रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको थियो, सोहि आईपीओ आज बाँडफाँड भएको हो ।
कम्पनीले आयोजना प्रभावित गोरखा तथा लमजुङका स्थानीयलाई पुस २८ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस निष्काशनमा ४ हजार ६९ जनाको आवेदन परेको थियो। जस मध्ये ४ हजार ४३ जनाको मात्र आवेदन योग्य भएको छ। सबै आवेदकले शेयर पाएका छन् । १० कित्तादेखि ५५० कित्ता शेयर माग गरेर आवेदन दिनेले मागे जति शेयर पाएका छन् । ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५९० कित्ता शेयर पाएका छन् । ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ, जुन ५५३ जनाले पाएका छन् । यस हिसाबमा स्थानीय तर्फ लगानीकर्ताले अधिकतम ६०० कित्तासम्म शेयर पाएका छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएका थिए। जस मध्ये ७० हजार ७ सय ७८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १४ हजार २ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
दुवै समूहको आईपीओ नतिजा केही समयपछि प्रकाशन हुने छ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएसंगै अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।
यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।
कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।









