एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रदमा अवितरित शेयर माघ २० गतेदेखि लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रदमा अवितरित सस्न्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर गरि कुल ३ लाख २० हजार ५ सय ३३ दशमलव २२ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलामी प्रक्रियाको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ता र सर्वसाधारण शेयरको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा आवेदन दिनको लागि नेपाल बीमा प्राधिकरणले संस्थापक शेयरधनी हुनको लागि योग्य रहेको कागजात पेश गर्नु पर्ने छ।
काठमाडौँ भित्र लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको विराटनगर, बिरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले मङ्सिर ११ गतेदेखि पुस १६ गतेसम्म हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा ६२.५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ९३ लाख १० हजार ६ सय ८७ कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । अब बिक्री नभएको शेयर लिलाममा आएको हो।













