नेपाल एसबिआई बैंकले आज असार ३० गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री खुला गरेको हो ।
बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरमा ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि, सो अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएमा साउन १२ गतेसम्म आवेदन अवधि लम्बिनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।









