नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएकोे शेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै संघले धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘शेयर बिक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ ।’
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले ‘संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’ भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताए । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र संचालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको उनले बताए ।
संचालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लको भनाई छ।













