संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ । २०७२ सालमा संविधान जारी भएपछि २०७४ र २०७९ मा निर्वाचन भएको थियो । हरेक पाँच पाँच वर्षमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएपनि भदौ २३ र २४ को जेन् जी आन्दोलन पश्चात संसद विघटन भएकाले अन्तरिम सरकारले २०८२ फागुन २१ मा निर्वाचनको मिति तोकेको थियो । यस अनुसार आज चुनाव हुन लागेको हो ।
यसपालीको निर्वाचनमा फागुन २० गते (बुधबार) सम्म १८ वर्ष पूरा भएका १ करोड ८५ लाख ३ हजार ६८९ जना मतदाताले भाग लिँदैछन् । यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ जना छन् भने महिला मतदाता ९२ लाख ४० हजार १३१ रहेका जना छन् । २ सय जना अन्य मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार देशभरि ३ हजार ४८६ उम्मेदवार छन् । ३ हजार ४८७ जना उम्मेदवार रहेकोमा मंगलबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका किशोरी साह (कमल)को उम्मेदवारी खारेज भएको छ । ३ हजार ४८६ उम्मेदवारमध्ये २ हजार ५ सय ८८ पुरुष उम्मेदवार छन् भने ३९१ जना महिला उम्मेदवार छन् । चुनावमा ६८ वटा राजनीतिक दलहरुले उम्मेदवार उठाएका छन् ।
२०७४ को चुनावलाई फर्केर हेर्दा
२०७० सालसम्म संविधानसभा निर्वाचन हुँदा मुलुकमा ६०१ सांसद थिए । २०७२ सालमा बनेको संविधानमा सांसद संख्या २७५ कायम गरियो । यसमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचनमार्फत र ११० सिट समानुपातिक प्रणालीमार्फत चयन हुने प्रावधान राखियो । संविधान जारी भएपछि २०७४ सालमा पहिलो आम निर्वाचन भयो ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबीच वाम गठबन्धन भएको थियो । चुनाव पश्चात पार्टी नै एकिकरण गर्ने भनेर दुइ दलले चुनावी गठबन्धन गरेका थिए । जसमा नेकपा एमालेले प्रत्यक्षमा १०३ क्षेत्रमा उम्मेदवार उठाउँदा ८० र माओवादी केन्द्रले ५९ क्षेत्रमा उम्मेदवार उठाउँदा ३६ सिट जितेका थिए । कांग्रेस २३ सिटमा खुम्चिएको थियो भने अन्य दलले २६ सिट ल्याएका थिए ।
समानुपातिक तर्फ पनि ३१ लाख ७३ हजार ४९४ मतसहित एमाले पहिलो दल बन्यो । उसले समानुपातिक प्रणाली अन्तर्गत ४१ सांसद पायो । दोस्रो भएको कांग्रेसले समानुपातिक तर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याउँदा ४० जना सांसद पायो ।
तेस्रो भएको तत्कालिन माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत ल्याएर १७ जना सांसद पाउँदा ४ लाख ७२ हजार २५४ मत ल्याएको संघीय समाजवादी फोरमले ६ जना र राष्ट्रिय जनता पार्टी (राजपा)ले ४ लाख ७० हजार २०१ मत पाउँदै ६ जना नै सांसद पाएको थियो ।
निर्वाचन पश्चात एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो । एकता पश्चातको नेकपासँग मात्रै संसदमा प्रत्यक्ष र समानुपातिक गरी कुल १७४ जना सांसद भए । जबकी, सरकार बनाउन जम्मा १३८ सांसद भए पुग्थ्यो । यसरी २०७४ को निर्वाचन पश्चात संसदमा तुई तिहाई सांसदको समर्थनसहित केपी ओली प्रधानमन्त्री बने ।
नेकपाको किचलो र २०७९ को निर्वाचन
२०७४ सालको निर्वाचन पश्चात सत्ताको नेतृत्व नेकपाले गरिरहेको थियो । तर, पार्टीभित्र आन्तरिक किचलो चुलिँदा तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद नै विघटनसम्म गरे । यद्यपी, अदालतले विघटन बदर गरिदियो । यति मात्रै होइन, नेकपाको आधिकारिकता सम्बन्धि विवादमा पनि अदालतले ऋषी कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गर्दै एमाले र माओवादीको एकता नै बदर गरिदियो ।
त्यसपछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए । माओवादी र एमालेको एउटा पक्षको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । पछि एमालेको उक्त समूहले पार्टी विभाजन गरेर माधब नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी नामक दल गठन गर्यो ।
२०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन भयो । यो निर्वाचन संविधान जारी पश्चात भएको दोस्रो आम निर्वाचन थियो ।
यस निर्वाचनबाट कांग्रेस ठूलो दल बन्यो । उसले प्रत्यक्षतर्फ ५७ सिट जित्दा एमाले ४५ सिटमा सिमित भयो । कांग्रेससँग गठबन्धन गरेको माओवादीले १८ र नेकपा एकिकृत समाजवादीले १० सिट मात्रै जिते । बरु, भर्खरै गठन भएर पहिलोपटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षमा ९ सिट जितेर संसदीय राजनीतिमा उदायो ।
यीबाहेक जनता समाजवादी पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदूर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक एक सिट जिते । स्वतन्त्र उम्मेदवारी दिएका ५ जना निर्वाचित भए ।
समानुपातिकतर्फ २७ लाख ९१ हजार मतसहित एमाले पहिलो दल बन्यो । उसले ३४ जना सांसद पायो । २६ लाख ६६ हजार मतसहित दोस्रो भएको कांग्रेसले ३२ सांसद पाएको थियो । ११ लाख ६२ हजार भोट ल्याएको माओवादीले १४ जना र ११ लाख २४ हजार मत पाएको रास्वपाले १३ जना सांसद समानुपातिक तर्फबाट पाएका थिए ।
५ लाख ८६ हजार मत ल्याएको राप्रपाले ७ सांसद, ४ लाख २० हजार मत पाएको जसपाले ५ सांसद र ३ लाख ९४ हजार मत ल्याएको जनमतले समानुपातिकबाट ५ सांसद पाएको थियो । तर, २ लाख ९४ हजार मत पाएर पनि ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्न सकेन र उसले समानुपातिकबाट १ जना पनि सांसद बनाउन पाएन ।
नयाँ जनमतका लागि मतदान
२०७९ को निर्वाचन पश्चात प्रचण्ड र ओली प्रधानमन्त्री भए । संसदका दुइ ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेका बेला जेन् जी आन्दोलन भयो । उक्त आन्दोलनले सरकार मात्रै ढालेन, संसद विघटन भएर नयाँ निर्वाचनसम्मको अवस्था ल्याइदियो ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (माओवादी र एकिकृत समाजवादीसहित विभिन्न घटकबीच एकता भएर बनेको), राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई मुख्य प्रतिस्पर्धी दलका रुपमा उभ्याएका छन् । रास्वपा दोस्रो पटक चुनावी मैदानमा छ भने उसले यसैपटक एकल बहुमत ल्याउने दाबी गरिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) पनि मैदानमा छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टी लगायतका दलहरु पहिलोपटक निर्वाचनमा सहभागी भएका छन् ।
यीमध्ये नेपाली कांग्रेसले सभापति गगन कुमार थापा, नेकपा एमालेले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गरिरहँदा र ओली र बालेन भने झापा ५ मा भिडिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने रूकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।









