‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ मन्त्रिपरिषदबाट स्वीकृत भएपनि यसको कार्यविधि तयार भइनसकेकाले कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न बाँकी नै छ । पौष २१ गतेको मन्त्रिपरिषद बैठकले उक्त आदेश स्वीकृत गरेपनि कार्यविधि भने तयार भएको छैन । कार्यविधिबारे आयल निगमले आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।
कसरी बन्छ इथानोल ?
इथानोल बनाउन मोलासिस भन्ने कच्चा पदार्थ चाहिन्छ । यो भनेको अल्कोहलिक पदार्थ हो । उखु, सिमल तरुल, मकै, सखरखण्डसहित विभिन्न वनस्पतिजन्य उत्पादनबाट मोलासिस उत्पादन हुन्छ ।
चिनी उद्योगहरुबाट अहिले दैनिक ५० हजार लिटरसम्म इथानोल उत्पादन हुन्छ । नेपालमा चिनी मिलहरुबाट उत्पादित इथानोल दाना उद्योग र मदिरा उद्योगहरुले खरिद गरिरहेका छन् । ‘यो कमोडिटी उत्पादन भएकाले बजारको माग र आपुर्ति अनुसार मूल्य निर्धारण भएर खरिद बिक्री हुँदै आएको छ’ नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन् ।
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टका अनुसार उखु, सिमल तरुल लगायतका कृषि उपजबाट इथानोल उत्पादन गर्न सकिनेतर्फ अहिले छलफल भइरहेको छ । मकैबाट भने उत्पादन हुने भएपनि मकैलाई इनाथोल उत्पादनमा उपयोग गर्दा त्यसले निम्तिन सक्ने खाद्य संकटलाई मध्यनजर गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘मकैलाई इनाथोल उत्पादनमा प्रयोग गर्दा खाद्यान्नको उपलब्धतामै असर गर्छ कि भनेर अहिले मकैलाई चाहिँ प्रयोग नगर्ने कि भन्नेमा हामी छौँ’ उनले भने, ‘सिमल तरुलको पनि व्यवसायिक खेती हुन थालिसकेको छ । यसको खपत बढाउन सकिए व्यवसायिक उत्पादन पनि बढ्ने देखिएको छ ।’
व्यवसायी भन्छन्, ‘कार्यविधि चाँडो आउनुपर्यो’
चिनी उत्पादक संघका अध्यक्ष अग्रवाल कार्यविधि नबनेसम्म पेट्रोलमा इनाथोल मिश्रण हुने सम्भावना नरहने बताउँछन् । सरकारले (आयल निगमले) चिनी उद्योगसँग इथानोल खरिद गर्दा मूल्य कति दिन्छ, त्यसको एग्रिमेन्ट कसरी हुन्छ भन्ने विषयहरु कार्यविधिमा प्रष्ट रुपमा आउनुपर्ने उनको भनाइ छ ।
‘मूल्य कति हुने ? गुणस्तर के कस्तो हुनुपर्ने ? खरिद बिक्रीको एग्रिमेन्ट कस्तो हुने ? मूल्य निर्धारण गर्ने फर्मुला के हो ?’ अग्रवाल भन्छन्, ‘यी विषयहरु कार्यविधिमा आउनुपर्छ । अहिले कार्यविधि आइसकेको छैन ।’
उनका अनुसार २० वर्ष अघिदेखि चर्चामा रहेको योजना कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषदले निर्णय गरेपनि त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि समयमै आउँछ कि आउँदैन भन्ने प्रश्न अझै बाँकी छ । ‘२० वर्ष लगाएर निर्णय त भयो, तर कार्यविधि कहिले आउँछ भन्ने यकिन छैन’ अग्रवाल थप्छन्, ‘राज्यले कार्यविधि नबनाएसम्म यो विषय कसरी अघि बढ्छ भन्ने प्रष्ट हुँदैन ।’
त्यसो त, निगमका कार्यकारी निर्देशक डा. भट्ट पनि मूल्य, गुणस्तर लगायतका विषय कार्यविधिमा समावेश हुने बताउँछन् । उनका अनुसार अहिले चिनी उद्योगहरुबाट दाना र मदिरा उद्योगले औसतमा प्रतिलिटर ११० रुपैयाँमा इथानोल खरिद गरिरहेकाले यसकै आसपासमा मूल्य तोकिन सक्ने उनको संकेत छ । ‘अब सरकारले भ्याट लगाउला, अन्तःशुल्क र अरु करहरु पनि लगाउला । कुन कुन शीर्षकमा कति कति कर लगाउँछ, त्यो सरकारले निर्णय गर्ने कुरा हो’ डा. भट्ट भन्छन्, ‘त्यसपछि मूल्य यकिन हुन्छ ।’
थप लगानी पनि आवश्यक
अहिलेसम्म नेपालमा इथानोलको व्यावसायिक उत्पादन छैन । चिनी उद्योगले उखु पेल्दा निस्कने मोलासिस दाना र मदिरा उद्योगले आवश्यकता अनुरुप लैजाने गर्दछन् । तर, व्यवसायिक रुपमा इनाथोल उत्पादन गर्न अहिलेका चिनी उद्योगहरुमा थप लगानी आवश्यक पर्ने अध्यक्ष शशिकान्त अग्रवालको भनाइ छ ।
उनका अनुसार चिनी उद्योगमा रहेका डिस्टिलरीमा ३० देखि ४० करोड रुपैयाँ थप लगानी गरेर इथानोल उत्पादन प्लान्ट राख्नुपर्छ । ‘अहिले भएका चिनी मिलमध्ये सबैले प्लान्ट राख्नुपर्छ भन्ने होइन, सबैले राख्न सक्ने कुरा भएन’ उनी भन्छन्, ‘४/५ वटा उद्योगले थप ३० देखि ४० करोड रुपैयाँ लगानी गरेर इथानोल प्लान्ट राख्न सक्छन् । तर, मुख्य कुरा राज्यको तर्फबाट प्रष्ट कार्यविधि आउनुपर्यो । कार्यविधि आएपछि लगानी गर्न हामीहरु तयार नै छौँ ।’
कार्यविधिको मस्यौदा बनाउन उद्योग वाणिज्य, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सहयोग गरिरहेको आयल निगमले भने अबको २ महिनामा कार्यविधि तयार पार्ने दाबी गरेको छ ।
यस अघि : पेट्रोलमा मिसाउन लागिएको ‘इथानोल’ कसरी बन्छ ? गाडीका इन्जिनमा असर गर्छ कि ? (भिडियो)
आवश्यक तयारी पूरा नगरी पेट्रोलमा इथानोल मिश्रण नगर्न सरोकारवालाहरुको सुझाव
इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउँछः कार्यकारी निर्देशक भट्ट












