पछिल्लो समय बीमा कम्पनीहरुले विस्तार गरेका शाखा बन्द हुने क्रम बढिरहेको छ । खासगरि कम जनघनत्व भएका पहाडी जिल्लाका सदरमुकाममै भएका शाखासमेत बन्द हुने क्रम बढिरहेको छ । बीमा कम्पनीहरुले मर्जर तथा प्राप्तीका कारण शाखा संख्या कम हुन थालेको बताएपनि शाखा बन्द हुनुमा व्यवसायमा आएको गिरावट नै मुख्य कारण भएको बताइन्छ ।
रामेछापको मन्थलीमा ७ वटा निर्जीवन बीमा कम्पनीका शाखा थिए । यसमध्ये नेको इन्स्योरेन्सले मन्थलीको शाखा हटाइसकेको छ । यसअघि युनाइटेड अजोड इन्स्योरेन्सले पनि मन्थलीमा उपशाखा (सम्पर्क व्यक्ति)मार्फत निर्जीवन बीमा सेवा दिँदै आएकोमा अहिले कम्पनीले मन्थलीबाट सेवा दिन छोडिसकेको छ ।
अब आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्सले पनि मंसिरबाट मन्थली शाखा हटाउँदैछ । १२ सय हाराहारी ग्राहक भएको मन्थली शाखाको काम दोलखाको चरिकोट शाखामार्फत गराउने गरि कम्पनीले त्यहाँको शाखा हटाउन लागेको बताइएको छ । उपशाखा रहने कि नरहने भन्ने पनि प्रष्ट छैन । अब मन्थली शाखामार्फत बीमा गराएका ग्राहकहरु दाबी लिएर ६० किलोमिटर दूरीमा पर्ने चरिकोट पुग्नुपर्ने भएको छ ।
अब मन्थलीमा एनएलजी, सिद्धार्थ प्रिमीयर, सलिको, प्रभू र शिखरको मात्रै शाखा बाँकी रहने भएका छन् । यी कम्पनीले पनि शन्तोषजनक व्यवसाय गर्न नसकिरहेको बताइन्छ ।
‘बीमाका शाखा उठ्दा राम्रो सन्देश गएन’
मन्थलीमा होटल व्यवसाय गर्दै आएका दिनेश कर्माचार्य निर्जीवन र जीवन बीमा कम्पनीहरुले दायरा बढाउँदै जानुपर्नेमा भएका शाखासमेत छिमेकी जिल्लाका शाखामा मर्जर गराउँदा राम्रो सन्देश नजाने बताउँछन् । उनको घरमा बसेको आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्सले मासिक ९ हजार भाडा तिर्दै आएको थियो । तर, अब कम्पनीले मंसिरबाट शाखा नराख्ने भन्दै उनलाई चिठी दिइसकेको छ ।
‘बीमाको दायरा बढ्दैछ भन्ने भएपछि मान्छेले व्यवसाय, घर, सम्पत्तिको बीमा गर्ने क्रम बढिरहेको थियो’ कर्माचार्य भन्छन्, ‘तर, गाउँगाउँमा पुग्नुपर्ने बीमा कम्पनीका शाखाहरु जिल्ला सरदमुकामबाट समेत हट्ने भएपछि यसले राम्रो सन्देश दिएन ।’
मन्थलीका व्यवसायीहरुका अनुसार बीमासहित वित्तीय संस्थाका शाखाहरुलाई थमौति गर्न उद्योग वाणिज्य संघसहित सरोकारवालाहरुले पहल गरिरहे पनि त्यसको नजिता आउन सकेको छैन । कम्पनीहरुले आफ्नो व्यवसायिक रणनीति भनेर शाखा बन्द गराउँदा जिल्लाकै शाख गिर्ने चिन्ता बढेको त्यहाँका व्यवसायीहरु बताउँछन् ।
के भन्छन् कम्पनी ?
यता, बीमा कम्पनीका अधिकारीहरुले भने मर्जर तथा प्राप्ती पश्चात शाखा संख्याको व्यवस्थापन गर्नुपर्दा कतिपय जिल्लाका शाखा तथा उपशाखा बन्द गर्नुपरेको बताएका छन् । यसका लागि बीमा कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति नै लिने गरेको उनीहरुको प्रष्टिकरण छ ।
‘मर्ज भएपछि त्यसको म्यानेज गर्नुपर्ने हुन्छ, अहिले त्यहीँ गरेका हौँ’ एक बीमा कम्पनीका उच्च अधिकारीले बिजनेशपानासँग भने, ‘रेगुलेटरीबाट एप्रुभ लिएरै शाखा बन्द गरिन्छन्, कम्पनीको व्यवसायिक रणनीति अनुसार यो स्वभाविक मान्नुपर्छ ।’
त्यसो त, बीमा प्राधिकरणले बीमा कम्पनीलाई शाखा सञ्चालन गर्न तोकेको मापदण्ड पूरा हुन नसक्दा पनि कतिपय बीमा कम्पनीहरुले शाखा मर्ज गराएको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । एउटा शाखामा न्यूनतम् ३ जना कर्मचारी (एक जना इन्चार्जसहित) हुनैपर्ने प्राधिकरणको ‘गाइडलाइन’ले पनि शाखा बन्द गराउनु परेको बुझाई कतिपयको छ ।
‘बीमाको व्यवसायका आधारमा कुन शाखामा के कति कर्मचारी राख्ने भन्ने विषय सम्बन्धित कम्पनीलाई नै छोडिदिनुपर्नेमा बीमा प्राधिकरणले संख्या तोकेको छ, यसले पनि बीमा कम्पनीहरुलाई अहिलेकै अवस्थामा सस्टेन हुन गाह्रो भयो’ एक कम्पनीका सञ्चालक भन्छन्, ‘गाइडलाइन व्यवहारिक हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।’
के भन्छ प्राधिकरण ?
बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने कम्पनीहरुले शाखा मर्ज गराउनु कम्पनीकै व्यवसायिक रणनीति भएको बताएको छ । प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशिलदेव सुवेदीले एउटा शाखामा न्यूनतम् ३ जना कर्मचारी हुनुपर्छ भन्ने प्राधिकरणको निर्देशिकाकै कारण कम्पनीहरुले शाखा आपसमा गाभ्नुप¥यो भन्ने तर्क सही नभएको दाबी गरे ।
‘एउटा शाखामा एकजना प्रमुखसहित ३ जना कर्मचारी हुनुपर्छ भन्ने गाइडलाइन छ, तर यसकै कारण शाखा मर्ज हुन थाले भन्ने चाहिँ होइन’ उनले भने, ‘शाखा घटाउने र बढाउने कुरा सम्बन्धित कम्पनीकै योजनामा हुने कुरा हो । तर, तोकिएको मापदण्ड पूरा नभएका शाखाको हकमा भने हामीले मापदण्ड पूरा गर्न लगाउने गरेका छौँ ।’
प्रवक्ता सुवेदीका अनुसार नेपालका ३५ जिल्ला भने व्यवसायका दृष्टिकोणले बीमा कम्पनीले शाखा खोल्नैपर्ने खालका जिल्ला छन् । बाँकीमा भने व्यवसाय विस्तार गर्दै जाने रणनीति अनुसार कम्पनीले शाखा विस्तार गर्दै आएका छन् ।
‘कतिपय अवस्थामा मर्ज भएर पनि शाखा गाभ्नुपरेको हुन सक्छ’ उनले थपे, ‘व्यापारकै विषय भएकाले कम्पनीहरुको आफ्नै व्यापारिक रणनीति पनि हुने भएकाले त्यस अनुसार पनि शाखा मर्ज गराएका हुन सक्छन् । यो नितान्त कम्पनीकै व्यवसायिक रणनीति र योजनासँग सम्बन्धि कुरा हो ।’













