पनि छुट्टै ‘नरिवल अर्थतन्त्र’ विकास गर्न सक्दो रहेछ भन्ने कुरा मलेसियामा गएर बुझ्न सकिन्छ l भारतले छुट्टै क्रिकेट अर्थतन्त्र विकास गरेको छ l माल्दिभ्सले रिसोर्ट र पानी मनोरंजनबाट लाखौं पर्यटकलाइ आकर्षण गरेको छ l

नेपालले अर्गानिक कृषि, जडिबुटी, नेपाली संस्कार, हिमाल र हिमाली जनजीवनमा आधारित पर्यटनमा आफूलाई केन्द्रित गरेर रोजगारी र कमाइमा राम्रो उन्नति गर्न सक्छ l लमजुङको घले गाउँ ‘होमस्टे’, भुजुंग गाउँ ‘होमस्टे’, मकवानपुरको चित्लांग ‘होमस्टे’, डोल्पाको रिन्ग्मो ‘होमस्टे’ काभ्रेपलान्चोकको पनौती ‘होमस्टे’, पात्लेखेत ‘होमस्टे’ जस्ता ‘होमस्टे’हरुलाइ हेर्ने हो भने नेपाली स्थानीय स्वाद र स्थानीय संस्कारले पर्यटकलाई तान्न सक्छ भन्ने प्रमाणित हुन्छ l त्यसो त नेपाली युवामा समेत घुमफिर र पदयात्राको समझ र चाहना पछिल्ला बर्षहरुमा बढ्दो छ l यो युवा ‘ट्रेन्ड’ लाइ पनि व्यवसायिकतामा बदल्न सकिन्छ l नेपालमा तत्कालमा पनि अलि जाँगर र सोचसमझ साथ काम गर्ने हो भने धेरै कुरा शुरु गर्न सकिन्छ l नेपालमा कहिले शुरु होला त रोजगारी सृजना गर्ने राजनीति ?

spot_img
spot_img

1 COMMENT

  1. देश्को वर्तमान अबस्था र बेरोजगारी माथी को उपयुक्त विश्लेषण।
    Keep it up sir.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img