दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रदमा आवेदन दिने आज वैशाख १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले आवेदन दिन छुटेकालाई अन्तिम मौका भन्दै वैशाख १२ गतेदेखि ३ दिनको लागि हकप्रद बिक्री खुला गरेको थियो। सोहि अनुसार कम्पनीको हकप्रदमा आवेदन दिने आज वैशाख १४ गते अन्तिम दिन हो।
कम्पनीले यस अघि चैत्र १९ देखि वैशाख ८ गतेसम्म बिक्री खुला गरेको थियो । कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीको हकप्रद सेयर व्यवस्थापनमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीको हकप्रदमा सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकका तोकिएको शाखाबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।













