दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज बिहीबार बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस आईपीओमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको मात्र आवेदन योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन हुने छ ।
जसमा २ लाख ४२ हजार ३ सय १८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । अन्य सबै आवेदक हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।









