रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस १३ गतेदेखि गोरखा तथा लमजुङका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो।
कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।
यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।
कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २० लाख कित्ता शेयर लगानी रहेको छ ।









