२०८३ वैशाख ७ गतेदेखि शेयरबजारमा विभिन्न नयाँ नियम लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले सर्किट ब्रेक र शेयर मूल्य परिवर्तन सीमा परिवर्तन गर्न लागेको हो भने पुँजीबजारको इतिहास मै पहिलो पटक आफ्टर मार्केट अर्डरको व्यवस्था गरिएको छ ।
यी व्यवस्था परिमार्जनको लागि नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधनको प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । धितोपत्र बोर्डको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्ने प्रस्ताव स्वीकृत दिएको थियो । नेप्सेको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वैशाख ७ गतेदेखि यी व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
पहिलो पटक आफ्टर मार्केट अर्डर
संशोधित विनियमावली अनुसार नेपालको पुँजीबजारमा पहिलो पटक अफ्तर मार्केट अर्डरको व्यवस्था गरिँदैछ । यो भनेको नियमित बजार समयभन्दा बाहिर पनि शेयर खरिद बिक्रीको लागि अर्डर हाल्न सकिने व्यवस्था हो । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षणको व्यवस्था छ । साथै विदेशमा रहेका अन्य नेपालीहरुले पनि शेयर कारोबार गर्दै आएका छन् । नेपालमा ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदा उनीहरु रहेको देशको समयसँग नमिल्न सक्थ्यो । अब भने ११ बजेदेखि ३ बजेको समयभन्दा बाहिरको समयमा पनि अर्थात् २४ सै घण्टा शेयर खरिद बिक्रीको लागि अर्डर राख्न सकिने छ । यस्तो व्यवस्थाले विदेशमा रहेका नेपाली र नेपालमै रहेकाले पनि आफ्नो अनुकुल समयमा शेयर खरिद बिक्रीको लागि अर्डर हाल्न सक्ने छन् । तर यो सुविधाको लागि ब्रोकरले पनि आफ्नो कारोबार व्यवस्थापन प्रणालीमा व्यवस्था गर्नु पर्ने छ । जति छिटो ब्रोकरले यो व्यवस्था गर्नेछन् लगानीकर्ताले त्यति छिटो नै सुविधा पाउने छन् । अहिले नै यो व्यवस्था गरिसकेका ब्रोकरमार्फत भने सोमबारदेखि नै २४ सै घण्टा अर्डर राख्न सकिने छ।
शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने
त्यस्तै अब सोमबारदेखि एक दिनमा कुनै एउटा शेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ। नियमित कारोबार समयमा अहिले शेयर मूल्य अधिकतम १० प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ। अब भने त्यसलाई बढाएर नियमित समयमा १५ प्रतिशतसम्म शेयर मूल्य घटबढ हुन सक्ने व्यवस्था गरिन लागेको हो ।
प्रत्येक कारोबारमा शेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने
अब सोमबारदेखि नियमित समयमा हुने प्रत्येक कारोबारमा शेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने छ । यस अघि २ प्रतिशत घटबढ हुन सक्ने गरि अर्डर हाल्न पाउने तथा सोहि बमोजिम घटबढ हुन सक्ने व्यवस्था थियो। अब भने सो २ प्रतिशतको सीमालाई बढाएर ३ प्रतिशत कायम गर्न लागिएको हो ।
प्रि ओपनमा शेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने
अब प्रि ओपन सेसनमा शेयर मूल्य ५ प्रतिशतले घटबढ हुन पाउने छ । हाल प्रि ओपन सेसनमा शेयर मूल्य २ प्रतिशत मात्र घटबढ हुन सक्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ५ प्रतिशत कायम गर्न लागिएको हो । प्रि ओपन सेसन बिहान १०:३० देखि १०:४५ बजेसम्म संचालन हुने गर्दछ ।
समग्र बजार ८ प्रतिशतसम्म घटबढ हुन पाउने
अब सोमबारदेखि समग्र बजारमा लाग्ने सर्किट ब्रेकको नियम पनि परिवर्तन हुँदैछ। हाल समग्र बजारमा ४ प्रतिशतको परिवर्तन भएमा पहिलो, ५ प्रतिशतको परिवर्तन भएमा दोस्रो र ६ प्रतिशतको परिवर्तन भएमा तेस्रो तथा सर्किट ब्रेक लाग्दै आएको छ। अब भने बजारमा दुई वटा मात्र सर्किट ब्रेकको सीमा रहने छ। अब बजारमा ५ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक लाग्ने छ र १५ मिनेटको लागि कारोबार स्थगित हुने छ। त्यसपछि बजार ८ प्रतिशत घटबढ भएमा दोस्रो तथा अन्तिम सर्किट ब्रेक लाग्ने छ, र सो दिनको लागि सम्पूर्ण कारोबार स्थगित हुने छ।
नेप्सेले यी व्यवस्था वैशाख ७ गते सोमबारदेखि लागू हुने गरि मिति तोकेको हो। यी व्यवस्था लागु हुँदा बजारमा नयाँ आयाम थपिने, तथा नयाँ उर्जाको साथै बजारप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ।













