Friday, May 8, 2026
spot_img

२८ वर्षे निशानः जो ४ वर्षदेखि आईएमई मोटर्सलाई ‘ड्राइभ’ गरिरहेका छन्

spot_img
spot_img

नेपालका व्यावसायिक घरानाहरुको नेतृत्वमा युवाको प्रवेश बढिरहेको छ । ठूलाठूला घरानाहरुले क्रमशः दोस्रो पुस्ता वा नयाँ पुस्ताबाट नेतृत्व पाउन थालिसकेका छन् । यसमा एक हो आईएमई समूह ।

नेपालमा मात्रै होइन, विदेशमा समेत कहलिएको नेपाली कर्पोरेट ग्रुप हो आईएमई समूह । कलिलैमा पीता गुमाएपछि परिवारको सबै लालनपालनको जिम्मेवारी काँधमा बोकेर रित्तो हात राजधानी छिरेका चन्द्र ढकालले देश तथा विदेशमा अनेकौँ हण्डर र ठक्कर खाँदै आईएमईको जग हालेका थिए । उनकै नेतृत्वमा आज आईएमई समूह मुलुककै ठूलो कर्पोरेट ग्रुपमात्रै बनेको छैन, हजारौँलाई रोजगारी दिने रोजगारदाता पनि बनेको छ ।

यही आईएमई समूहभित्रका विभिन्न उद्यम तथा व्यवसाय हेर्ने जिम्मेवारी अलगअलग मान्छेले निर्वाह गरिरहेका छन् । यसमध्ये अटोमोबाइल क्षेत्र हेर्ने काम गरिरहेका छन् निशान ढकालले । उनी चन्द्र ढकालका जेठा छोरा हुन् । निशानले हाल नेपालमा अशोक लेइल्याण्डका कमर्सियल गाडीहरुको बिक्रेता आईएमई मोटर्सको नेतृत्व सम्हालिरहेका छन् । हाल आईएमई मोटर्सले बस, टिफर, ट्रक, पिकअप भ्यान लगायतका कमर्सियल सवारी साधन बिक्री गरिरहेको छ ।

विदेशमा अध्ययन, स्वदेशमा योगदान

उमेरले भर्खरै २८ वर्षमा प्रवेश गरेका निशान ढकालले उच्च तहको अध्ययन विदेशमा गरे । १० कक्षाको पढाई पूरा गरेपछि उनी भारत गए । भारतबाट उच्च माध्यमिक तह उत्तीर्ण गरेपछि उनले बेलायतबाट स्नातक तहको अध्ययन पूरा गरे । त्यसपछि उनी स्नातकोत्तर तहको अध्ययन गर्न अमेरिका गए ।

सन् २०१९ को अन्त्यतिर अध्ययन सकेर स्वदेश फर्किएका निशान त्यसयता आईएमई समूहको आईएमई मोटर्समा आबद्ध भए । उनलाई सम्झना छ, आईएमई समूहका सबै व्यवसाय सफलतापूर्वक दौडिरहेका बेला आईएमई मोटर्सले भने एक खालको संघर्ष गरिरहेको थियो । त्यस्तो बेलामा उनले आफ्ना बुबासँगको सल्लाहमा आईएमई मोटर्समा काम सुरु गरेका थिए ।

‘कुनैपनि ग्रुपको सबै बिजनेश आफूले वा आफ्नो परिवारको सदस्यले मात्रै हेर्न सक्दैन, यस्तो सोच राख्नु पनि हुँदैन’ अनुभवी बिजनेशम्यानको शैलीमा निशान भन्छन्, ‘तर, जुन बिजनेशले सस्टेन हुन पनि स्ट्रगल गरिरहेको हुन्छ, त्योचाहिँ सकेसम्म आफैले हेर्नुपर्छ भन्ने मान्यता बिजनेशमा हुन्छ । त्यही क्रममा म आईएमई मोटर्समा प्रवेश गरेको हुँ ।’

२४ वर्षकै उमेरमा ग्रुपको व्यवसाय बढाउने जिम्मेवारीसहित निशानले आईएमई मोटर्समा प्रवेश गरेका थिए । आज निशानले आईएमई मोटर्सको नेतृत्व सम्हालेको ४ वर्ष पूरा भएको छ । हिजो एक खालको संघर्षमा रहेको आईएमई मोटर्सले यो ४ वर्षको अवधिमा उल्लेख्य सफलतामात्रै हात पारेन, बजार हिस्सासमेत बढाएर ३० प्रतिशतमाथि पुर्‍याइसकेको छ ।

‘कम्पनीले स्ट्रगल गरिरहेका बेला प्रवेश गरियो, त्यतिबेला आईएमई मोटर्समा मेरो प्रवेश केवल प्रवेशमात्रै थिएन, संकल्प थियो’ निशान दृढ सुनिन्छन्, ‘आज ४ वर्षको अवधिमा राम्रै नतिजा आइरहेको छ, यसबाट म खुशी छु ।’

उनले विदेशमा बसेर एक दशक लामो अवधिसम्म अध्ययन गरे । अध्ययनको विषय पनि उद्यम व्यवसाय नै रह्यो । त्यहाँको अध्ययन र सिकाई उनले आईएमई मोटर्समा लगाए । फलस्वरुप, आज आईएमई मोटर्स दिन प्रतिदिन सफलताका सिँढी उक्लिरहेको छ । यो काममा उनी दत्तचित्त भएर लागिरहेका छन् ।

३ सय कर्मचारीको नेतृत्व

पछिल्लो समय सबैतिर युवा नेतृत्वको लहर चलिरहेको छ । कतिपयले परिपक्व निर्णय गर्न सक्दैनन् भनेर युवालाई झट्ट विश्वास गर्नुहुँदैन पनि भन्छन् । तर, निशान भने युवाहरुलाई विश्वास गरेर नेतृत्व दिने हो भने त्यसबाट सकारात्मक नतिजा प्राप्त हुने विश्वास राख्छन् ।

‘युवा उमेर केवल पाखुरा बलिया भएको जोशिलो उमेरमात्रै हुँदैन, यो बेला भनेको चुनौतीलाई सामना गर्ने, नयाँनयाँ आईडिया लगाउने, नयाँनयाँ प्रविधिको उपयोग गर्ने उमेर पनि हो’ निशान भन्छन्, ‘युवालाई उद्यम व्यवसायमा लगाउने हो भने उसले नयाँ प्रयोग गर्छ, एक हिसाबले भन्ने हो भने च्यालेन्ज फेस गर्न मन पराउँछ । सफलता यसैबाट खारिएर प्राप्त हुने हो ।’

उनी भन्छन्, पूरानो पुस्तासँग अनुभव हुन्छ भने नयाँ पुस्तासँग सोच र कामको नयाँ ढाँचा हुन्छ । यसलाई मिलाएर लैजान सकेकै कारण आईएमई मोटर्सले केही वर्षमै राम्रो सफलता प्राप्त गरेको हो भन्दा अत्युक्ति हुँदैन ।

कुनैबेला आईएमई मोटर्समा ४५० को संख्यामा कर्मचारी कार्यरत थिए । अहिले पनि ३ सय कर्मचारी कार्यरत छन् । लामो समयसम्म काम गरेका, उमेरले पनि पाका भइसकेका मान्छेसमेत यहाँ कार्यरत छन् । तर, सबैलाई साथमा लिएर, निर्णय प्रक्रियामा अनुभवीदेखि सिकारुसम्मलाई समेटेर काम गर्ने निशानको बानी छ । उनको काम गराईबाट कर्मचारीहरु पनि प्रफुल्लित र प्रभावित छन् ।

युवालाई सन्देशः सफलता तत्काल मिल्दैन, आत्तिनु हुँदैन

निशान ढकाल अहिले युवाहरुमाझ केवल नाममात्रै होइन, धेरैको सपना पनि हो । नेपालमै काम गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि सफलतामा हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्ने उनी स्वयम् भने सफलताको एकमात्र सुत्र ‘मेहनत’ हो भन्छन् ।

‘सफलता भन्ने चिज आजको भोलि नै हात पर्दैन, तर मेहनत गर्न छोड्नु हुँदैन’ उनी युवाहरुलाई सम्बोधन गर्दै भन्छन्, ‘अहिले युवाहरु आत्तिन्छन्, काम गर्दैनन् भन्ने कुरा आउँछ, तर म यो मान्दिनँ । युवाहरु आफै आत्तिएका होइनन्, हाम्रो अवस्था र प्रणालीले अत्याएको हो ।’

तरपनि, यहीँ बसेर मेहनत गर्न छोड्न नहुने उनको सुझाव छ । ‘अहिले बिजनेशमा युथहरुको छुट्टै कम्युनिटी नै बनिसकेको छ’ निशान भन्छन्, ‘उनीहरुले आजको भोलि नै यो सफलता पाएका होइनन्, उनीहरुमध्ये निकै थोरैले मात्रै आफ्नो बुबा, हजुरबुबाले सुरु गरेको बिजनेश हेरेका छन्, आफैले सुरु गरेकाहरुको संख्या पनि धेरै छ ।’

यसो भन्दै गर्दा, युवा उमेरमा छिटो पैसा कमाउन पाए हुन्थ्यो भन्ने सोच सबैको हुने भएपनि त्यसलाई छोडेर मेहनतमा बढी केन्द्रित हुँदा दीर्घकालमा त्यसबाट प्राप्त हुने सफलता दीगो हुने निशानको भनाई छ ।

भविष्यको योजना

आईएमई समूह मुलुककै माटोमा उम्रिएको, यहीँबाट उठेको र यहीँ फुलेको फलेको समूह हो । निशान यो समूहका एउटा पिल्लर हुन् । अहिले दिन प्रतिदिन उन्नत बनिरहेको आईएमई मोटर्ससहित आईएमई समूह भविष्यमा कस्तो हुन्छ भन्ने कुराको निर्धारण उनले कुन बाटो समात्छन् भन्ने विषयले पनि तय गर्छ ।

उत्पादन विविधिकरण गर्दै निकासी प्रवद्र्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उनको विश्वास छ । ‘हामीले नेपाली उत्पादन नेपाली बजारमा मात्रै बेचेर हुँदैन, विश्व बजारमा पुर्‍याउन सक्नुपर्छ’ निशान भन्छन्, ‘हस्तकलाका सामान र गार्मेन्टका सामानको विश्व बजारमा राम्रो माग छ । नेपालमा जलविद्युत् र पर्यटनको अपार सम्भावना छ । हामीले भविष्यमा विश्व बजारमा पु¥याउन सक्ने उत्पादनमा जोड दिनुपर्छ ।’

उनका अनुसार आईएमई समूह ‘मिनरल वाटर’ उद्योगमा प्रवेश गर्दैछ । यसको नेतृत्व उनैले लिँदैछन् । सँगसँगै, ‘कन्ट्रक्शन मटेरियल्स’को उत्पादन गर्ने उद्योग पनि चाँडै आउँदैछ । आगामी डिसेम्बरसम्ममा उत्पादन सुरु गरिसक्ने लक्ष्यका साथ निशान दौडिरहेका छन् ।

‘विदेशमा पनि नेपाली कन्ट्रक्शन मटेरियल्सको निर्यात गर्ने लक्ष्यका साथ हामीले काम अघि बढाएका छौँ’, उनले भने, ‘कम्पनीको बिजनेश बढाउँदै मुलुककै अर्थतन्त्रमा योगदान दिन निर्यातमूलक उद्योगमा फोकस हुनुपर्छ । हामी यसतर्फ पनि अग्रसर हुँदैछौँ ।’

कामकै दौरानमा निशानले ‘एफएमसीजी’ (फस्ट मुभिङ कन्जुमर गुड्स)को पनि सम्भावना राम्रो देखेका छन् । यसमा उनका साथी तथा दौँतरीहरु लागिरहेको देख्दा उनलाई खुशी लागेको छ ।

धेरै सम्भावनाका क्षेत्र पहिल्याउँदै लगानी बढाउँदै जाने सोचमा रहेपनि आफ्नो प्राथमिकताको क्षेत्र भने अटोमोबाइल नै रहेको र यही क्षेत्रमा बढी क्रियाशील हुने निशानको योजना छ ।

(बिजनेशपाना म्यागेजिनको ‘नयाँ पुस्ता’बाट साभार)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img