लोकप्रिय तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको फ्याक्ट्रीलाई नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको हो ।
वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको छ । श्रमिकको व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा स्थानान्तरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको उनको भनाइ छ ।
सन् १९८४ मा स्थापना भएको भैसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो । स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो । ‘समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौं’ पुडासैनीले भने ।
साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनी प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएको र यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ ।
फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ । ‘सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो’ पुडासैनीले थपे ।
नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ । नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा अझ मजबूतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।













