भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको राष्ट्रिय बहाई समुदायले ३० लाख रुपैयाँ बराबरको सहयोग परिचालन गरेको छ । १५ लाख रुपैयाँ नगद र थप १५ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको हो ।
बहाई राष्ट्रिय आध्यात्मिक सभा, नेपालका अध्यक्ष सोमनाथ रानाका अनुसार सहयोग रकममध्ये १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ । राष्ट्रिय आध्यात्मिक सभाका पदाधिकारी तथा एसिया महाद्वीपका सल्लाहकार याम प्रसाद आचार्यको उपस्थितिमा उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
थप १५ लाख रुपैयाँ बराबरको राहत सामग्री तथा सहयोग बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन गरिने राष्ट्रिय बहाई समुदायले जनाएको छ । समुदायका अनुसार स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको अवस्था र परिवारहरूको आवश्यकताका आधारमा उक्त सहयोग उपलब्ध गराइनेछ ।











