नेपाल धितोपत्र बोर्डले केही हाइड्रो कम्पनीहरुलाई आइपीओ निष्काशनको अनुमति दिने तयारी गरेको छ । लामो समयदेखि नियमित रुपमा हाइड्रोको आईपीओ नआएको गुनासो बढेपछि बोर्डले अब केही कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने तयारी गरेको हो ।
त्यसको लागि धितोपत्र बोर्डले वैशाख १५ गते बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै आईपीओ निष्काशन अनुमति माग गरेका कम्पनीहरुको पछिल्लो विवरण अपडेट गराउन भनेको छ । सबैभन्दा पहिले अनुमति माग गरेका कम्पनीहरुका बिक्री प्रबन्धकहरुलाई धितोपत्र बोर्डले सो पत्र पठाएको हो ।
पत्रमा के के मागिएको छ ?
२०८०/०८१ को साधारणसभा सम्पन्न भएको विवरण र सभाको निर्णय
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
लेखापरीक्षक र व्यवस्थापकबाट प्रमाणित भएको पछिल्लो त्रैमासको अर्थात् २०८१ चैत्र सम्मको वित्तीय विवरण
२०८१ चैत्र सम्मको वित्तीय विवरणको आधारमा गरिएको प्रक्षेपित वित्तीय विवरण
पछिल्लो लेखापरीक्षण भएको विवरण अनुसारको प्रति शेयर नेटवर्थ र प्रति शेयर आम्दानीको विवरण
सम्पतिको पुनर्मूल्यांकन बाहेक पछिल्लो त्रैमासको नेटवर्थको विवरण
धितोपत्र बोर्डले बिक्री प्रबन्धकलाई पठाएको पत्रको बोधार्थ सम्बन्धित कम्पनीहरुलाई पनि दिईएको छ । अब बिक्री प्रबन्धकहरुले सम्बन्धित कम्पनीहरुबाट यी विवरण मगाएर धितोपत्र बोर्डमा पठाउने छन् । कतिपयले बोर्डले मागेका विवरण पठाउन पनि थालिसकेका छन् । सबै विवरण प्राप्त भएपछि योग्य देखिएका केही कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने बोर्डको तयारी छ।
धितोपत्र बोर्ड स्रोतका अनुसार यस पटक बिक्री प्रबन्धकहरुलाई थप जिम्मेवार बनाएर कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिईने छ। अहिले पनि बिक्री प्रबन्धकहरुले विवरण पत्रमा उल्लेखित विवरणहरु तथ्यपरक, पूर्ण र सहि भएको भन्दै प्रतिवद्दता पत्र अर्थात् ‘ड्यु डेलिजेन्स सर्टिफिकेट’मा हस्ताक्षर गर्दै आएका छन् । जसमा उनीहरुले आईपीओ निष्काशनको अनुमति पाएको कम्पनी आईपीओ निष्काशनको लागि योग्य रहेको र शेयरबजारमा सूचीकरणको लागि योग्य रहेको भनेर हस्ताक्षर गर्ने गरेका छन् ।
अब भने बोर्डले त्यति मात्र नभएर बिक्री प्रबन्धकहरुलाई थप निर्देशन दिन सक्ने वा थप प्रतिवद्दता गर्न लगाउन सक्ने बोर्ड स्रोतको भनाई छ । तर, बिक्री प्रबन्धकहरु विवरणपत्रमा राखिने सबै विवरण कम्पनीबाट नै लिइने भएकोले सबै विवरण शतप्रतिशत सहि नै छ भन्ने ग्यारेन्टी गर्न नसकिने बताउँछन्।
अहिले पनि बिक्री प्रबन्धकहरुले नै प्रतिवद्दता पत्रमा हस्ताक्षर गर्ने गरेकोले धितोपत्र बोर्डबाट थप कस्तो निर्देशन आउने हो, सोहि अनुसार अगाडी बढ्ने एक बिक्री प्रबन्धकका प्रतिनिधिले बताएका छन् ।









