नयाँ सरकार गठन भएपछि शेयरबजार निरन्तर ओरालो लागेको छ। सरकार गठन भएको ४ दिनको अवधिमा बजार १७३ अंकले घटेको छ। कारोबार भएको ४ दिन मध्ये ३ दिन सूचक घटेको छ।
निरन्तर बजार घटेपछि शेयर लगानीकर्ता प्यानिक हुन थालेका छन्। कतिपय लगानीकर्ताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई फोन, म्यासेन्जर र व्हाट्सएपमा म्यासेज गरेर तत्काल पुँजीबजारको लागि सुधार योजना सार्वजनिक गर्न माग गरेका छन्।
किन घट्यो बजार ?
विभिन्न शेयर ब्रोकर र लगानीकर्ताहरुका अनुसार बजार घट्नुको मुख्य कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको दीपक भट्टसँग सम्बन्धित छानबिन प्रक्रियाले गर्दा हो। चुनावी सरकारका अर्थमन्त्री रहेका रामेश्वर खनाल नै विभागलाई नै यसबारे अनुसन्धान गर्न भनेका थिए । अबको केही दिनमा यो अनुसन्धान टुंगिने बताईएको छ।
भट्ट हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न कम्पनीमा शेयरधनी छन् । विभागको प्रारम्भिक अनुसन्धानबाट भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ। विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख, र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ । उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत शेयर खरिद गरि भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
भट्टले यसो गर्दा बीमा व्यवसाय संचालनका क्रममा कुनै अनिमियता वा आर्थिक दुरुपयोग भए नभएकोबारे छानबिन गर्न नेपाल बीमा प्राधिकरणलाई पनि अनुरोध गरेको थियो। प्राधिकरणले सो बारेको प्रतिवेदन विभागमा पठाईसकेको छ। त्यसमा पनि केही कैफियत देखिएको स्रोतको भनाई छ।
यस प्रकरणमा बजारमा सूचीकृत रही उच्च पुँजीकरण भएका दुई वटै पुनर्बीमा कम्पनी जोडिएको, बजारमा सूचीकृत रहेको हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको साथै विभिन्न कम्पनीको शेयर खरिद गरेको एचएलआई लार्ज क्याप फण्ड पनि जोडिएकोले समग्र बजार नै त्रसित भएको ब्रोकरहरु बताउछन् ।
भट्टले झैँ अन्यले पनि यसरी कार्य गरेको हुन सक्ने, र ब्रोकर नम्बर ५५ बाहेक अन्य ब्रोकरहरुपनि यस अनुसन्धानमा तानिन सक्ने देखिएकोले त्रास बढेको बताईएको छ। अनुसन्धानको क्रममा माथि उल्लेखित सबै कम्पनीका सीईओ पनि तानिन सक्ने आँकलन गरिएको छ। एचएलआई लार्ज क्याप फण्डलाई नेपाल धितोपत्र बोर्डले २ हप्ता मै संचालनको लागि स्वीकृति दिएको थियो । फण्डको अनुसन्धान गर्दै जाँदा नेपाल धितोपत्र बोर्डका अध्यक्ष र उच्च पदस्थ कर्मचारीहरु पनि अनुसन्धानको दायरामा आउँन सक्ने स्रोत बताउछ । यस समूहले शेयर बजारमा ठूलो लगानी गरेको र यस समूहमा समस्या आउँदा समग्र बजार नै प्रभावित हुन सक्ने देखिएको छ। यसै कारण बजारमा निरन्तर गिरावट देखिएको ब्रोकरहरु बताउछन् । यस्ता गतिविधि खोज्दै गए धेरै भेटिने र त्यसले बजारलाई असर गर्ने ब्रोकरहरुको बुझाई छ ।
यहि विषयलाई देखाएर बजार घटाउनको लागि गिरोह नै सक्रिय भएको चर्चा पनि बजारमा छ। बजार २४/२५ सयमा आउछ भन्दै केही समूहले ब्रोकर हाउस मै पुगेर लगानीकर्तालाई त्रसित बनाउने गरेको, तथा सामाजिक संजालमा लेख्नेदेखि म्यासेज समेत पठाउने गरेको पनि देखिएको एक लगानीकर्ता बताउछन्। सरकारलाई असफल देखाउन र सस्तो दाममा शेयर उठाउन यस समूहले चाहेको बताईएको छ। यसले पनि लगानीकर्ता त्रसित भएर शेयर बिक्रीको क्रम बढेको उनको भनाई छ ।
यस बाहेक चैत्र मसान्तको लागि कर तिर्नु पर्ने दबाब र मार्जिन कलको दबाबले पनि बजारको गिरावटमा केही भूमिका खेलेपनि मुख्य कारण भने सम्पत्ति शुद्धीकरण समबन्धि अनुसन्धान नै रहेको बजार जानकारहरु बताउछन्।
एक मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अहिले बजारमा प्यानिक सेल देखिएको र यो छोटो समयको लागि मात्र हुने बताउछन् । उनका अनुसार बजारमा ट्रेडर हाबी हुँदा बजारमा धेरै गिरावट आएको हो। दिर्घकालिन लगानी गरेकाहरुलाई अहिलेको परिस्थितिले समस्या नपरेको उनको भनाई छ। केही दिनमै बजारले आफ्नो लय समात्ने उनको विश्वास छ। शेयर लगानीकर्ताले चाहे जस्तै स्थिर सरकार आएको, विज्ञ अर्थमन्त्री नियुक्त भएको, र रास्वपाले आफ्नो वाचापत्रमा समेत बजार सुधारका धेरै विषय समावेश गरेकोले बजार बढ्दो ट्रेण्डमा फर्कने उनको भनाई छ।
सम्पति शुद्धीकरणको हाउगुजीले घटायो बजार : अध्यक्ष ढकाल
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल पनि सम्पति शुद्धीकरणको हाउगुजीको कारण बजारमा त्रास देखिएको बताउछन् । सम्पति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान वा छानबिन गर्दैमा डराउनु नपर्ने उनको भनाई छ। शेयरबजारमा कारोबार गर्दा सबै कारोबार बैंकिंग प्रणाली मार्फत कारोबार हुने, सबै कारोबारको निगरानी हुने भएकोले बजारमा कारोबारको लागि प्रयोग भएको पैसा ब्ल्याक मनि हुनै नसक्ने उनी दाबी गर्छन् ।
लगानीकर्ताले चाहेजस्तै स्थिर सरकार बनेको, अर्थतन्त्र बुझेको विज्ञ अर्थमन्त्री रहेको, सरकारले विभिन्न सुधारको कार्य सुरु गरिसकेको, आगामी दिनमा अर्थतन्त्र चलायमान हुने गरि बजेट निर्माण सुरु भईसकेकोले आगामी दिनमा बजार बढ्ने उनको भनाई छ ।
यद्यपि अहिले लगानीकर्ता त्रासमा रहेकोले सरकार र अर्थमन्त्रीले अहिले आएको सम्पति शुद्धीकरणबारेको विषय प्रष्ट पार्नु पर्ने र अर्थमन्त्रीले पुँजीबजार सुधारको लागि आफ्नो योजना तत्काल सार्वजनिक गर्नु पर्ने उनी बताउछन्।












