Saturday, May 9, 2026
spot_img

‘भारतले चाह्यो भने उसले नेपालको अर्थतन्त्रलाई माथि लैजान सक्छ’ (अन्तरवार्ता)

spot_img
spot_img

वर्षेनी निकासी कम हुँदै जाने र आयात बढ्दै जाने रोगले मुलुक परनिर्भरताको भुमरीमा परेको छ । यतिसम्म कि, आयातको एक तिहाई पनि निकासी छैन । गत आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड छ । आर्थिक वर्ष २०८०/०८१ मा (२०८० साउन १ देखि २०८१ असार मसान्तसम्म) कुल १७ खर्ब ४५ अर्ब ३६ करोडको वैदेशिक ब्यापार हुँदा आयात १५ खर्ब ९२ अर्ब ९८ करोडको छ भने नेपालबाट जम्मा १ खर्ब ५२ अर्ब ३८ करोडको मात्रै निर्यात भएको छ ।

आयात र निर्यात बीचको यो खाडल पछिल्ला वर्षहरुमा झन झन गहिरिँदो छ । उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नेगरि नेपालबाट कुनै पनि नयाँ वस्तुको निकासी बढ्न सकेको छैन । विगतकै हस्तकला र पश्मिना तथा गलैँचाले मात्रै निकासी धानिरहेका छन् । विगत २ वर्षदेखि विद्युत र सिमेन्टको निकासी सुरु भएपनि यी दूबै उत्पादनको बजार सिमित छ ।

यसै सन्दर्भमा बिजनेशपाना डटकमले नेपालबाट निकासी बढ्न नसक्नुको कारण, हामीले अख्तियारी गरिरहेको निर्यातसम्बन्धि नीति र नेपालले निर्यातमा फड्को मार्न सक्ने सम्भावनाबारे नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति नरेशलाल श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा नेपालबाट भइरहेको निर्यात डेढ खर्ब आसपासमा स्थिर देखिन्छ । निर्यात बढ्न नसक्नुको कारण के देख्नुहुन्छ ?

नेपालबाट निर्यात बढ्न नसक्नुमा पहिलो कारण भनेकै हामीले नयाँ नयाँ वस्तु थप गर्न सकेनौँ । थप्न मात्रै होइन, पहिचान नै गर्न सकेनौँ भन्ने लाग्छ । कार्पेट, पश्मिना, गलैँचा, हस्तकलामा सामानहरु मात्रै निर्यात भइरहेको छ, यी वस्तुहरु भनेका परम्परागत वस्तुहरु हुन् । यी वस्तुहरुको सिमित बजार छ । यी वस्तुहरु गतवर्ष ५ अर्बको निर्यात भयो भने यसपाली अब १० अर्बको निकासी हुन्छ भन्ने हुँदैन । यसपाली ५ अर्बको भयो भने अर्को वर्ष ६ अर्ब होला, फेरि तेस्रो वर्ष साढे ५ अर्बको मात्रै होला । यी यस्ता खालका वस्तुहरु हुन् ।

यसकारण अहिले भइरहेको परम्परागत वस्तुको निर्यातले मात्रै हाम्रो निर्यातको मात्रा बढ्दैन । नयाँ नयाँ वस्तुहरुको विकास र पहिचान गर्नुपर्छ । विश्व बजारमा माग भएका वस्तुहरुको पहिचान गर्न सके निकासी बढाउन सकिन्छ ।

अर्को कुरा, हामीले हाम्रा उत्पादनको बजार टाढा टाढा मात्रै हेर्नु हुँदैन । नयाँ वस्तु विकास गर्दा अमेरिका र युरोपलाई मात्रै हेरेर होइन कि भारतीय बजारलाई हेर्नु जरुरी छ । २ वर्ष अगाडी निर्यात बढेर २ खर्ब जति पुगिसकेको थियो, किनकी त्यतिबेला नेपालबाट भारतमा पाम आयल र भटमासको तेल बढी जान्थ्यो । नेपालबाट कुनै वस्तुको आयात बढ्नासाथ त्यसलाई सकेसम्म भारतमा रोकिन्छ । पाम आयल यसैको शिकार भयो । पाम आयल र भटमासको तेल निरन्तर भारतमा निकासी हुन्थ्यो भने नेपालको निर्यात ३ खर्ब पुगिसक्थ्यो, तर भारतले रोकिदियो ।

विगतमा प्लाइउडको पनि राम्रो निकासी भइरहेको थियो तर, यसलाई पनि भारतले रोक्यो । अलैँची, अदुवा, चिया लगायतका वस्तुमा पनि यस्तै भइरहेको छ ।

यसकारण भारतसँगको हाम्रो सम्बन्ध व्यवसायका लागि पनि जहिल्यै महत्वपूर्ण हुन्छ । भारतले चाह्यो भने नेपाललाई माथि लैजान सक्छ । यसको उदाहरण भुटान र बङ्गलादेश हुन् । भारतले उदारता देखाएकै कारण यी दुइ देशले अर्थतन्त्रमा निकै उपलब्धि हाँसिल गर्न सकेका हुन् । तर, नेपालको हकमा राजनीति झगडाको असर व्यवसायमा परिरहेको छ ।

यसर्थ, हामीले हाम्रो लागि ठूलो बजार भारत हो भनेर सोच्न जरुरी छ । अहिले भइरहेको निर्यातमध्ये पनि ६५/७० प्रतिशत बजार भारत नै हो । भारतसँग मित्रवत् व्यवहार गर्दै राजनीतिक मात्रै नभई व्यवसायिक कुटनीति पनि अपनाउने हो हामीलाई माथि जान सजिलो हुन्छ ।

अर्को कुरा, हामीले अमेरिकी र युरोपियन बजारलाई केन्द्रित गर्न पनि सक्ने अवस्था छ । यसका लागि नयाँ नयाँ उत्पादन दिन सक्नुपर्छ । जस्तोः अहिले नेपालबाट छुर्पीको निकासी राम्रो भइरहेको छ । ‘फेल्ट’ पनि नयाँ उत्पादन नै भयो । जडिबुटीको उत्पादन र एक तहको प्रशोधन गर्न सक्ने भनेपनि राम्रो सम्भावना छ । अझ सकेसम्म औषधि नै बनाएर निर्यात गर्दा यसमा ठूलो भ्यालू एड हुने देखिन्छ ।

कृषिमा पनि हामीले नयाँ नयाँ उत्पादन दिन सक्नुपर्छ । हामीसँग फलफूल खेतीको राम्रो सम्भावना भएकाले दुबई र त्यस क्षेत्रका देशमा नेपाली फलफूलको ठूलो बजार विस्तार गर्न सकिने देखिन्छ । पानीलाई पनि प्रशोधन गरेर निकासी गर्न सकिने अवस्था छ ।

डेढ वर्ष जति अगाडी विश्व बैंकका अर्थशास्त्री गोन्जालो भरेलाले आफूहरुले अध्ययन गर्दा अहिले नै नेपालले साढे ११ खर्बको निर्यात गर्न सक्ने देखिएपनि डेढ खर्बको मात्रै निर्यात गरिरहेको र १० खर्बको निर्यात हराइरहेको छ भनेका थिए । विश्व बैंकका अर्थशास्त्रीले भने जस्तो हाम्रो निर्यात हराइरहेको मान्न सकिन्छ ?

विश्व बैंकले नेपालको निर्यात सम्भाव्यताबारे अध्ययन नै गरेको सुनेको छु, तर मैले त्यो प्रतिवेदन हेर्न पाएको छैन । मलाई लाग्छ, विश्व बैंकले गरेको उक्त अध्ययनमा नेपालबाट कुन कुन वस्तु तथा सेवाको निर्यात सम्भावना छ भन्नेबारे पनि उल्लेख भएको होला ।

तर, नेपालको शत् प्रतिशत कच्चा पदार्थ प्रयोग हुने वस्तु अत्यन्त न्यून छ । हातेकागज, छुर्पी, चिया, अदुवा र कफी हो । अहिले सिमेन्टको निर्यात केही मात्रामा भइरहे पनि यसको कच्चापदार्थ कोइलाको आयात गर्नैपर्छ । कच्चा पदार्थमा पनि हामी भारतसँगै निर्भर छौँ ।

हामी कि खानीजन्य उत्पादनमा जानुपर्‍यो, खाडीका देशले पेट्रोल उत्खनन् गरे जस्तै । हाम्रोमा त ढुङ्गा गिट्टीको निकासी गर्ने भनियो भने चुरे पर्वत सिध्याउने भयो भनेर राजनीति भइहाल्छ ।

जडिबुटीको सम्भावना भएपनि त्यसको मात्रा ठूलो हुन सक्दैन । सिमित क्षेत्रमा उब्जनी हुने र त्यसको मात्रा पनि सिमित हुने भएकाले जडिबुटी निकासीबाट ब्यापार घाटामा ठूलो योगदान हुन्छ भन्ने खासै देखिँदैन । यसलाई त यहीँ प्रशोधन गर्ने, औषधि बनाउने बाटोमा जानुपर्छ । यसकारण नेपालको आफ्नै मौलिक कच्चापदार्थबाट हुने उत्पादन मैले चाहिँ देखिरहेको छैन । पहिलो कुरो नै हामीले यस्ता उत्पादनको विकास र पहिचान गर्नुपर्छ । यसका लागि नेपालमै कच्चापदार्थ उत्पादन गर्ने सरकारको नीति चाहिन्छ ।

गलैँचालाई, स्वीटरलाई चाहिने ऊन न्यूजिल्याण्डबाट आयात हुन्छ । नेपालमा पनि त्यस्तो उन उत्पादन गर्न सकिन्छ । हिमाली भेगमा त्यति धेरै जग्गा छ, त्यहाँ न्यूजिल्याण्डबाट भेडा ल्याएर पालन गर्ने हो भने त्यस्तै क्वालिटीको ऊन निकाल्न सकिन्छ । हाम्रो देशमा अहिले पालन गरिएका भेडाबाट उच्च गुणस्तरको ऊन निस्कँदैन । तिब्बती भेडाबाट पनि त्यति राम्रो ऊन आउँदैन । न्यूजिल्याण्डको भेडाबाट चाहिँ लामो लामो रेसायुक्त ऊन निस्कन्छ । यसकारण ऊनका लागि न्यूजिल्याण्ड प्रख्यात छ ।

मैले भन्ने खोजेको के हो भने, कुनै वस्तु १० अर्बको निकासी गर्दा त्यो वस्तु बनाउन चाहिने ५ अर्बको कच्चापदार्थ आयात भएको हुनु भएन । अहिले चीनको उत्पादन र निर्यात नीति हेर्ने हो भने उनीहरुले विश्व बजारमा पठाउने उत्पादनमा ९५ देखि शत् प्रतिशतसम्म कच्चापदार्थ आफ्नै प्रयोग गर्छन् । भारत पनि करिब करिब यस्तै भइसक्यो । यसकारण हामीले पनि स्वदेशमै कच्चापदार्थको उपलब्धता हुने गरि नीति बनाउन आवश्यक छ ।

यहाँले माथि नेपाली उत्पादनको निकासीका लागि भारतीय बजारलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो । यसलाई अलि स्पष्ट गर्दिनुहोस् न !

भारत जुनसुकै उत्पादनका लागि पनि आफैँमा ठूलो उत्पादक हो । क्वालिटीमा प्रतिस्पर्धा गर्ने हो, हामीले क्वान्टिटीमा भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । अर्को कुरा, भारतसँग हाम्रो सहज पहुँच छ । भारतसँग हामी नेपालीको ‘पिपुल टू पिपुल कनेक्शन’ छ ।

चीन पनि हाम्रो बजार त हो, तर चीनसँग सहज पहुँच छैन । यद्यपी बढाउँदै लैजाने कुरामा सरकार र व्यवसायी लाग्नुपर्ने कुरा त छँदैछ ।

अर्को कुरा, अलैँचीकै कुरा गर्दा पनि कुल निर्यातको ९५ प्रतिशत निर्यात भारतमा हुन्छ । बाँकी ५ प्रतिशत हिस्सा पाकिस्तान, बङ्गलादेश लगायतका देशमा बाँडिने हो ।

अहिले अलिअलि निर्यात भएर आशा जगाएको सिमेन्ट छ, त्यो पनि भारतमै गइरहेको छ । भारतभन्दा टाढा जान सक्ने सम्भावना पनि कम छ ।

यसकारण भारतको जुन ठूलो बजार छ, जसमा हामी भारतीय जनतासँग पनि जोडिएका छौँ, त्यसका लागि भारतलाई नै प्रमुख बजार मानेर हामीले उत्पादन गर्नुपर्छ । यसका लागि सरकारले पनि भारत सरकारसँग सौहार्दपूर्ण व्यवसायिक सम्बन्ध कायम गर्ने नीति लिनुपर्छ ।

चीनमा भइरहेको निर्यातको वास्तविक तथ्याङ्क आउँदैन भन्ने गरिन्छ । निकासीकै वास्तविक तथ्याङ्क नआएपछि त्यसबापत प्राप्त भएको भूक्तानी पनि रेकर्डमा नदेखिने होला । अझ हुण्डी जस्ता गैरकानुनी प्रणालीमार्फत कारोबार हुन्छ भन्ने पनि चर्चा छ । यो कत्तिको यथार्थ हो ?

यी विषय भन्सार विन्दुबाटै नियन्त्रण गर्नुपर्ने विषय हुन् । कुनै व्यवसायीले ५ हजार वर्ग मिटरको निर्यात गर्दा ५ सय भनेको छ भने त्यहीँबाट समात्नुपर्‍यो नि । जुन भ्यालू देखाएर निर्यात भइरहेको छ, त्यस अनुसार छ कि छैन वा बढी छ कि, घटी छ की भनेर हेर्न बसेका निकायहरुले हेर्नुपर्छ । मुख्य कुरा के हो भने भ्यालू अनुसारको भूक्तानी नेपालमा आएको देखिनु पनि पर्‍यो ।

उत्तरतिरका जति पनि नाकाहरु छन्, ति नाकाहरुबाटै तस्करी र दुइ नम्बरी काम भइरहेको छ । यो हेर्ने काम सरकारको, भन्सार विभागको हो ।

अर्को कुरा के छ भने, ‘बार्टर सिस्टम’ गरेको पनि सुनिन्छ । नेपाली सामान चीन जाँदा त्यसको पैसा उतै बस्छ भन्ने पनि कुरा आएका छन् । हुण्डिबाट भूक्तानी भइरहेको छ भने त्यसलाई रोक्न सरकारले नै कडाई गर्नुपर्छ । भूक्तानीमा असहज छ, त्यसको सम्बोधन राष्ट्र बैंक, अर्थ मन्त्रालय मिलेर गर्नुपर्ने अवस्था छ । तर, साँच्चै भन्ने हो भने अहिले उत्तर तिरको व्यापार पारदर्शी चाहिँ छैन ।

युरोपमा सामान पठाउँदा यति पारदर्शी छ कि, १ डलर पनि तलमाथि हुँदैन । १ लाख डलरको अर्डर लिएर ९९ हजार डलरको मात्रै सामान पठाइयो भने पनि तुरुन्तै कारबाही हुन्छ । युरोपतिर यसरी नियन्त्रण गर्ने मेकानिजम छ, तर नेपाल र चीनको हकमा यस्तो छैन ।

चीनबाट भूक्तानी लिन पेमेन्टको समस्या छ भन्ने व्यवसायीको गुनासो छ । यो समस्याले पनि व्यवसाय पारदर्शी हुन नसकेको हो कि ?

‘क्रस बोर्डर पेमेन्ट’मा तुलनात्मक रुपमा उत्तरतिर समस्या छ । व्यवसायीहरुले यसकारण पनि समस्या झेल्नु परेको छ । मैले सुनेसम्म छ, चिनियाँ व्यवसायीहरु ठमेलमा बसेर ‘वी च्याट’बाट पेमेन्ट पनि लिने, पेमेन्ट पनि गर्ने गर्छन् भन्ने छ । वी च्याटसँग नेपालका बैंकहरु लिङ्क भएका त हुँदैनन् होला । तर, यो कसरी भइरहेको छ ? साँच्चै भइरहेको हो भने सरकारलाई नै घाटा होला । यसतर्फ पनि सरकारी निकायले ध्यान दिन जरुरी छ ।

पमेन्टको सम्बन्धमा नेपाली व्यवसायीहरुले समस्या भोगिरहेको यथार्य हो । यसका लागि परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक, दूबै देशका दूतावास को को बस्नुपर्ने हो, बसेर छलफल गरेर सरल माध्यम बनाउन जरुरी छ ।

पेमेन्टमा मात्रै नभई भन्सार विन्दुमा नेपाल पक्षको भन्दा चिनियाँ पक्षको लापरबाही बढी छ । यो पनि कन्ट्रोल गर्नु आवश्यक छ । कसरी लापरबाही छ भन्दा, उदाहरणका लागि १ करोडको सामान चिनियाँ भन्सारले ५ लाख, १० लाखमा छोडिदिन्छ । बाँकी पैसा उताको पार्टीले त छोड्दैन, त्यस्तो पैसा हुण्डिबाट भूक्तानी भएको हुन सक्छ । १ करोडको सामानको मूल्याङ्कन १० लाख गरेर भन्सारबाट छुट्दा सरकारले पनि राजस्व गुमायो ।

यसकारण उत्तरतर्फको व्यापारलाई पारदर्शी बनाउन आवश्यक छ । यसका लागि वाणिज्य मन्त्रालय, भन्सार विभाग लगायतका जुन जुन निकाय जोडिने हुन्, तिनले आवश्यक छलफल गरेर प्रष्ट मेकानिजम् नबनाएसम्म वास्तविक तथ्याङ्क आउँदैन ।

अन्तिममा, विदेशी मुद्रा आर्जनमा निकासीको योगदान कमजोर बन्दै गएको छ । तर, अहिले जुन जुन स्रोतबाट डलर आइरहेको छ, त्यो स्रोत दीगो नहुन सक्छ भनेर विभिन्न एजेन्सीहरुले चेतावनी पनि दिइरहेका छन् । यस्तो अवस्थामा निकासी बढाउन कस्तो खालको नीति चाहिने देख्नुहुन्छ ?

विदेशी मुद्रा आर्जनका लागि दीगो र बलियो स्रोत भनेकै निर्यात र पर्यटन हो । अहिले देशमा पसिना बगाएर उत्पादन बढाउँदै त्यस्तो उत्पादन निकासी गर्नुपर्ने युवाहरु विदेशमा पसिना बगाइरहेका छन् । उनीहरुबाट आएको रेमिट्यान्स देखेर सरकार खुशी भएर बसेको छ । तर, रेमिट्यान्स विदेशी मुद्रा आर्जनको दीगो स्रोत होइन, जुनसुकै बेला श्रम गन्तव्य मुलुकले विदेशी कामदार नलिने भनिदिन सक्छन् । मैले बारम्बार यो कुरा उठाउँदै आएको छु ।

केही समय अगाडीकै अवस्था हेर्दा पनि छर्लङ्ग हुन्छ । इजरायलबाट रातारात नेपालीहरु फर्किनुपर्छ भनेर कसैले सोचेको थिएन, तर अवस्था त्यस्तै आइपर्‍यो । केही दिन अगाडी मात्रै बङ्गलादेशबाट पनि रातारात सयौँ विद्यार्थीहरु फर्किनुपर्‍यो । मध्यपूर्वमा पनि तनावको स्थिति बढ्दै छ । भोली त्यहाँ पनि इजरायल र बङ्गलादेशबाट जस्तै रातारात मान्छे फर्काउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।

दोस्रो कुरा, मध्यपूर्वको भौतिक विकास चरम विन्दुमा पुगिसकेको छ । भौतिक संरचना निर्माणमा काम गर्नेगरि जति पनि नेपालीहरु खाडीका देशमा पुगेका छन्, उनीहरुलाई त्यहाँको सरकारले जुनसुकै बेला पनि फर्कादिन सक्छ । कतारले विश्वकप खेलाउनका लागि स्टेडियम र अन्य पूर्वाधार बनाउन लाखौँ नेपाली कन्ट्रक्शनमा लग्यो, विश्वकप सकिएपछि त्यो क्रम घट्यो । अन्य देशमा पनि क्रमशः घट्दै छ ।

यसकारणले गर्दा जुनै पनि बेला रेमिट्यान्स घट्न सक्छ । यसतर्फ सचेत भएर हामीले निर्यात बढाउने कुरामै बढी केन्द्रित भएर नीति बनाउनुपर्छ । नयाँ नयाँ वस्तुको पहिचान गर्ने र तिनको बजारीकरण गर्ने काममा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।

साथै, विदेशी मुद्रा आर्जनको अर्को स्रोत पर्यटन पनि भएकाले पर्यटन पूर्वाधारको विकास र नयाँ नयाँ गन्तव्यको पहिचान गर्नुपर्छ । हामीले संख्या भन्दा पनि ‘क्वालिटी टुरिजम’मा फड्को मार्न जरुरी छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img