आजभन्दा एक दशक अगाडि फर्केर हेर्ने हो भने १८/२० वर्षको युवाले कुनै उद्यम वा व्यवसाय गर्छु भन्दा समाजले हत्तपत्त विश्वास गर्दैनथ्यो । त्यसमाथि, नेपाली समाजको चरित्र नै उद्यम व्यवसायप्रति सकारात्मक वा उदार छैन । बरु, लेखपढ गरेर जागिर खानुपर्छ भन्ने भाष्य आजपर्यन्त पनि स्थापित नै छ ।
अहिले अवस्था क्रमशः फेरिँदैछ । ‘बिजनेश ग्रुप’हरुतिर हेर्दा पनि दोस्रो वा तेस्रो पुस्ता निर्णायक भूमिकामा देखिन थालिसकेको छ । त्यसमाथि, अहिले व्याप्त नैराश्यताको भूमरीका बीचमा पनि उद्यम व्यवसायमा छाइरहेको नयाँ पुस्ताले नेपालमै अपार सम्भावना देखिरहेको छ । यी उदाहरणले युवा पुस्ताको पलायनले दुखिरहेको देशका लागि केही हदसम्म भएपनि आशाको सञ्चार गरेको छ । यीमध्ये एक उदाहरणीय युवा हुन् एसजी ग्रुपका निर्देशक सुदीप घिमिरे । आजभन्दा ३४ वर्षअघि जन्मिएका उनी अहिले नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ)को अध्यक्षको जिम्मेवारीमा छन् ।
‘पाइलट बन्ने सोच थियो, तर…’
हेटौँडामा शिवप्रसाद घिमिरे दम्पत्तिका जेठो सुपुत्रका रुपमा जन्मिएका सुदीपको हुर्काई पूर्वी नेपालको ईटहरीमा भयो । ललितपूर पुख्र्यौली थलो भएपनि हेटौँडा हुँदै इटहरीसम्म उनको परिवार कसरी पुग्यो ? यो बुझ्नका लागि शिव घिमिरेको व्यावसायिक यात्रा पनि अलिकति बुझ्नुपर्ने हुन्छ ।
शिव घिमिरे आफू पढ्ने स्कुलको छेउमा सामान्य घुम्ती पसल चलाउँथे । जम्मा १३ वर्षको उमेरमा हुँदा उनले पढाई खर्चको जोहो गर्न बिहान, स्कुलको ‘ब्रेक टाइम’मा र बेलुकाको समयमा पसल चलाउँथे । शनिबार दिनभरी नै उनी त्यहीँ व्यस्त हुन्थे । विशुद्ध किसानी कर्ममा रहेको उनको परिवारमा व्यावसायिक यात्राको सुरुवात गर्ने पहिलो व्यक्ति शिव नै थिए ।
स्कुलको शिक्षा सकेपछि समयक्रममा उनी किराना पसल चलाउन गाउँबाट बजारतिर झरे । यसै सिलसिलामा ट्रक किने । ट्रक किनेपछि ट्रान्सपोर्टेशनको काम पनि आरम्भ भयो । त्यसपछि उनी पेट्रोलियम पदार्थको व्यवसायमा प्रवेश गरे । पेट्रोलियम पदार्थको व्यवसायमा जम्दै जाँदा पूर्वतिर अझै बढी सम्भावना छ भन्ने सुने । त्यसपछि परिवार लिएर शिव घिमिरे हेटौँडाबाट ३३० किलोमिटर टाढा पर्ने इटहरीमा बसाईँ सरे ।
‘बसाईँ नै सरेर हेटौँडाबाट हामी इटहरी गयौँ, इटहरीमा कोही आफन्त भएर होइन’ सुदीप स्मरण गर्छन्, ‘बुबा केवल व्यावसायिक सम्भावनाको खोजीमा हिड्नुभएको थियो ।’
त्यसपछि इटहरीमै सुदीपको पढाई अघि बढ्यो । त्यहाँ एसओएस बालग्राम भन्ने संस्थाले स्कुल चलाएको थियो । उक्त स्कुलमा संस्थाले बालग्राममा राखेका अनाथ बालबालिकासहित समाजका सबै बालबालिकाका लागि पढाई हुन्थ्यो । सुदीपले त्यहीँबाट विद्यालय शिक्षा पूरा गरे । स्कुले जीवनमा भविष्यप्रतिको लक्ष्य रेखाङ्कन गर्दा वा घोत्लिँदा सुदीप घिमिरे पाइलट बन्ने सोच पाल्थे । प्लेन वा हेलिकप्टर उडेको देख्दा उनलाई भविष्यमा पाइलट बन्नुपर्छ सोच पलाउँथ्यो । ‘प्लेन उडेको देख्दा रमाइलो लाग्थ्यो, भविष्यमा म पनि पाइलट बन्छु भन्ने सोच पलाउँथ्यो’ उनी भन्छन् ।
तर, उनी एसएलसी सकेपछि सन् २००५ को आसपासमा बिजनेसमा जोडिए । केही समयको अनुभव बटुलेपछि सुदीप आईएससी पढ्न काठमाडौँ आए । सेन्ट जेभियर्स कलेजबाट फिजिक्स विषय लिएर उनले आईएस्सीसम्मको अध्ययन पू्रा गरे । उनका बुबा पनि ठीक त्यही समयमा आफ्नो व्यवसाय बिस्तारको क्रममा नै थिए ।

आइएस्सी सकेपछि सुदीप बीबीए पढ्न थाले । पढाई सँगसँगै उनी आफ्ना बुबाको व्यावसायिक सारथी पनि बन्दै गए । त्यही बेलामा उनले धरानमा रहेको कत्था उद्योगको जिम्मेवारी पनि सम्हाले । ‘कत्था उद्योगमा बुबाका एकजना साझेदार हुनुहुन्थ्यो, म उहाँको नेतृत्वमा सेकेन्डम्यान जस्तै भएर काम गर्न थालेँ’ सुदीप भन्छन्, ‘यो सन् २००८ तिरको कुरा हो ।’ बीबीए अध्ययन सक्दासम्म त उनी पक्कापक्की ‘बिजनेस म्यान’को रुपमा पदार्पण भइसकेका थिए ।
‘आईएस्सी पूरा गरेका धेरै साथीहरु ईन्जिनियर छन्’ उनी भन्छन्, ‘पाइलट बनेर प्लेन उडाउने सोच थियो, प्लेन चढ्नेचाहिँ भइयो, उडाउने हुनै बाँकी छ (हाँस्दै) ।’
एसजी ग्रुपको निर्देशक हुँदै ‘एनवाईईएफ’को अध्यक्षसम्म
सुदीप बिजेनसमा प्रवेश गर्दा भर्खरका उम्दा युवा थिए । बुबाको नेतृत्वमा चलिरहेका उद्यम र व्यवसायले ‘कर्पोरेट ग्रुप’को यात्रा तय गर्दैगर्दा समयक्रममा नेपाली उद्यम तथा व्यावसायिक जगतमा ‘एसजी ग्रुप’को उदय भयो । उनी व्यवसायमा जोडिँदा १८/२० वर्षको युवाले उद्यम व्यवसाय चलाउँछन् भन्ने विश्वास पनि कमै थियो ।
‘कतिपय अवस्थामा फोनमा कुरा गर्दा दाई भनेर सम्बोधन गर्नेहरु प्रत्यक्ष भेट हुँदा अचम्मित पनि हुन्थे’ मन्द मुस्कानसहित सुदीप भन्छन्, ‘तर, मलाई माइक्रो लेबलमा ठूला ईस्यूहरु ह्याण्डिल गर्नुपरेन, बुबाले नै सबै गर्नुहुन्थ्यो ।’
अहिले उनी एसजी ग्रुपका निर्देशक छन् । यस ग्रुपका दर्जन हाराहारी संख्यामा रहेका उद्योग तथा व्यवसायमध्ये कत्था उद्योग, एलपीजी ग्यास, बैंकिङ र फाइनान्ससहित सिलिण्डर म्यानुफ््याक्चरिङको काम सुदीपले प्रत्यक्ष रुपमा हेर्दै आएका छन् । भाईले हाईड्रोपावर, चिया, पेट्रोल पम्प लगायतका क्षेत्र हेर्छन् । सुदीपकी श्रीमती ईन्जिनियर श्वेता दाहालले कन्ट्रक्शन विभाग सम्हाल्छिन् । बुबा समूहको नेतृत्व (अध्यक्ष) सहित विभिन्न संघ संस्थामार्फत सिङ्गो निजी क्षेत्रकै श्रीवृद्धिमा क्रियाशील छन् । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य छन् । आमाले सिङ्गो परिवारको व्यवस्थापनमा मिहीन ढङ्गले योगदान दिईरहेकी छिन् ।
यी बाहेक पेट्रोलियम पदार्थको ट्रान्सपोर्ट, एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स), नेचुरल ग्यास र दुईपाङ्ग्रे सवारीको बिक्री जस्ता व्यवसाय पनि समूहमार्फत भइरहेका छन् । एसजी ग्रुपले अहिले हजारौँलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।
सुदीपले व्यावसायिक यात्रा आरम्भ गरेको डेढ दशक नाघिसकेको छ । यसबीचमा उनी नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ)मा पनि आबद्ध भए । यस संस्थाको विभिन्न भूमिका निर्वाह गर्दै अहिले उनी अध्यक्षका रुपमा क्रियाशील छन् । हालैमात्र नेपाल एलपी ग्यास उद्योग संघको सचिवमा पनि चयन भएका छन् ।
वार्षिक योजना बनाउँछन्, कार्यान्वयन पनि गर्छन्
सुदीपका अनुसार उनको परिवारका सबै सदस्यको भूमिका प्रष्ट छ । सबैजना व्यस्त हुने भएकाले फुर्सदको समय निस्कँदा स–परिवार एकसाथ रमाउँछन् । सुदीप र श्वेता दम्पत्तिका दुई भाई छोरा छन् ।
‘व्यवसायमा फुर्सदको समय भन्ने त हुँदैन तर स्वरोजगार हुनुको फाईदा भनेको यति बजे कार्यालय पुग्नैपर्छ भन्ने बाध्यताचाहिँ हुँदैन’ उनी भन्छन्, ‘शनिबार पनि पूरै समय परिवारसँगै बिताउन सकिन्छ भन्ने हुँदैन । व्यस्तताकै बीचबाट पनि समय निकालेर परिवारसँग जमघट गर्ने, रमाउने गर्छौँ । फिजिकल फिटनेश, मेन्टल फिटनेश जस्ता कुराहरुमा पनि उत्तिकै ध्यान दिन्छौँ ।’
उनका अनुसार परिवारका हरेक सदस्यले हरेक दिन आफूले गर्ने कामको ‘डायरी मेन्टेन’ गर्छन् । यतिमात्रै होइन, हरेक वर्षका लागि समेत ‘यो वर्ष यति काम गर्ने, यो यो काम सुरु गर्ने, प्रोडक्शन यति बढाउने’ जस्ता योजना पनि बनाउँछन् ।
‘हरेक वर्षको प्लानिङ गरेर काम गर्छौँ, यो वर्ष यतिवटा देशमा पुग्ने, यतिवटा नयाँ ठाउँमा उत्पादन पु¥याउने, यति वटा प्रोडक्ट थप गर्नेजस्ता योजना पनि बनाएका हुन्छौँ’ उनले भने, ‘आफूले बनाएका अधिकतम योजनाहरु कार्यान्वयन पनि गर्छौँ । लागू गर्न नसकिएका योजनाबारे समीक्षा गर्छौँ ।’
ऊर्जामा केन्द्रित हुँदै हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्ने लक्ष्य
एसजी ग्रुप अहिले ऊर्जा क्षेत्रमा क्रियाशील छ । एसजी ग्रुपकै अगुवाईमा ३ वटा हाईड्रोपावर परियोजना सम्पन्न भईसकेका छन् भने भोजपूरमा ४१ मेगावाटको गुँरास हाईड्रो कन्ट्रक्शनको चरणमा छ ।
यसबाहेक हालै मात्रै एसजी ग्रुपले नेपाल मै पहिलोपटक लिक्वीफाइड नेचुरल ग्यास ल्याएर अहिले परीक्षण पनि सफल गरिसकेको छ । ‘हामीले नेचुरल ग्याँस ल्याएर कोइला तथा फर्नेस आयललाई रिप्लेस गर्ने लक्ष्य लिएका छौँ । यसबाट उद्योगबाट हुने प्रदूषण न्यनीकरण गर्न सकिन्छ’ सुदीप भन्छन् ।
नेचुरल ग्यास भनेको दैलेखमा भेटिएको भनिएको जस्तै ग्यास हो । दैलेखमा भेटिनुभन्दा अगाडि नै एसजी ग्रुपले नेपालमा यस्तो खालको ग्यास उत्पादनको तयारी अघि बढाएको थियो । अहिले भारतीय आयल कर्पोरेशनसँगको सहकार्यमा ग्रुपले यस्तो ग्यास नेपाल ल्याएको हो । यसका लागि सिमरामा प्लान्ट राखिएको छ ।
यसबाहेक हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गर्ने सोचमा एसजी ग्रुप छ । यसका लागि अहिले समूहले गरिरहेको छ ।

‘राज्यले उद्यम व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ’
सुदीपलाई पछिल्लो दशकमा सबैभन्दा धेरै सुनिएको स्टार्टअप, उद्यम, युवा स्वरोजगार जस्ता शब्दले धेरै नै उत्साहित बनाएको छ । राज्यकै तहबाट उद्यमशीलता विकासका लागि भईरहेका प्रयासप्रति उनी सकारात्मक नै सुनिन्छन् । तर, समयानुसार ‘इकोसिस्टम अपग्रेड’ हुन नसकेकोप्रति भने उनी खिन्न देखिन्छन् ।
‘कानून, नियम भनेको समय समयमा परिमार्जन भईरहनु पर्ने कुरा हुन् तर हामीले उद्यम व्यवसायको बिस्तारका लागि जुन गतिमा ईकोसिस्टम नै अपग्रेड गर्नुपर्ने हो, त्यो अनुसार चाहिँ हुनसकेको छैन’ सुदीप भन्छन्, ‘भुटानले ईकोसिस्टम बनाइरहेको छ । हाम्रै जस्तो ईकोनोमीबाट उसले आज धेरै प्रगति गरिसकेको छ । हामीले पनि स्केल अप गर्नुपर्छ ।’
यस्तै, राज्यले उद्यमी व्यवसायीलाई हेर्ने नजरका कारण पनि सम्भावना अनुरुपको उद्यमशीलता विकास हुन नसकिरहेको सुदीपको बुझाई छ । उद्यम व्यवसाय गर्नु, नाफा कमाउनु, थप लगानी गर्नु भनेको ‘अपराध’ गर्नु होईन भन्ने बुझाई नीति निर्माताहरुमा समेत हुन जरुरी रहेको उनको भनाई छ ।
सीपयुक्त शिक्षाको आवश्यकता
सुदीपका अनुसार हाम्रो शिक्षा पद्धतिले उद्यम वा व्यवसायलाई प्राथमिकतामा राखेको छैन । उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ भन्ने ‘स्कुलिङ’कै अभाव रहेको देख्छन् उनी । अर्को कुरा, ‘स्किल बेस्ड एजुकेशन’ नहुँदा पनि युवाहरु अलमलिएको भान उनलाई परिरहेको छ । यसकारण उनी सीपयुक्त शिक्षाका लागि अहिले हामीले पढिरहेको र पढारहेको कोर्स (पाठ्यक्रम)को संरचनामै सुधार गर्नुपर्ने देख्छन् ।
बजारमा कस्तो जनशक्तिको माग छ भन्ने कुरा हेरेर सरकारले त्यस अनुसारको शिक्षा प्रदान गर्नुपर्ने सुदीपको सुझाव छ । त्यसो हुँदा विद्यालय तहको शिक्षा पूरा गरेर निस्कँदा नै १४/१५ वर्षीया युवाको हातमा सीप हुने भएकाले कम्तीमा स्वरोजगारको ढोका खुल्ने उनको बुझाई छ ।
‘स्कुलमा पढ्यो तर, पढाई सक्दापनि हातमा सीप छैन भने उसले रोजगारीका लागि भाँैतारिनु बाहेकको विकल्प हुँदैन’ उनी भन्छन्, ‘स्कुल लेबलमै कम्तीमा स्वरोजगार हुनसक्ने खालको सीपयुक्त शिक्षा दिनुपर्छ । अहिले त स्कुलमा जति नै पढे पनि सीप सिक्न फेरि अर्को कोर्स खोज्दै हिड्नुपर्ने बाध्यता छ ।’
यदि नेपालमा सीपयुक्त शिक्षा दिन सकिएको अवस्थामा विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार हुने र फलस्वरुप नेपालमा दक्ष जनशक्ति पाइन्छ भनेर विदेशी लगानीसमेत आकर्षित गर्न सकिने सुदीपको विश्वास छ ।
युवालाई सन्देश
अहिले स्टार्टअप, उद्यम, व्यवसाय जस्ता कुराहरु विगतको तुलनामा धेरै सुनिन्छन् । तर, बिजनेश सुरु गर्न सजिलो भएपनि त्यसलाई निरन्तरता दिन वा बिस्तार गर्न भने गाह्रो छ । यद्यपि, भर्खरै कुनै विश्वविद्यालयको अध्ययन सकेर बसेका युवा पुस्ता हरेक क्षेत्रमा आफै जानकार छ । यति टेक्नोलोजी फ्रेण्डली छ कि, उसले धेरै कुरा बुझेको पनि छ । सूचना प्रविधिको पहुँचले विश्व बजारका गतिविधि हेर्न र बुझ्न पाइन्छ ।
‘अहिले एसईई सक्दा नै विद्यार्थीहरु सेयर बजारको कारोबार गर्ने भईसकेका हुन्छन्, हामी २० वर्षको हुँदा हामीले पाउने सूचना र स्रोतको पहुँचभन्दा आज त्यही उमेरको मान्छेले पाउने सूचना र स्रोतको पहुँचमा आकाश जमिनको फरक छ । साँच्चै भन्नुपर्दा, अहिले ईन्फरमेसनको ‘ओभर फ्लो’ नै छ’ सुदीप भन्छन्, ‘तर, मैले अनुभवका आधारमा दिने सन्देश भनेकोचाहिँ जे बिजनेश गरेपनि, जुनसुकै उद्यम गरेपनि त्यस क्षेत्रको ‘रिसर्च’ चाहिँ राम्रो गर्नुपर्छ । आफूले जे गर्न खोजेको हो, त्यसको नालीबेली कम्तीमा जानकारीमा राख्नुपर्छ ।’
अर्को महत्वपूर्ण कुरा भनेको, म फेलियर पनि हुनसक्छु है भनेर त्यस अनुसार पनि आफूलाई तयार राख्नुपर्छ भन्ने उनको मत छ । काम सुरु गरेपछि म सफल भइहाल्छु नि भन्ने सोच राखेर अघि बढ्दा कथम् कदाचित सफल भईएन भने त्यसपछि एड्जस्ट हुन गाह्रो हुने भएकाले काम सुरु गर्दा फेल हुनपनि सक्छु भनेर मानसिक रुपमा आफूलाई तयार पार्नुपर्ने उनको सुझाव छ ।
‘मैले किन यो भनिरहेको छु भने, फेल हुँदैमा ‘जर्नी स्टप’ हुनुहुँदैन । जर्नी स्टप नहुनका लागि असफलतालाई पनि स्वीकार गर्न सक्नुपर्छ’ सुदीप भन्छन्, ‘तपाईले कुनै काम सुरु गर्दा सफल भए ठिकै छ, त्यसलाई बढाउने, फैलाउने कुरा हुन्छ । सफल भईएन भने पनि सिकाई हुन्छ । सिकाईले नै अरु सम्भावनाका ढोका खुलाउँछ ।’













