नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १३.२७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २ सय २० कित्ताको लागि आवेदन दिएका हुन् ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले मात्र पाउने छन् ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।
कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।













