चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले ४ अर्ब ५४ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ अर्ब २७ करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड कायम भएको छ। बैंकको नेट फि तथा शुल्कको आम्दानी ३३.२४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड पुगेको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब ११ करोडमा सीमित भएको छ। यसै कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो ।
यस अवाधिमा बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक १ अर्ब १० करोड रहेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७.७४ रुपैयाँ र प्रति शेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जा भने १.१२ प्रतिशतबाट बढेर १.५३ प्रतिशत पुगेको छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।












