नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीले पद बहाली गरेका छन् । भदौ २० गते बोर्डको सीईओमा नियुक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नुपर्ने र आफूले त्यसै अनुरुप बोर्डको कार्यकारी नेतृत्व गर्ने उनको भनाइ छ ।
‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो, अर्कोतर्फ पर्यटन बोर्ड पीपीपीको मोडलको संस्था हो’ उनले भने, ‘यस आधारमा पनि निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको हुन्छ, त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो ।’
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले सामूहिक कार्यबाट ती सबै काम गर्न सकिने बताए । सीईओ जोशीले आफूले कुनैपनि पूर्वाग्राह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।
सो अवसरमा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइन् ।
कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका माग सम्बोधन हुने अपेक्षा गरिएको बताएका छन् ।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम दीपकराज जोशीलाई ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।
नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सीईओका रुपमा काम गरिसकेका छन् ।













