सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज सोमबार दिउँसो शेयर बाँडफाँड गरेको हो।
कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ लाख ३६ जनाले आवेदन दिएका थिए । जस मध्ये २४ लाख ७१ हजार ७ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ८ लाख २० हजार जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् । अन्य आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ ।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।









