विष्णुप्रसाद पौडेल
जलविद्युत्को दृष्टिकोणले नेपाल प्रचुर सम्भावना भएको देश हो । जलस्रोतमा विश्वका धनी देशमध्ये पनि एक हो । प्राकृतिक स्रोतमध्ये नेपालको यो प्रमुख स्रोतलाई हाम्रो विकासका लागि उपयोग आवश्यक छ । देशलाई समृद्ध बनाउन ऊर्जाको विकास अनिवार्य छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालमा ८२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने देखाएको छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर जलस्रोतको उच्चतम र अधिकतम सदुपयोग गर्ने हो भने जलविद्युत्बाट धेरै नै लाभ लिन सक्ने ठाउँमा छौ ।
यताका वर्षमा जलविद्युत्को क्षेत्रमा नेपाललले धेरै नै प्रगति गरेको छ । हामीसँग जति सम्भावना छ, त्यसको दृष्टिकोणले हाम्रो प्रगति सन्तोषजनक भने छैन । यो क्षेत्रमा हामीले धेरै नै काम गर्न आवश्यक छ । हामीले जलविद्युत् उत्पादन गर्दै गर्दा त्यसको लागत प्रतिफलको दृष्टिकोणले अनुकूल आयोजना प्रशस्त छन् । हामीसँग दीर्घकालीन र रणनीतिक महत्वका आयोजना पनि धेरै नै छन् ।
प्रतिफलको दृष्टिकोणले अनुकूल आयोजना, ऊर्जा उत्पादन र उपभोगका दृष्टिकोणले रणनीतिक महत्वका आयोजनामा अब हामी केन्द्रित हुनैपर्छ । अहिले पनि हामी सुक्खायाममा जलविद्युत्मा आत्मनिर्भर हुन सकेका छैनौ । वर्षायाममा हामी आफूले उपभोग गरेर बढी भएको विद्युत्लाई निर्यात गर्ने गरेका छौं । हामीले सबै याममा विद्युत्मा आत्मनिर्भर हुन आवश्यक छ । यसमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ । नेपालमा उत्पादन भएको सबै विद्युत् यही उपभोग गर्ने होइन । नेपालमा कति खपत गर्ने र कति निर्यात गर्ने भन्ने योजना चाहिन्छ ।
देश ऊर्जा क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर भएपछि ऊर्जामा खपत बढाउने योजना ल्याउनुपर्छ । प्रत्येक औद्योगिक घरानाले विद्युत् खपत बढाउने नीति लिनु पर्छ । उद्योगका उपकरण त्यहीअनुसार हुनुपर्छ । औद्योगिक घराना मात्रै नभएर हरेक घरमा विद्युतीय उपकरण बढाउनुपर्छ । विद्युतीय उपकरण पनि त्यही अनुसारको हुनुपर्छ ।
नेपालमा धेरै ऊर्जा खपत गर्ने खालका ठूला पूर्वाधारका आयोजना, उद्योग तथा कारखाना स्थापना गर्न जरूरी छ । अब सबैले यतातिर ध्यान दिन आवश्यक छ। अब हामीले विद्युत् निर्यात गर्नेभन्दा पनि आन्तरिक रूपमा विद्युत् उपभोग गर्नेतिर ध्यान दिन आवश्यक छ । हामीलाई विद्युत् निर्यात गर्नुभन्दा पनि आन्तरिक रूपमा खपत गर्दा अर्थतन्त्रलाई बढी फाइदा हुन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको आवश्यकता पूरा गर्ने हो । दोस्रो प्राथमिकता भनेको विद्युत् खपत गर्ने ठूला आयोजना, ठूला उद्योग स्थापना गरेर सञ्चालन गर्नुपर्छ । तेस्रो भनेको हामीले नेपालमा उपभोग गरेर बाँकी रहेको विद्युत् मात्रै निर्यात गर्ने हो । यसमा हामीले रणनीतिक रूपमा काम गर्न आवश्यक छ । यसका लागि सरकारले काम गर्छ नै । हामीले धेरै विद्युत् खपत गर्ने बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानी गर्न बोलाउनुपर्छ । उनीहरूलाई के के सहुलियत दिनुपर्ने हो, त्यो दिन हामी तयार हुनैपर्छ ।
हामी अब विद्युत् उत्पादन गर्ने र बिक्री गर्ने भनेर मात्रै हुँदैन । यस्तो मानसकिताबाट माथि उठ्नै पर्छ । यो सरकार विद्युत्को आन्तरिक रूपमा खपत बढाउनु पर्छ भन्ने सोचमा छ । त्यसका लागि के सहयोग आवश्यक छ, त्यो पूरा गर्ने तर्फ यो सरकारले कदम चाल्ने छ ।
ऊर्जा क्षेत्रको भविष्य
नेपालमा ऊर्जाको भविष्य निकै नै राम्रो छ । नेपालमा भविष्य भएका क्षेत्रमा ऊर्जा, पर्यटन, कृषि लगायतका छन् । यी मध्ये सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भनेको जलविद्युत् नै हो । जलविद्युत् क्षेत्रको सम्भावना निकै उज्यालो देखिन्छ । नेपालमा प्रवाह प्रणालीका आयोजनाभन्दा पनि जलाशयुक्त आयोजनाको अझ भविष्य छ । अझ बहुउद्देश्यीय आयोजनामा ध्यान दिन आवश्यक छ । सिंचाई, खानेपानी, पर्यटन लगायत बहुउदेश्य भएको आयोजनामा बढी केन्द्रित हुन आवश्यक छ । जलसम्पदाको सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धि सपना पूरा हुने छ नेपालका जलविद्युत् आयोजना केवल ऊर्जा उत्पादनसँग मात्रै सम्बन्धित छैनन् । सिंचाई, खानेपानीसँग पनि जोडिन सक्छन् । यसले पर्यटनको सम्भावना पनि बढाउन सक्छ ।
निजी क्षेत्रको लगानी
ऊर्जा क्षेत्रमा निजी क्षेत्रले लगानी धेरै नै बढाउँदै लगेका छन् । देशभित्र छरिएर रहेको पुँजीलाई एकीकृत गरेर ऊर्जा विकासमा लगानी गर्ने नीति बनाउनु पर्छ । यसमा रोजगारी सिर्जना भइरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ । त्यो लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास दिलाउनु आवश्यक छ । त्यसका लागि सरकारले नीतिगत रूपमा धेरै नै सहजीकरण गरेको छ । जलविद्युत् आयोजनामा प्रशारण लाइन, सडक विस्तार, अन्य उपकरणमा सहुलियत पाइरहेका छन् । यसले गर्दा पनि निजी क्षेत्र जलविद्युत् आयोजना बनाउन लागिपरेका छन् ।
निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा अझै बढी लगानी गर्न राज्यले अझै प्रोत्साहन गर्दै जान आवश्यक छ । हामीले विगतका अनुभवका आधारमा अझै संगठित रूपमा यो क्षेत्रमा लगानी बढाउनु पर्छ । अहिले जुनुतहमा आयोजना निर्माण गर्न निजीक्षेत्र लागेको छ, त्यो सन्तोषजनक छ । अब आगामी दिनमा अहिलेभन्दा ठूला आयोजनामा संगठित रूपमा लगानी गर्न आवश्यक छ । अब ठूला आयोजनामा लगानी बढाउनु पर्छ । निजी क्षेत्रका साथसाथै ऊर्जा विकासका लागि वैदेशिक लगानीलाई भित्र्याउन आवश्यक छ । त्यसका लागि सबैको पहल चाहिन्छ ।
हामीले ऊर्जा लगानीकर्तालाई लगानीका लागि आह्वान गरेका छौ । नेपालमा भित्रने लगानी कुनै आतंकवादी गतिविधिमा संलग्न भएको, अवैध रूपमा आर्जन भएको भने हुनु भएन । नेपालमा आउने लगानी बैकिङ प्रणालीबाट ल्याउनु पर्छ । यति भयो भने नेपालमा लगानीका लागि जे जस्ता बाधा ब्यबधान छन्, ती सबै समाधान गर्न सक्ने छौं ।
नेपालमा लगानी गर्नुहोस् भनेका छौ । नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गरेर विद्युत् उत्पादन गरेर मुनाफा लिई निश्चित समयमा त्यो आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेर बिदा होऊन् । नेपालमा लगानी गरेपछि, नेपालमा राजस्व तिरेपछि उनीहरूले प्रतिफल पाउनुपर्छ । नेपालमा लगानी गरेर प्रतिफल लैजान जुन खालको समस्याको महसुस गरेका छन्, त्यसलाई हामीले समयमा नै सम्बोधान गर्नुपर्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि हामीले अनुकूल वातावरण बनाउनु पर्छ । सरकारी विद्युत् प्राधिकरणले निर्माण गर्ने आयोजनामा विदेशी लगानी तुलनात्मक रूपमा उल्लेख्य मात्रामा हुने गरेको छ । निजी क्षेत्रका आयोजनामा पनि विदेशी लगानी भित्र्याउन आवश्यक छ । त्यसतर्फ सबैले सोच्न आवश्यक छ ।
निजी क्षेत्रका चुनौती र सरकारको सहजीकरण
जलविद्युत् आयोजना निर्माण गर्दा निजी क्षेत्रले कतिपय स्थानमा विभिन्न चुनौती भोगेको हुन्छ । चुनौती नभएको कुनै पनि क्षेत्र छैन । कपियत ठाँउमा प्रशारण लाइन, सडक पूर्वाधार समयमा बन्न नसक्नु जस्ता समस्या छन् । प्रसारण लाइन नहुँदा विद्युत् उत्पादनपछि के गर्ने भन्ने खालको समस्या देखिन थालेको छ । विद्युत् विकासका लागि प्रसारण लाइन अपरिहार्य छ । यसतर्फ राज्यको ध्यान पहिला यथोचित रूपमा पुगेको थिएन भने अब अझ बढी पुग्नेछ ।
अब हामीले नदी प्रणालीमा आधारित भएर गर्ने हो वा जलाशययुक्त प्रणाली, अन्तरदेशिय प्रसारण प्रणाली कसरी विकास गर्ने भनेर धेरै काम भएको छ । यस्ता समस्या समाधान गर्न सरकारले आगामी दिनमा अझै सहजीकरण गर्दै जाने छ । ऊर्जा विकासका लागि नीतिगत रूपमा आवश्यक सहजीकरण गर्ने काम यो सरकारले गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ । इप्पानमा आबद्ध भएका, अन्य ऊर्जा उत्पादकले नेपाललाई ऊर्जा उत्पादनको क्षेत्रमा योगदान दिइरहनुभएको छ । उहाँहरूको योगदानको सराहना गर्नैपर्छ ।
आगामी दिनमा जलविद्युत् क्षेत्रमा लगानी अझै बढाउन, जलविद्युत् क्षेत्रबाट राष्ट्रको विकासमा भूमिका बढाउन इप्पानका सदस्य लगायत सबै एकजुट हुन आवश्यक छ । त्यो भूमिका अझै महत्वपूर्ण होस । ऊर्जा क्षेत्रमा विद्यमान समस्या, ती समस्याको समाधान गर्न, सरकारसँग निजी क्षेत्रको सम्बन्ध, समन्वय, सहजीकरण, समस्या र समाधानका लागि इप्पानको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा यो झनै महत्वपूर्ण हुँदै जानुपर्छ ।
( पौडेल नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री हुन्। उनको यो लेख इप्पानको प्रकाशन उर्जा समृद्धि रजत जयन्ती स्मारिका २०८१ बाट साभार गरिएको हो )